प्रधानमन्त्रीको राजीनामामा अड्कियो नेकपा विवाद


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ ।




पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद मिलाउने प्रयास भइरहेको छ ।

बैठक स्थगित गरेर गरिएको अध्यक्षद्धयबीचको छलफल सुधारोन्मुख भएपनि विवाद मिल्न बाँकी रहेको बताइएको छ ।


ओली–प्रचण्डबीच सोमबार भएको छलफलमा केही विषयमा सहमति जुटेको बताइए पनि प्रधानमन्त्रीको राजीनामाका विषयमा कुरा मिल्न सकेन ।

ओली केही मुख्यमन्त्री हेरफेर गर्न र मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएको स्रोतले बताएको छ ।

‘दुवै अध्यक्षबीच भएको छलफलमा केही कुरा मिलेका छन् । जसमा मुख्यमन्त्री हेरफेर, मन्त्रिपरिषद हेरफेर र सरकार सञ्चालन गर्न संयन्त्र बनाउने विषयमा सहमति भएको छ,’ स्रोतले भन्यो ।

जबकि जेठमा बसेको सचिवालय र जारी स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेको छ । ओली भने दुवै पदबाट राजीनामा दिन भने सहमत भएका छैनन् ।

दुवै अध्यक्षबीच भएको छलफलमा अरु सबै कुरामा सहमत भए पनि राजीनामा दिने कुरामा सहमत हुन नसक्ने बताएको स्रोतले उल्लेख गरेको छ ।

नेकपामा पद र शक्ति बाँडफाँटमा कुरा नमिलेपछि पछिल्लो समयमा विवाद बढेको छ । अझ ११ असारबाट जारी स्थायी कमिटीको बैठकले समस्या र विवाद हल गर्नुको सट्टा झन् बढेको छ ।




सम्बन्धित
Loading...