प्रधानमन्त्री ओलीलाई प्रदर्शन रोक्न अध्यक्ष दाहालको आग्रह

120




काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मुलुकका विभिन्न ठाउँमा दिनहुँजस्तो प्रदर्शन हुन थालेको छ । यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले उक्त प्रदर्शन रोक्न अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ ।

दुई अध्यक्षबीच आज (बुधबार) भएको भेटवार्तामा अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा भइरहेको प्रदर्शन रोक्न आग्रह गनुभएको हो ।

जानकारी अनुसार यस अगाडि नै अध्यक्ष दाहालले आज विहानै महासचिव विष्णु पौडेललाई फोन गरेर प्रदर्शन रोक्न भन्नुभएको थियो । तर, प्रधानमन्त्री ओली सहमत नभएका कारण पौडेलले सर्कुलर जारी नगर्नुभएको हो ।

आजको भेटवार्तामा कुनै निष्कर्ष ननिस्केको कारण भोलि पनि दुई अध्यक्षबीच पुनः छलफल हुने जानकारी गराइएको छ । सत्तारुढ नेकपाभित्र जारी विवाद समाधानको लागि दुई अध्यक्षबीच छलफल भएको हो ।

उक्त विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि स्थगित गरिएको छ । स्थायी कमिटी सदस्यहरूले ओलीले पार्टी अध्यक्ष र सरकारको नेतृत्व दुवैबाट राजीनामा गर्न माग गरेका थिए ।

तर, ओलीले कुनै पनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान राख्दै आउनु भएको छ ।

You might also like
Loading...