पाल्पाका २ सय ५६ जना संक्रमितको पिसिआर परीक्षण नगरी घर फर्काइयो

82




तानसेन । कोरोना संक्रमितलाई आवश्यक चेक जाँच बिना घर फिर्ता पठाउन थालेपछि पाल्पाका गाउँघरमा त्रास बढेको छ। पाल्पामा आइसोलेसनमा बसेका संक्रमितको पुन पीसीआर परीक्षण नगरी अनुमानकै भरमा घर पठाउन थालेपछि समुदायमा त्रास बढेको हो।

पाल्पाका २ सय ५६ जना संक्रमितलाई शुक्रबार र शनिबार गरी पुनः परीक्षण गर्नुपर्ने भएपनि त्यसै घर पठाइएको छ। स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि भैरहवा पठाएको रिपोर्टसमेत नआएकोले एक महिना आइसोलेसनमा बसेका माथागढीका १५ जना घर फिर्ता भएका छन्।

सक्रमण भएर आइसोलेसनमा बसेका व्यक्ति पुर्ण रुपमा निको भए नभएको यकिन गर्न आवस्यक पर्ने पुनः परीक्षण नगराइ घरमा आएको भन्दै घरपरिवारदेखि गाउँ समुदायसमेत चिन्तित बनेको माथागढी गाउँपालिकाका एक संक्रमितले गुनासो पोखे ।

गाउँपालिकाले आफैँ भिटिएम किट खरिद गरी स्वाब संकलन गरेर आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि भैरहवा पठाउँदा एक महिनासम्म रिपोर्ट नआएको गाउँ पालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए ।

रिपोर्ट आउन ढिला भएपछि बाध्य भएर संक्रमित भनेर आइसोलेसनमा राखिएका व्यक्तिलाई निको भएको भन्दै घर पठाउनु परेको अध्यक्ष थापाले स्विकारे । हामीले पठाएको स्वाब चेकजाँच नहुने भन्दै भैरहवा प्रयोगशालामा रद्दिको टोकरीमा फालिदिएको अध्यक्ष थापाको गुनासो छ ।

यही अवस्था रहे संक्रमित भएका व्यक्तिलाई गाउँपालिकाले भारी रकम खर्चेर तानसेनको आइसोलेसनमा राख्न आवश्यक नहुने अध्यक्ष थापाको ठहर छ । आगामी दिनमा संक्रमितलाई क्वारेन्टाइनमै व्यवस्थापन गर्ने उनको योजना छ। आइसोलेसनमा राख्दा दैनिक एक व्यक्तिका लागि दुई हजार रुपैयाँसम्म खर्च आउने भन्दै १५ दिनसम्म अनावश्यक रुपमा आइसोलेसनमा राख्नुपरेको अध्यक्ष थापाको गुनासो छ ।

भैरहवा प्रयोगशालामा पुनः परीक्षणका लागि पठाएको स्वाब परीक्षण नभएको र नयाँ व्यक्तिको मात्र परीक्षण रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए। सरकारले लक्षण नदेखिएका व्यक्ति संक्रमित भएको १४ दिनपछि बिना चेकजाँच घर पठाउन दिएको निर्देशन अनुसार जिल्ला स्वास्थ्य कार्यालयले काम गर्दै आएको निमित्त प्रमुख न्यौपानेको दावी छ । पाल्पाबाट पुनः परीक्षणका लागि दुई सयभन्दा बढीको स्वाब भैरहवा प्रयोगशालामा पठाइएको छ।

पाल्पामा हालसम्म ५ सय ४९ जनामा सक्रमित रहेकोमा ३ सय ३ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। आइसोलेसनमा २ सय ४५ जना उपचाररत छन। पाल्पाको रामपुर नगरपालिकाबाट १ सय ६ जना, निस्दी गाउँपालिकाबाट ९५, माथागढी गाउँपालिकाबाट १५, पूर्वखोला गाउँपालिकाबाट ३४, रैनादेवी छहरा गाउँपालिका बाट २०, रम्भा गाउँपालिकाबाट २५, रिब्दीकोट गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाबाट १ जना र लुम्बिनी मेडिकल कलेजबाट ३ जना निको भइ घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

You might also like
Loading...