ठोरीमा भारतीयले उखेले सीमास्तम्भ !

167




प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि पर्साको ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीता गुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फ्याँकिदिएका छन् ।

शनिबार ठोरी गाउँपालिकाले भव्य कलशयात्रासहित सीता गुफामा पूजाअर्चना आयोजना गरेको थियो । पूजा कार्यक्रम सकिएलगत्तै गुफा क्षेत्रबाट स्थानीय फर्किएको केही समयमा नै भारतीय पक्षले ४३६ नम्बरको सीमास्तम्भ उखेलेर फ्याँकेको ठोरीका स्थानीयले बताएका हुन् ।

ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले सीता गुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेको समयमा भारतीय पक्षले विवाद खडा गर्न सीमा स्तम्भ नै उखेलिदिएको बताए ।

‘बिहानसम्म सीमा स्तम्भ थियो, पूजाआजा सकिएर फर्किएपछि एकाएक गायब भयो, उखेलेर त्यहीँ नजिकै फालिएको रहेछ, यो भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद सिर्जना गर्न गरेको प्रपञ्च हो,’ खनालले राजधानीसँग भने ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले पूजाआजा हुँदासम्म भएको सीमास्तम्भ एकाएक नहुनु आश्चर्य भएको बताए । ‘पूजा हुँदासम्म सीमा स्तम्भ त्यही थियो, दिउँसोतिर हेर्दा देखिएन, उखेलेर फ्याँकिएको रहेछ, वास्तविकता बुझ्दै छु,’ अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार केही दिनअघि मात्रै सो क्षेत्रको संरक्षणका लागि भन्दै गाउँपालिकाले १० लाख रकम बजेटमार्फत नै छुट्याएको थियो । ठोरी ३ का वडा अध्यक्ष सूर्य लामाले भारतीय पक्षले सीता गुफा क्षेत्रलाई आफ्नो क्षेत्रतर्फ पार्ने दाउमा सीमास्तम्भ उखेलेको बताए ।

‘एकपछि अर्को गर्दै सीमामा भारतीयको दादागिरी छ, उनीहरूले सीता गुफालाई आफ्नो क्षेत्रभित्र पार्ने दाउमा एकाएक स्तम्भ उखेले तर सारेर गाड्न भ्याएनन्,’ लामाले भने ।

नेपालतर्फ पर्ने सीता गुफाभन्दा करिब ८ मिटर दक्षिणतर्फ डाँडामा रहेको ४३६ नम्बरको सीमास्तम्भ उखेलिएको अवस्थामा फेला परेको ठोरीस्थित सशस्त्र प्रहरीको बिओपीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार उखेलिएको सीमास्तम्भलाई सशस्त्र प्रहरी र भारततर्फका एसएसबीको समूहले निगरानीमा राखेको छ । सो स्थानमा सशस्त्र प्रहरीका निरीक्षक दाहालको समूहसहित भारतीय एसएसबीको इन्सपेक्टरको कमान्डमा एसएसबीको टोली खटिएको छ । सशस्त्रका प्रहरी निरीक्षक दाहालका अनुसार घटनापछि सो स्थानमा कसैलाई पनि प्रवेश दिइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म ठोरीमा भएको भन्दै केही दिनअघि भनाइ सार्वजनिक गरेपछि सो क्षेत्रमा भक्तजनको भीडभाड बढ्दै गएको छ । राजधानी दैनिकबाट 

You might also like
Loading...