प्राकृतिक उपचार पद्दतिः कोरोना संक्रमितको लागि बरदान सावित

यसरी गरिन्छ उपचार

230




  • रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीको रहजरमा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितहरुका लागि गरिने प्राकृतिक उपचार पद्दति कोरोना संक्रमितहरुको लागि बरदान सावित भएको छ ।
अहिलेसम्म झण्डै ३ सयको उपचार गरिएको यस अस्पतालमा कोरोना संक्रमितहरुलाई योग, योग ध्यान, चिकित्सकीय मनोपरामर्श सेवा, प्राकृतिक पद्दतिको उपचार, साकाहारी खानपान, जडिबुटी लगायतका पद्दतिबाट उपचार गरिने गरिन्छ ।
प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाका अनुसार यस अस्पतालमा अहिलेसम्म नेपालका अन्य अस्पतालको तुलनामा एकै पटक धेरै निको समेत भएर डिस्चार्ज भएका छन् ।
यही अस्पतालबाट पूर्वी नवलपरासीमा बुधबार मात्र ६३ जना र विहीबार १ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका थिए। यहाँ उपचाररत रहेका २ सय ९९ जना मध्ये शनिबारसम्म २ सय १४ जना निको भएर फर्किसकेका छन् भने आइतबार ५० भन्दा बढी निको भएर फर्किदैछन् ।

उनीहरुको पि.सि.आर रिपोर्ट नेगेटिभ आए पछि डिस्चार्ज गरिएको हो ।
हाल सम्म सामुदायिक प्राकृतिक चिकित्सालयबाट कोरोना मुक्त भई २ सय १३ जना डिस्चार्ज भईसकेका छन् भने ७८ जना संक्रमित अस्पतालमा उपचारत रहेका छन् ।
अस्पताल प्रशासनले आफूहरुले संक्रमितहरुमा जटिल प्रकृतिको संक्रमण भएर उपचार गर्नु भन्दा पनि जटिल प्रकृतिको संक्रमण हुन नदिने पद्दतिले उपचार गरेको दावी गरेको छ ।

पूर्वी नवलपरासीको रहजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय प्राकृतिक पद्दतिबाट उपचार गरिने एउटा अस्पताल हो । जुन आफैमा फरक छ । यहाँ अहिले पूर्वी नवलपरासीका कोरोना संक्रमितहरुलाई आइसोलेशनमा राखेर उपचार गरिएका छ ।
अस्पतालका निर्देशक डा. विनोद पौडेलले आफूहरुले संक्रमितको उपचार गरेको भन्दा पनि संक्रमितहरुमा भाइरसको संक्रमण कसरी कम गर्न सकिन्छ त्यसमा आधारित रहेर संक्रमितहरुको आनीवानीमा परिवर्तन गरेका कारण संक्रमितहरु चाँडो निको भएको बताए ।
त्यसैगरी यहाँ उपचाररत रहेका संक्रमितहरुको पनि भनाई त्यस्तै छ । आफूहरु यहाँ आएपछि तनाव मुक्त भएको योगा, रहनसहन र यस क्षेत्रको वातावरणले आफूहरुलाई चाँडो निको हुन सहयोग गरेको बताउँछन् ।


अस्थायी कोरोना अस्पतालको रुपमा विकास गरिएको रहजरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि आएका कोरोना संक्रमितहरुमा कुनै पनि जटिल प्रकृतिका समस्या अहिलेसम्म देखिएको छैन ।
कोरोना भाइरसबाट मुक्त भएर निको हुनका लागि प्राकृतिक चिकित्सालय विधिबाट गरिएको उपचार पद्धति अहिले सबैको चासोको विषय बनेको छ ।

यसरी गरिन्छ उपचार

रजहरको प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितहरुलाई विहान उठेदेखि राति सुत्दासम्मको सबै विषय प्राकृतिक पद्दतिले ख्याल गर्ने गरिन्छ ।
त्यति मात्र नभएर ज्वरो आए वा पखाला लागे सिटामोल जस्ता औषधि खुवाउने गरे पनि अन्य उपचार भने प्राकृतिक पद्दतिबाट हुने गरेको व्यवस्थापक हरि सापकोटाले बताए ।
यहाँ संक्रमितहरु विहान उठे लगतै योग, योग ध्यान, चिकित्सकीय मनोपरामर्श सेवा गर्ने गरिन्छ । त्यसैगरी घाँटीमा जगेको वा घाँटीमा रहेको कोरोना भाइरसलाई कम गर्नका लागि गाईको दुधमा बेसार हालेर विहान बेलुका खाने दिने गरिएको छ।

अस्पतालका निर्देशक डा. डा. विनोद पौडेलका अनुसार संक्रमितहरुलाई हप्ताको सात दिन सात प्रकारका तरकारी, मौसम अनुसारका फलफूल, प्रतिरोधी क्षमता बढाउनका लागि अंकुरित गेडागुडी, भिजाएको किसमिस, छोहोडा, चना, मुगी, बदाम आदि खुवाइने गरिन्छ ।
त्यसैगरी संक्रमितहरुलाई औषधिको रुपमा जडिबुटी पनि दिने गरिन्छ । डा. पौडेलका अनुसार मह र कागति, अस्वगन्ध र गुर्जोको रस र धुलो, तातो पानीको बाफ लिने, नाकको सफा गर्न जलनिति गर्ने लगायतका पद्दतिबाट उपचार गरिएको छ ।
अस्पतालले संक्रमितहरुको मनोबल उच्च राख्नका लागि उनीहरुलाई हरेक दिन संगित र नृत्यबाट मनोरञ्जन समेत दिने गरेको छ ।

सबैभन्दा सस्तो उपचार

अस्पताल प्रशासनले यहाँ उपचाररत संक्रमितहरु अन्य अस्पतालबाट भन्दा छिटो निको भएर घर फर्किएका र अधिकांशको स्वाव पुन परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ आउने गरेको दावी छ। अस्पताल प्रशासनले नेपाल भित्र अहिलेसम्मकै सबैभन्दा राम्रो र सस्तोमा उपचार गरिरहेको दावी समेत गरेको छ ।
यहाँ करिब ३ सय जनाको उपचार हुँदा जम्मा ४० लाखको हाराहारीमा मात्र खर्च भएको व्यवस्थापक हरि सापकोटाले बताए ।
सम्भवता रजहरको प्राकृतिक चिकित्सालय कोरोना संक्रमितहरुको उपचार भईरहेका अस्पतालहरु मध्य सबैभन्दा बढी क्षमतको अस्पताल समेत हो । यहाँ आवश्यकता अनुसार १ हजार जनासम्मको उपचार गर्न सकिने भौतिक पूर्वाधार सहितको व्यवस्था रहेको छ।

You might also like
Loading...