हुप्सेकोटमा स्वास्थ्य सुरक्षामा चरम लापरवाही

232




नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्वास्थ्य सुरक्षामा चरम लापरवाही भएको पाइएको छ ।
भारतबाट आएका भारतीय शैनिकहरु स्थानीय वडा कार्यालय, स्वास्थ्य कार्यालय र गाउँपालिकालाई समेत जानकारी नगराई सोझै घर जाने गरेको पाइएको छ ।
त्यसैगरी क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनबाट भाग्ने गरेको समेत खुलेको छ ।
हुप्सेकोट ४ मा सोमबार २ जना भारतीय सुरक्षाकर्मी घर आएर बसेको भए पनि वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुख कसैलाई जानकारी नभएको बताए ।
हुप्सेकोट ४ का अध्यक्ष रोशन थापाले आफूलाई यस विषयमा बाहिरबाट जानकारी आएको तर आधिकारिक केही जानकारी नभएको बताए ।

थापाले भने – एक जना बल्लबल्ल पत्ता लगाएपछि गएर बुझें । होम क्वारेन्टाइनमै बसेपनि परिवारसँगै रहेछ । अर्को को हो अझै नाम खुल्न सकेका छैन ।
हुप्सेकोट गाउँपालिकामा लकडाउनका शुरुको समयमा अन्य गाउँपालिकाबाट आएकालाई समेत गाउँपालिका प्रवेशमा कडाई गरिएको थियो ।
हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य प्रमुख कृष्ण सापकोटाले पनि आफूले दुई जना भारतीय शैनिक आएर घरै बसेको सुन्नमा आएको तर पालिका र स्वास्थ्य शाखालाई कुनै आधिकारिक जानकारी नभएको बताए ।
सापकोटाले भने – बुझ्ने काम भईरहेको छ तर जानकारी आएको छैन ।
त्यसैगरी हुप्सेकोटको सरस्वती प्राविमा क्वारेन्टाइनमा रहेका ७ जना आइतबार पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै घर गएका छन् ।

उनीहरु मनोमानी तरिकाले घर गएपछि सुरक्षाकर्मीले घरघर पुगेर नियन्त्रणमा लिएका थिए ।
उनीहरुले अहिले पुन क्वारेन्टाइनमै रहेको स्वास्थ्य प्रमुख सापकोटाले बताए ।
भरतपुरमा पिसिआर रिपोर्टका लागि पठाएकोमा ९ दिन भईसक्दा सम्म पनि रिपोर्ट नआएको उनले बताए ।
सापकोटाका अनुसार भारतबाट आएका कतिपय शैनिकहरु स्थानीय सरकारको निर्देशनलाई अवज्ञा गरी सोझैं घर जाने गरेको अनेत्र पनि पाइने गरेको छ ।

हुप्सेकोटमा अब एक जना मात्र संक्रमित बाँकी

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा अहिलेसम्म ३४ जना संक्रमित भेटिएकोमा ३३ जना निको भएर फर्किएका छन् भने एक जना उपचाररत रहेका छन् ।
स्वास्थ्य प्रमुख सापकोटाका अनुसार ३४ जनामा ३३ जना पिसिआर रिपोर्ट नेगेटिभ आएर फर्किएका हुन् । बाँकी एक जनाको भने रजहरको प्राकृतिक चिकित्सालयमा उपचार भईरहेको छ ।
यसैबीच सोमबार आएका २ जना भारतीय शैनिक बाहेक हुप्सेकोटमा ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like
Loading...