बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ

61




आहारा र वासस्थानको उचित व्यवस्थापन एवम् चोरी सिकारी नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको दुई वटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्।

उनीहरूले नेपालमा वयस्क बाघ बाहेक उल्लेख्य रूपमा डमरुहरू पनि रहेको उल्लेख गर्दै अब गणना गर्दा उक्त बिरालो प्रजातिको सङ्ख्या थप बढ्न सक्ने बताए।

नेपालमा सन् २०१८ मा गरिएको एउटा गणनामा लगभग २३५ वटा बाघहरू रहेको पाइएको थियो।

सन् २००९ मा गरिएको गणनाले नेपालमा १२१ वटा बाघ रहेको आकलन गरेको थियो।

सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्‌याउने लक्ष्य राखिएको छ।

उल्लेख्य सफलता

पछिल्ला वर्षमा बाघको सङ्ख्या तेबरसम्म बढ्न सक्ने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्।

निकुञ्जका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा करिब ५० वटा बाघ रहेकोमा सन् २०१८ मा बढेर ८७ पुगेको थियो।

पछिल्लो तीन वर्षमा चोरी सिकारी शून्य रहेकाले बाघको सङ्ख्या उल्लेख्य रुपमा बढेको प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन्।

उनका अनुसार बाघको आहारा प्रजातिका जनावरमध्ये चित्तल, चौका र बँदेलजस्ता जनावारको सङ्ख्या वृद्धि भएको छ।

बराल भन्छन्, “चोरी सिकारी शून्य छ र आहारा प्रजातिका जनावर प्रशस्त छन्। वासस्थानको व्यवस्थापन पनि राम्रो भइरहेको छ।”

“त्यसकारण बाघको सङ्ख्या वृद्धि हुँदै गएको हो। निकुञ्ज आसपासमा वयस्क बाघसँगै डमरु पनि थुप्रै देखिन थालेका छन्।”

बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा चारवटा मात्र बाघ रहेकामा सन् २०१८ मा यो सङ्ख्या बढेर २१ पुगेको थियो।

सन् २०१८ मै लक्ष्य पूरा गरिसकेकाले अब गणना गर्दा तेबरभन्दा बढी सङ्ख्यामा वृद्धि हुने प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउँछन्।

सन् २०१८ मा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँच वटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिएको थियो।

भट्टराईका अनुसार नेपालमा सबैभन्दा बढी सङ्ख्यामा बाघ चितवनमा पाइने भएपनि सङ्ख्या वृद्धिको दर हेर्दा बाँके र बर्दिया अगाडि रहेको बताए।

उनी भन्छन्, “निकुञ्जको क्षेत्रफल र आहारविहारको राम्रो व्यवस्थापनले सङ्ख्या वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ।”

“पश्चिम नेपालका निकुञ्जहरूमा भालेभन्दा पोथी बाघको सङ्ख्या बढी नै छ। त्यसकारण पनि सङ्ख्या बढेको हो। ”

संरक्षणका लागि चालिएका कदम

यसअघि निकुञ्जमा बाघ लगायतका वन्यजन्तुका लागि खानेपानीको सबैभन्दा बढी समस्या थियो।

पानीका वन्यजन्तु कर्णाली, बबई तथा राप्ती नदी किनारमा जाने गर्थे।

बाँके राष्ट्रिय निकुञ्ज आसपास भएका सडक क्षेत्रमा बाघको डमरु र चितुवाले ज्यान समेत गुमाएका छन्।

अघिल्लो आर्थिक वर्षमा मात्रै बाँके राष्ट्रिय निकुञ्जका ५२ वटा जनावरको मृत्यु सडक दुर्घटनाका कारण भएको थियो।

पानीको खोजमा निस्कदा हुने जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जमा झण्डै १०० पोखरी र बर्दियामा १०० भन्दा बढी पोखरीहरू निर्माण गरिएको अधिकारीहरू बताउँछन्।

त्यसबाहेक बाघको आहारा प्रजातिका लागि दुवै निकुञ्जमा घाँसे मैदान निर्माण गरिएको अधिकार

संरक्षणका चुनौती

बाघको सङ्ख्या तीव्र गतिमा वृद्धि भइरहेकाले निकुञ्ज नजिकैका वनमा पनि वासस्थानको व्यवस्था मिलाउनुपर्ने देखिएको भट्टराईले बताए।

बरालले भन्छन्, “विकासका नाममा वनजङ्गल मास्ने काम भइरहेकाले आगामी दिनमा बाघको वासस्थान अभाव हुने देखिएको छ।”

चोरी सिकारीबारे कडा निगरानी गरिरहेको र फेला परेका वन्यजन्तु तस्करलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरिएको निकुञ्जका अधिकारीहरू बताउँछन्।

अघिल्लो आर्थिक वर्षमा वन्यजन्तु संरक्षण ऐनविपरित गतिविधि गरेको आरोपमा २० जनालाई पक्राउ गरी कारबाही थालेको भट्टराईले बताए।

एक वर्ष र सोभन्दा बढी सजाय हुने मुद्दा अदालतमा पठाउने गरिए पनि लकडाउनका कारण दर्ता भएको मुद्दा अदालतसम्म पठाउन नसकिएको अधिकारीहरू बताउँछन्।

वन्यजन्तुको अवैध कारोबारमा संलग्न हुनेलाई पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म जेल सजाय या दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

You might also like
Loading...