मुम्बईको ‘झुपड-बस्ती’का आधाभन्दा बढीलाई कोरोना संक्रमण !

65




मुम्बई सहरको झुपड-बस्तीमा बस्ने आधाभन्दा बढी मानिस कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भइसकेको हुनसक्ने एक अध्ययनले देखाएको छ । साथै बाहिरको तुलनामा त्यहाँ तीव्र गतिमा संक्रमण फैलिएको देखिन्छ ।

सरकारी थिंकट्यांक नीति आयोग र द टाटा फण्डामेन्टल रिसर्चले मुम्बईको तीन क्षेत्रको झुपड-बस्तीमा कोरोना भाइरसको संक्रमणबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सात हजारको मानिसलाई सहभागी गराइएको थियो ।

सहभागीमध्ये मुम्बईको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड-बस्तीका ५७ प्रतिशत मानिसमा एन्टीबडी पोजेटिभ पाइयो भने झुपड-बस्तीभन्दा बाहिरका १६ प्रतिशत मात्र एन्टीबडी पोजेटिभ आयो । यसकै आधारमा शोधकर्ताहरुले झुपड-बस्तीमा बस्ने आधाभन्दा बढी मानिस संक्रमित भइसकेको दाबी गरेका हुन् ।

तर वैज्ञानिकहरुले यो सर्वेक्षण समग्र सहरको लागि प्रतिनिधिमूलक भएको दाबी भने गर्न नसकिने बताएका छन् । किनकी यो सर्वेक्षण सहरको २४ मध्ये केवल तीनओटा वार्डमा गरिएको थियो । टीआईएफआरका डाक्टर सन्दीप जुनेजाले भने झुपड बस्तीहरुको अवस्था सर्वेक्षणमा देखिएभन्दा धेरै भिन्न नभएको बताए । साथै यो अध्ययनले भारतमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुम्बई सहरको धेरै विषय उजागर गरेको शोधकर्ताहरुको दाबी छ ।

पहिलो, मुम्बईको झुपड-बस्तीहरुमा अनुमान गरिएभन्दा निकै तीव्र गतिमा कोरोनाको संक्रमण फैलिएको छ ।

अध्ययनमा सहभागी गराइएको शहरीको पश्चिम, पूर्वी र मध्यभागका तीन क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ भने समग्र झुपडबस्तीमा करिव एक करोड २५ लाख मानिस बस्छन् । ‘हामीले परीक्षणको लागि छनोट गरेको क्षेत्रमा झुपड-बस्ती, एक्ला घरहरु र हाउजिङ कम्प्लेक्स पनि थिए र त्यहाँ कोरोना संक्रमणको अवस्था फरकफरक थियो,’ टाटा इन्स्टिच्युट अफ फाण्डामेन्टल रिसर्च (टीआईएफआर)का डाक्टर उल्लास एस कोल्ठुरले भने ।

दोस्रो, विश्वका ठूला सहरमा गरिएको सर्वेक्षणमा भन्दा यहाँ संक्रमणको दर बढी पाइएको छ ।

बेलायतको लण्डनमा प्रत्येक ६ जना मानिसमध्ये एक जनामा एन्टिबडी पोजेटिभ पाइएको थियो भने अमेरिकाको न्युयोर्कमा भने पाँच जनामध्ये एक जनामा । दुई सर्वेक्षण गत मे र जुलाई महिनामा गरिएको थियो । जुलाईमै दिल्लीमा गरिएको सर्वेक्षणमा चार जनामध्ये एकजनाको एन्टिबडी पोजेटिभ आएको थियो ।

तेस्रो, मुम्बईको झुपड-बस्तीमा कोरोना भाइरसको संक्रमणदर उच्च रहनुको कारण यहाँका शौचालयलगायतका सुविधाहरु धेरै मानिसले प्रयोग गर्ने गरी साझा हुनु हो । ‘यो नतिजाले अत्याधिक भिडभाडले कोरोना भाइरसको संक्रमण फैलाउनमा मुख्य भूमिका खेल्छ भन्ने देखाएको छ’, डाक्टर जुनेजा भन्छन् ।

चौथो, अध्ययनले ठूलो संख्यामा मानिसहरु संक्रमित भएको तर, लक्षण नदेखी निको पनि भएका छन् । यो क्षेत्रमा कोरोनाको मृत्युदर पनि निकै कम रहेको पाइएको छ । यो क्षेत्रमा एकदेखि दुई हजार संक्रमितमा एक जनाको मृत्यु भएको छ । यसले कोरोना भाइरसबाट सहरको मृत्युदर पनि घटाएको छ ।

पाँचौं, झुपड-बस्ती र अन्य बस्तीमा कोरोनाबाट संक्रमित हुनेमा पुरुषको तुलनामा महिला धेरै छन् । ‘यसको कारण हामीलाई थाहा छैन, तर यो निकै चाखलाग्दो विषय हो । सामाजिक व्यवहारदेखि मनोवैज्ञानिक असमानतासम्मका कुनै पनि कारणले यस्तो भएको हुनसक्छ’, डाक्टर कोल्ठुर बताउँछन् ।

उसो त कोरोना संक्रमण वृद्धिद्धरमा कमी आएसँगै मुम्बईमा ‘हर्ड इम्युनिटी’ विकास भएको हो ? भन्ने प्रश्न उठेको छ । मंगलबार मुम्बईमा ७१७ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या तीन महिनायताकै कम हो । हर्ड इम्युनिटी पर्याप्त मानिसमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई भनिन्छ ।

‘अहिले यसै हो भन्न सकिँदैन,’ कोल्ठुर भन्छन्, ‘मानिसमा कति समयसम्म एन्टिबडी बाँकी रहन्छ भन्ने हामीलाई थाहा छैन । फेरि-फेरि सर्वेक्षण गरेपछि मात्र यसको उत्तर पाउँछौँ ।’ उनका अनुसार आगामी अगष्टमा पुनः सर्वेक्षण गरिनेछ । यसमा कोरोना भाइरसको संक्रमण बढ्यो कि बढेन ? भन्ने अध्ययन गरिनेछ ।

वैज्ञानिकहरुले भने मानिसमा एन्टिबडी विकास हुनुले कोरोना भाइरसबाट पूर्णरुपमा सुरक्षित हुने सुनिश्चित नगर्ने बताउँदै आएका छन् । तर एन्टिबडीको मात्राले प्रतिरोधी क्षमता कति विकास भयो भन्ने बुझ्न सकिने उनीहरुको भनाइ छ । साथै कोरोनाविरुद्धको एन्टिबडी ९० दिनमा घट्दै आउने वैज्ञानिकहरुको भनाइ छ ।

थिंक ट्यांक पब्लिक हेल्थ फाउण्डेसन अफ इन्डियाका अध्यक्ष के श्रीनाथका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमताले कसरी काम गर्छ भन्ने स्पष्ट भइसकेको छैन । यस्तोमा अवस्थामा आशा गर्नु र पर्खनुको विकल्प छैन ।

स्रोत : बीबीसी

You might also like
Loading...