राखेपमा ६ जना मनोनित


युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६ जना सदस्य मनोनीत गरेका छन् । सदस्य सचिव सिफारिस समितिमा रहेका इन्दिरा निरौला र रिमबहादुर रानाभाटसहित ६ जना सदस्यमा मनोनीत भएका छन् ।




उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेश कुमार सिलवाललाई बुधबार पद तथा गोपनीयताको सपथ तथा पदभार ग्रहण गरेको भोलिपल्ट बिहीबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले ६ जनालाई राखेपको सदस्यमा मनोनीत गरेका हुन् ।

मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ (ठ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञको कोटाबाट रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गरेको हो । राखेपका पूर्वसदस्य तथा सदस्यसचिव सिफारिस समितिका सदस्यसमेत रहेका निरौला यसअघि पनि राखेपको बोर्डमा रहेका थिए ।


सदस्यसचिव सिफारिस समितिका सदस्यसमेत रहेका रानाभाट राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं सागको सहायक सेभ दि मिसन रहेका थिए । यसैगरी सम्बन्धित खेल संघको सिफारिसमा अर्जुन केसी, सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ मनोनित भएका छन् ।

त्यस्तै, सोही उपदफाको (त) बमोजिम परम्परागत, साहासिक तथा पर्यटकीय खेल क्षेत्रबाट गोविन्दप्रसाद भट्टराईलाई सदस्य पदमा मनोनीत गरिएको युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सम्पन्न श्रेष्ठ तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका कार्यवहाक अध्यक्ष रहेका थिए । गोविन्दप्रसाद भट्टराई माउन्टेन स्पोर्ट फेडेरेसन नेपालका पूर्वप्रमुख तथा पछिल्लोपटक रोड सेफ्टी अभियानमा लागेका थिए ।

मन्त्रिपरिषद्ले सोमबार शिव कोइरालालाई राखेपको उपाध्यक्ष र तथा रमेश कुमार सिलवाललाई सदस्यसचिव नियुक्त गरेको थियो । नयाँ खेलकुद ऐनअनुसार ३७ सदस्यीय रहने राखेपका पदाधिकारीमा अरू पदेन सदस्यबाहेक बाँकी सदस्य चाँडै मनोनीत गरिने मन्त्रालयले जनाएको छ ।




सम्बन्धित
Loading...