विश्वकप छनोटका लागि नयाँ प्रस्ताव, नेपालले दशरथ रंगशालामा खेल्ने तय तीनै खेल संकटमा

70




फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताका लागि नेपालले भदौ १ गतेदेखि तयारी थाल्दैछ।

तयारी सुरू गर्नुअघि राष्ट्रिय फुटबल टिममा रहेका सबै खेलाडीलाई आजदेखि दुई साता क्वारेन्टिनमा राखिनेछ भने कोरोना भाइरसको पिसिआर टेस्ट गरिनेछ।

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी) ले तयारी गरेको छ।

स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय छ।

तर कोरोनाको संक्रमण एसियाली देशमा बढिरहेकाले होम एन्ड अवे म्याच नहुने सम्भावना देखिएको छ।

एक समूहका बाँकी खेल सम्बन्धित एक देशमा मात्र गर्ने वा तेस्रो देशमा गर्ने नयाँ प्रस्तावसँगै नेपालले घरेलु मैदानमा खेल्ने भनिएका खेल पनि संकटमा परेका छन्।

बाँकी रहेका समूहका खेल सम्बन्धित समूहको एक देश वा तेस्रो देशमा गर्दा उपयुुक्त हुने प्रस्ताव अघि सारिएको छ। क्वारेन्टिनको नियम पालना गर्दा एक सातामा होम एन्ड अवे म्याच सम्भव नहुने तर्क छ।

युरोपियन च्याम्पियन्स लिगको अन्तिम ८ का खेल एक देशमा मात्र गर्ने निर्णय भएको अवस्थामा विश्वकप छनोटका लागि पनि नयाँ प्रस्ताव अघि सारिएको हो।

समूह ‘ए’मा रहेको चीनले एक समूहको खेल एक देशमा मात्र भए आफू आयोजक बन्न पाउनु पर्ने दाबी गरेको छ।

चीनको समूहमा सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन्। चीनका बाँकी चार मध्ये तीन खेल घरेलु मैदानमा हुने तय भएकाले चीनले नयाँ प्रस्ताव आफ्नो पक्षमा हुनु पर्ने दाबी गरेको हो।

चीनको फुटबल संघका अध्यक्ष चेन सुयुवानले फिफाले समूहका बाँकी खेल एकै देशमा गर्न सुझाव दिन सक्ने बताउँदै त्यसो भए चीनले आयोजना गर्न पाउनु पर्ने एक अन्तर्वार्तामा बताएको गोल डटकमले लेखेको छ।

नयाँ प्रस्तावमा फिफा तथा एएफसीले निर्णय गरे समूह ‘बी’मा रहेको नेपालले पनि आयोजना दाबी गर्न सक्छ। किनकी नेपालले बाँकी तीनै खेल घरेलु मैदानमा खेल्न बाँकी छ। तर पर्याप्त अभ्यास मैदान तथा खेल मैदान अभाव र कोरोना संक्रमित बढिरहेकाले नेपालले आयोजना गर्न पाउन कठीन छ।

समूह ‘बी’मा अब आठ खेल खेल्न बाँकी छ।

यता नेपालको समूहमा रहेको अस्ट्रेलियाले पनि बाँकी चार मध्ये तीन खेल घरेलुु मैदानमा खेल्न बाँकी छ। जसकारण अस्ट्रेलियाले पनि बाँकी खेलको आयोजनाको दाबी गर्न सक्छ।

समूहका अन्य टिम कुबेत र चाइनिज ताइपेइको तीन मध्ये १-१ खेल मात्र घरेलु मैदानमा हुने तय छ। जोर्डनको भने बाँकी तीनै खेल अवे रहेका छन्।

नेपाल र अस्ट्रेलिया बाहेक समूहका अन्य तीन देश वा तेस्रो देशमा पनि खेल हुने सम्भावना छ।

नेपालले चाइनिज ताइपेई,अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

You might also like
Loading...