वल्लोपल्लो घरको छतबाट टेनिस खेल्ने किशोरीको भिडिओ भाइरल, भेटे फेडेररले (भिडिओ)


कोरोनाले गर्दा सामाजिक दूरी अहिले सामान्य भइसक्यो। मानिसहरूले आफ्ना काम गर्न नयाँ-नयाँ तरिका अपनाउन थालेका छन्।




यस्तै नयाँ तरिकाले आफ्नो काम गरेका इटालीका दुई जना किशोरीको भिडिओ हिजोआज सामाजिक सञ्जालमा भाइरल छ।

गत अप्रिलमा भएको लकडाउनका बेला उनीहरूले एउटा घरको छतबाट अर्को घरको छतमा टेनिस खेलेका थिए।




उनीहरूले खेलेको उक्त भिडिओ भाइरल भएपछि विश्व टेनिसका स्टार खेलाडी रोजर फेडेररले समेत प्रशंसा गरेका छन्।

इटालीकी १३ वर्षीया भिट्टोरिया र ११ वर्षीया कारोलालाई फेडेररले भेटेका छन्। उक्त भेटमा उनले दुबै जनासँग टेनिस पनि खेलेका थिए।

इटालियन पास्ता ब्राण्ड बारिलाले सेयर गरेको भिडिओमा सुरूमा दुबै किशोरीलाई फेडेररलाई भेट्यौ भने के गर्छौ? भनेर सोधेका थिए। यो प्रश्नमा भिट्टोरियाले जवाफ दिएकी थिइन्- यदि फेडेररलाई भेटें भने अँगालो मार्नेछु।

उनले जवाफ फर्काएको केही सकेन्डमै फेडेरर त्यहाँ पुग्छन्। फेडेररलाई आँखै अगाडि देखेपछि दुबै जना अचम्मित हुन्छन्।

भिडिओमा उनीहरूले भनेका छन्- हामी विश्वास नै गर्न सक्दैनौं कि हाम्रो छतमा फेडेरर छन्।

त्यसपछि दुबै किशोरीले फेडेररसँग सेल्फी खिच्छन्।

दुई किशोरीलाई भेट्न पाउनु विशेष भएको फेडेररले प्रतिक्रिया दिएका छन्। साथै, उनले आगामी समर क्याम्पमा राफा नाडाल एकेडेमीमा प्रशिक्षण गर्न निम्ता दिएका छन्।

इटालीको एउटा सानो सहर फिनाले लिग्युरको एउटा टेनिस एकेडेमीले मार्चको सुरूमै आफ्ना खेलाडीहरूलाई नयाँ तरिका अपनाएर प्रशिक्षण गर्न भनेको थियो।

जसमा सबैले आ-आफ्नो तरिकाले अभ्यास गरे। ती अभ्यासका भिडिओहरू टेनिस क्लब फिनाले नामको फेसबुक पेजमा अपलोड गर्थ्यो।

ती भिडिओमध्ये भिट्टोरिया र कारोलाले नजिकैका दुई फरक घरको छतछतबाट भिडिओ भाइरल बन्न पुग्यो।

प्रशिक्षक डाइनिसियो पोग्गीका अनुसार घरको छतबाट टेनिस खेल्ने तरिका खेलाडीले नै अपनाएका हुन्।

‘यो उनीहरूकै आइडिया हो। उनीहरू एकअर्कालाई राम्रोसँग चिन्छन्। वल्लोपल्लो घरमा बस्ने भएकोले नयाँ आइडिया जन्मेको होला,’ उनले भने, ‘११ वर्षीया कारोला त उनको उमेर समूहमा यो क्षेत्रकै उत्कृष्ट तीन खेलाडीमा पर्छिन्।’

 




सम्बन्धित
Loading...