गाईजात्रा: उपत्यकासहित देशका विभिन्न स्थानमा मनाइँदै





विशेषगरी नेवार सम्प्रदायमा यो पर्व वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गरिँदै मनाइने गाईजात्रा पर्व उपत्यकासहित देशका विभिन्न स्थानमा मनाइँदै छ । दिवंगत आफन्तहरूको सम्झनामा मानिसलाई गाईको रूप धारण गराई नगरपरिक्रमा गराएमा वर्षभरिमा मृत्यु भएका आफन्तहरू गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ ।

गाईजात्रा भाद्र शुक्ल प्रतिपदाको दिन पर्छ । नेवार समुदायका मानिस आफ्ना पितृगणको सम्झनामा गाईसँगै विभिन्न रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । नेवार सम्प्रदायमा यो जात्राले धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको पाइन्छ ।




सत्रौँ शताब्दीमा राजा प्रताप मल्लको नाबालक छोराको निधनमा उनकी रानी ठूलो वियोगमा परिन् । शोकका कारण रानी अत्यन्त विक्षिप्त बनेकी थिइन् । पुत्रवियोगमा उनी लामो समयसम्म एक्लै टोलाएर बस्ने गरेकी थिइन् । राजा प्रताप मल्लले मृत्यु कसैको वशमा हँुदैन भनेर यथार्थ बुझाउन खोजे पनि रानीको मन केही गरे पनि शान्त भएन । त्यसपछि राजाले एउटा जुक्ति निकाले ।

‘हाम्रा युवराज मात्र होइन, दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउनका लागि गाईजात्रा सुरु गरिएको किंबदन्ती छ ।

राजा प्रताप मल्लले ‘वर्ष दिनभित्र जसको आफन्त मरेका छन् उनीहरू सबैले गाईको झाँकी प्रदर्शन गर्नू’ भनेर उर्दी लाएपछि यो जात्रा मनाउन थालिएको इतिहास पाइन्छ ।

हिन्दू धर्मअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मरेका मानिसको आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने कुरा गरुड पुराणमा उल्लेख छ ।

अहिले सहरमा जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुंगाको टोपी र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन रहिआएको छ । दिवंगत आफन्तको सम्झनामा गाईजात्रा सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने चलन पनि रहिआएको छ ।

उपत्यकामा काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर गाईजात्रा मनाउने गरिन्छ । त्यसैगरी, ओखलढुंगा, भोजपुर, सुनसरीको धरान, बाग्लुङ, पाल्पालगायतका स्थानका नेवार समुदायले यो जात्रा मनाउँदै आएका छन् ।

आजभोलि गाईजात्रालाई व्यंग्य दिवसका रूपमा मनाउने गरिएको पाइन्छ । समाजमा घटेका विकृति र विसंगति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ । गाईजात्रालाई सामाजिक र राजनीतिक कुरीतिविरुद्ध व्यंग्य गर्ने अवसरका रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । यसरी कलाकारहरूले जाईजात्राको माध्यमबाट समाजको वास्तविक ऐना देखाउने गरेका छन् ।

नवलपुरमा पनि गाईजात्रा

त्यसैगरी आज नवलपुरका विभिन्न स्थानमा पनि गाईजात्रा पर्व मनाइएको छ । खास गरेर यस बर्ष कोरोनाका कारण नवलपुरमा गाईजात्राको उत्साहा नभए पनि दिवंगत आत्मको सम्झनामा मनाइने भएकोले नेवारी गुठीहरुले सामाजिक दुरी कायम गरेर मुख्य चोक र बजारमा नभई सम्बन्धित घरघरमा मात्र गाईजात्रा निकालेर पर्व मनाएका छन् ।

 

 

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध




सम्बन्धित
Loading...