फुर्सदिला सिनेकर्मीका ७ गाली महात्म्य


कोभिड- १९ को महामारीबाट बच्न नेपाल सरकारले लकडाउन गर्‍यो । लकडाउन भएसँगै चलचित्रसँग सम्बन्धित सम्पूर्ण काम रोकिए । छायांकनदेखि रिलिजसम्मका सम्पूर्ण काम रोकिए पनि चलचित्र क्षेत्र भने निकै गर्मायो ।




लकडाउनको समय धेरै गसिपहरू जन्मिए । अघिल्लो पुस्ताका अभिनेता राजेश हमाल, भुवन केसीदेखि सुष्मा कार्की, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, दीपाश्री निरौला, वर्षा राउतसम्म विवादमा मुछिए । उनीहरूकै कारण चलचित्र बजार तातिरह्यो ।

विवादको सुरूवात अभिनेत्रीद्वय सुष्मा कार्की र पूजा शर्माबाट भयो । सुष्माले दिएको पुरानो अन्तर्वार्तालाई टिकटकमा भाइरल गरियो । सुष्माले पूजालाई लक्षित गर्दै टिप्पणी गरेकी थिइन् ।




पूजाको विषयमा सुष्माले आपत्तिजनक टिप्पणी गरेको भन्दै पूजाका शुभचिन्तकहरूले सुष्मालाई निकै गाली गरे । आफूलाई गाली आएपछि सुष्माले पूजाका ‘फेक फ्यान’ले आफूलाई गाली गरेको आरोपसमेत लगाइन् । यस विषयमा पूजा भने मौन रहिन् ।

उक्त विवाद साम्य हुन नपाउँदै नायिका वर्षा राउत सीमा विवादको विषयमा बोल्दा चिप्लिइन् । उनले लिपुलेक र लिम्पियाधुरा आफ्नो भए पनि विरोध गरेर आफ्नो भएको हकदाबी गर्न नहुने तर्क राखिन् । उनले यसो गर्दा आफ्नो ‘भारतीय साथी’सँग सम्बन्ध बिग्रिने लेखिन् ।

जसका कारण वर्षाले चर्को आलोचना खेप्नुपर्‍यो । वर्षाले सामाजिक संजालमार्फत नै माफी मागिन् । बल्ल उनको विवाद केही शान्त भयो ।

सुष्मासँगको विवादमा मौन नै रहेकी अभिनेत्री पूजा शर्मा एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिएपछि विवादमा तानिइन् । उनले आफ्नो देशको प्रदेश तथा जिल्ला संख्या नजान्दा विवादमा फसिन् ।

अभिनेत्री भएर सामान्य ज्ञानसमेत नराखेको भन्दै पूजालाई खेदो खनियाे । पूजाको बाैद्धिकतामाथि प्रश्न गरियाे ।

पूजाको विवाद साम्य भएकै थिएन । उता अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले काम गरेका ८ चलचित्रमध्ये ३ चलचित्रमा आफूलाई शोषण भएको अभिव्यक्ति सार्वजनिक गरिन् ।

साम्राज्ञीले तीन चलचित्रको नाम खुलाएकी थिइनन् । तर, साम्राज्ञीलाई डेब्यू गराएका निर्माता तथा अभिनेता भुवन केसीले आफूप्रति लक्षित भएको भन्दै उत्तर फर्काए । भुवनले लेखे- ‘शोषण भयो भन्दै सामाजिक संजालमा रोई कराई गर्ने अभिनेत्रीले अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खायो, त्यही थाल दुलो पार्‍यो ।’

भुवनको यस अभिव्यक्ति साम्राज्ञीलाई पचेन । त्यसैले उत्तर फर्काउँदै जापान अवार्डमा भुवनले गालामा मुख जोडेर कुरा गरेको आरोप लगाइन् । उनले भुवनलाई ‘पवर्ड’ शब्द प्रयोग गरिन् ।

साम्राज्ञीको यस अभिव्यक्तिपछि भुवनले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आफूमाथि लागेको आरोप मेटाउन खोजे । कलाकार संघमा आफ्नो मानहानि भएको भन्दै उजुरी दिए ।  त्यति मात्रै होइन, उनले त काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्तिको माग गर्दै मानहानिको मुद्दा नै हाले ।

तर, भुवन र उनको टिमले दिएको अन्तर्वार्तामा साम्राज्ञीको पनि मानहानि भएको थियो । प्रोडक्सन म्यानेजर गणेश सापकोटाले त साम्राज्ञीलाई गाँजा खानेदेखि साम्राज्ञीको आमाको चरित्रमाथिसमेत प्रश्न गरे । निर्देशक सोभित बस्नेत पनि विवादित बने ।

भुवन र साम्राज्ञीबीच विवाद चर्किरहेको समय निर्देशक दीपाश्री निरौँला विवादित बनिन् । अभिनेता राजेश हमालको महानायक उपाधिमाथि प्रश्न गर्दा उनी विवादमा तानिएकी थिइन् । उनले राजेश हमाललाई महानायक मान्न नसकिने आशयको अभिव्यक्ति दिएकी थिइन् ।

उक्त अभिव्यक्तिपश्चात् राजेश हमालका शुभचिन्तकहरूले दीपाश्रीलाई अत्यधिक गाली गरे । हुँदाँहुँदा अभिनेता तथा निर्माता दीपकराज गिरी पनि सोही विवादमा मुछिए । कतिपयले त ट्रोल गर्दै दीपकराजलाई नै महानायक बनाए ।

विवाद चर्किएपछि दीपाश्री निरौँलाले सामाजिक संजालबाट माफी मागिन् । तर, यस विषयमा धेरै चलचित्रकर्मीहरूले बहस चलाए । अन्तर्वार्ता दिए/लिए ।

दाह्रा निस्किएको भन्दा चर्किएको आवाज साम्राज्ञीको शोषणमा किन मौन ?

अहिले पुन: विवादमा तानिएकी छन्, पूजा शर्मा । टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले दिएको एक अभिव्यक्तिपछि पूजा पुनः विवादित बनेकी हुन् ।

प्रस्तोता सुवेदीले आफ्नो कार्यक्रममा नायिकालाई लक्षित गर्दै ‘दाह्रा निस्किएको अनुहार’ भएको बोले । उनको यस अभिव्यक्तिमा पूजाको नाम तोकिएको थिएन । तर, सुवेदीको अभिव्यक्ति पूजालक्षित थियो भनेर अनुमान गर्न गाह्रो हुन्न ।

आफूलाई लक्षित गरेर तुच्छ शब्द प्रयोग गरेको भन्दै पूजाले सामाजिक संजालमा स्टाटस लेखिन् । उनले प्रकाश सुवेदीले आफ्नो मानहानि गरेको समेत आरोप लगाइन् ।

पूजाले लेखेकी छन्, ‘उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर दाह्रा निस्किएको महानायिका भनेर शारीरिक हाउभाउलाई लक्षित गर्दै अत्यन्त तुच्छ ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर बाँकी राख्नुभएन ।’

पूजाले याे स्टाटस लेखेसँगै चलचित्र क्षेत्रमा विभिन्न व्यक्तिहरूले सुवेदीविरूद्ध आवाज उठाए । अझ विशेषगरी नायिकाहरूले यसको चर्को विरोध गरे ।

अभिनेत्री ऋचा शर्माले नायिकाहरू आफ्नो परिश्रम र क्षमताले कलाकार भएको भन्दै कसैले अभिनेत्रीहरूलाई महानायिका बनाइदिन नपर्ने उल्लेख गरिन् ।

ऋचाले बहिष्कारको भावमा रजतपटको अर्थ चलचित्र घरको पर्दा भएको अर्थ लगाउँदै अब उक्त पर्दा पुरानो भएको र फेर्ने समय भएको उल्लेख गरेकी छन् ।

त्यस्तै, अभिनेत्री केकी अधिकारीले पनि नायिकाको शारीरिक बनावटप्रति गरेको टिप्पणी आपत्तिजनक भएको उल्लेख गरिन् । उनले बोलेको शैली, भाषा, प्रस्तुत गरेको उदाहरण र देखाएको तुजुकले प्रस्तुतकर्ता सुवेदीकै स्तर देखाइदिएको उल्लेख गरेकी छन् ।

यस विषयमा अभिनेत्री स्वस्तिमा खड्का, रीमा विश्वकर्मा, निशा अधिकारी, गौरी मल्ललगायतका अभिनेत्रीहरूले चर्को विरोध गरे । उनीहरूसँगै निर्देशक सुदर्शन थापा, प्रदीप भट्टराई, दिवाकर भट्टराईलगायतले पनि यस विषयमा आवाज उठाए ।

अन्तत: चलचित्रकर्मीको चर्को विरोधपछि प्रस्तुतकर्ता प्रकाश सुवेदीले माफी नै मागे ।

उता, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको विवादमा पनि चलचित्रकर्मीले आवाज नउठाएका होइनन् । दीपालाई माफी दिन भन्दै धेरै चलचित्रकर्मीले स्टाटस लेखे । कतिपयले त राजेशले नै दीपालाई माफी दिन बोल्नुपर्ने लेखे ।

तर, शोषणको विषयमा बोल्दा साम्राज्ञी एक्लो परिन् । साम्राज्ञीको पक्षमा बोलिदिने कोही भएन । ‘जिरो टोलोरेन्स’मा आवद्ध अभिनेत्रीदेखि अन्य चलचित्रकर्मीहरू पनि मौन रहे ।

साम्राज्ञीको मानहानि भइरहेको समय भुवनले १० करोड क्षतिपूर्ति माग्दासमेत चलचित्रकर्मीहरू मौन रहे ।

‘दाह्रा निस्किएको अनुहार’ भन्ने शब्दमा चर्को आलोचना गर्ने चलचित्रकर्मीहरू साम्राज्ञीले शोषणको आवाज उठाउँदा बोल्न सकेनन् । उनीहरू मौन रहे ।

साम्राज्ञीले आफूमाथि भएको शोषणको विषयमा एक्लै भए पनि लड्न तयार भएको बताउँदै आएकी छन् । आफूलाई परेको मुद्दामा पनि उनी डटेर लड्ने प्रतिवद्धता व्यक्त गर्छिन् ।

उनले भन्ने गरेकी छन्- ‘म डराउँदिनँ । कसैलाई गुहार्दिनँ पनि । मेरो न्यायका लागि म आफैँ लड्छु ।’




सम्बन्धित
Loading...