विरानो सहरबाट आमाबुवालाई छोरीको पत्र

493







पुजनीय बुवाआमा,
ढोग नमस्कार छ ।

म यहाँ आरामै छु, त्यहाँ हजुरहरु पनि कुशल नै हुनुहुन्छ भन्ने पूर्ण विश्वास गरेकी छु । हरपल मुटुभरीको माया अनि अनगिन्ती यादहरु ।

खै म कहाँबाट लेख्न शुरु गरौं ? लेख्ने शब्दहरु पनि छैनन् । के लेखौं, के नलेखौं भइरहेको छ । किनकी मनमा धेरै कुराहरु आइरहेका छन् । कारण लामो समयदेखिको लकडाउन र कोरोनाको त्रासले गर्दा मनभरी अनेकौ कुराहरु उकुसमुकुस भइरहेका छन् । लेख्ने शब्दभन्दा पनि कुराहरु नै धेरै खेलिरहेका छन् । तैपनि मनमा जे लाग्यो, त्यही यो पत्रमार्फत कोर्दैछु ।

हो, म हजुरहरुबाट टाढिएर बसेको यतिका दिन भइसक्यो । मलाई हजुरहरुलाई जस्तै त्यत्तिकै न्यास्रो लागेको छ । घर आएर रमाउन मन लागेको छ । आफ्ना साथीसँग मनका कुरा खोल्न मन छ । तर, बाध्यताले गर्दा चाहेर पनि म आउन सकिरहेको छैन ।

म नवलपुर सदरमुकाम अर्थात् कावासोतीमै बसेर आफ्नो कर्म गरिरहेको छु । सुचना सम्प्रेषण पनि गरिरहेको छु । मेरो घर आइपुग्न त्यति टाढा पनि होइन । तर, यो कोरोना संक्रमणका कारण मलाई मेरो घर आउन पनि परदेशझै बनाइदिएको छ । जति रहर लागे पनि म सजिलै आउन सक्ने अवस्था पनि छैन । मलाई आशा छ, मेरो यो बाध्यतालाई बुबा आमाले पक्कै पनि बुझिदिनु भएको छ ।

म बजारको कोलाहलमा भए पनि यतिबेला त्यस्तो छैन । आफ्ना सहकर्मी र साथीसँग पनि तर्किएर हिड्नु पर्दा साह्रै असहज बनेको छ । यो सहर मेरा लागि यतिबेला सुनसान बनेको छ । यतिका धेरै दिनसम्म कतै आवात जावात नगरी बसेकी छैन । हुन त, अहिले कुनै विषय वस्तु नै लिएर आएकी पनि होइन । केवल हजुरहरुको माया र सम्झनाले गर्दा जानी नजानी यो छोटो पत्र लेख्ने प्रयास गरेकी मात्र हुँ । कुराकानी गर्ने धेरै नै माध्यमहरु छन् कुरा पनि भइराख्छ । तर आज खै किन किन धेरै हजुरहरुको सम्झनाले सताइरहेको छ ।

आमा, यति सुन्दर धर्तीमा जन्म दिनुभयो । न्यानो मायासँगै तोते बोली बुझेर मेरो हरेक चाहना पुरा गरिदिनुभयो । आफु प्यासी रहि मलाई तिर्खा मेटाउनुभयो । सयौँ पीडाहरु लुकाएर मलाई खुसी दिनुभयो । मेरो दुःखमा रुनु भयो र मेरो खुसीसँगै हास्नु भयो । र आज कोरोना संक्रमणका कारण भौतिक शरीर टाढा भए पनि यो मुटुमा हजुर नै सजिनुभएको छ ।

बाबा, मेरो हरेक दौडाइसँगै भौतारिनुभयो । पालनपोषण गर्नुभयो । मेरो निम्ति कडा मेहेनत र परिश्रम गरी आफ्नो शरीरको ख्याल नगरी मेरो प्रगतिका लागि संघर्ष गर्नुभयो । जसको कारण आज मलाई प्रगतिको बाटो के हो भन्ने कुराको ज्ञान भएको छ ।

जसरी कोरोनाले सताएको छ, त्यसरी नै मलाई हजुरहरुको यादले सताएको छ । कोरोनाले लकडाउन हुँदा साह्रै संकट पैदा भएको छ, बजार सुनसान छ । मान्छेदेखि मान्छे तर्किएर हिड्नुपर्ने बाध्यता आइपरेको छ । तर पनि मेरो आँखामा घरकै तस्विर आइरहेको छ । बुबा आमाको काखको याद आइरहेको छ ।

यो लकडाउनले हाम्रो भेट कहिलेसम्म हुन दिन्न ? के अब यस्तै होला त सधैंभरी ? जसरी मेरा अवोध मनमा यी प्रश्नहरु उब्जिएका छन्, त्यसरी नै मेरा बुबा आमाका परिपक्क मनहरुले, आँखाहरुले मलाई खोज्दो हो । मिठो मसिनो पाक्दा ‘ला छोरी’ भन्ने शब्द पनि निस्किदो हो । घर भित्र बाहिर गर्दा पनि मेरो झल्को लाग्दो हो । तर, परिस्थितीले यादहरुलाई झन पीडादायक बनाइरहेका छ ।

हो, आजभोली न सहर, न गाउँ, न टोल सबैतिर त्रास फैलिएको छ । आफ्ना आफन्तहरुसँग भेट्दा पनि ‘पराई’ लाई झै व्यवहार गर्नुपर्ने बाध्यता छ । हजुरहरुलाई थाहै होला, अहिले हामी मात्रै होइन, विश्व नै त्राहीत्राही बनेको छ । रोगले आफन्त भन्दो रहेनछ । रोगले न धनी, न गरिव, न आफ्ना, आफन्त नै भन्दो रहेछ । कोरोना रोगले धनीलाई पनि छोएको छ, गरिवलाई पनि छोएको छ । उच्च ओहोदामा बस्नेदेखि झुपडीमा बस्ने समेतलाई पीडा दिएको छ ।

म कोरोना संक्रमणबाट जोगिन अनेक उपाय अपनाइरहेको छु । यो त सहर न हो, जतिबेला पनि भीड लाग्न सक्छ । म ड्युटीमा जतिबेला पनि खटिनुपर्ने हुनसक्छ । तैपनि म जतिसक्दो जोगिने प्रयासमा छु । यतिबेला जतिसक्दो सबैसँग जोगिनु नै उत्तम हुने रहेछ ।

हो, कोरोनाले सहरलाई मात्र सताएको छैन, गाउँघर र कसनाकाप्चामा पनि उत्तिकै सताएको छ । कोरोना नपुगेको ठाउँमा पनि त्रास फैलिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले गर्दा आपसी दुरी बढाएको छ । तर हजुरहरु प्रतिको मेरो माया कहिल्यै घट्ने छैन । आफ्नो ख्याल गर्नुहोला । रुघाखोकी लाग्दा हेलचेक्रयाइँ नगर्नुहोला । जतिसक्दो साबुनपानीले हात धोइरहनु होला । तातो पानी खाइरहनु होला ।

जतिसक्दो आफुलाई सुरक्षित राख्न आफ्ना आफन्तसँग दुरी कायम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । हजुरहरु स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् । हजुरहरुको माया नै मेरो खुसी हो । खासै नलेखी नहुने विषेश त केहि पनि थिएन । तैपनि आमाबाबाको यादले गर्दा र ससारलाई त्रसित बनाएको कोरोना भाइरसको चिन्ताले गर्दा यो छोटो पत्र कोर्ने प्रयास गरेकी हुँ । हजुरहरुको आर्शिवाद निरन्तर मिलिरहोस् ।

उही हजुरहरुको छोरी

सिमाना खाती
कावासोती, नवलपुर

You might also like
Loading...