थारु समुदायको मौलिक पर्व जितिया पर्व र यसको महत्व


 

 

 

 

 




  • चन्द्रा महतो

जितिया पर्वलाई थारु समुदायको महिलाहरूले एक महान सांस्कृतिक पर्वको रुपमा लिने गर्दछन् । जितियामा थारु महिलाहरुले जितवहानको नाममा व्रत बस्छन् भने सामुहिक रुपमा झाम्टा नाँचनाच्दै रमाइलो गर्दछन् । तर यस वर्ष भने विश्वभर फैलिएको कोरोना भाइरस कारण जितिया पर्व प्रभावित भएको छ ।





पहिले पहिले जितिया पर्वको रौनक एक दुई हप्ता अगाडिदेखि नै हुन्थ्यो भने यो वर्ष जितिया पर्व आउन १ दिन पनि नहुँदा गाउँ घरमा कुनै चहलपहल भने रहेको छैन । के हो जितिया पर्व ? जितिया पर्व ठाउ अनुसार फरक फरक तरिकाले मनाएता पनि थारु पहिचान र संस्कृतिसंग जोडिएको छ । त्यसो त जितिया पर्व तीन दिनसम्म मनाउने चलन रहेको छ । जितिया पर्व धार्मिक, सांस्कृतिक मात्र नभई प्राकृतिक दृष्टिकोणमा पनि लिइएको छ । त्यस्तै जितिया पर्व भाइचारा, समानता, विजयीको प्रतिकको रुपमा लिएको छ ।

जितियाको पहिलो दिनः

जितिया पर्व तीन दिनसम्म मनाइने पहिलो दिनलाई मछुवारी साथै लहाखैना दिन पनि भनिन्छ । यस दिन सबेरै नदी ताल तलैया लगायतका जलासयमा गई चोखोनिष्ठ हुने चलन रहेको छ । ब्रतालुहरुले नुहाउँदा आफूले प्रयोग गरेका पिना चिलो दिदी र सिरो बैनिले पनि व्रत बसुन भनी कुनै पातमा पिना दिने र बेलुका डटकट (दर) खाने चलन रहेको छ । ब्रतबस्दा शरीरलाई तागत अर्थात शक्ति मिलोस् भनेर पनि चिचर, माछा डटकटको रुपमा खाने गरिन्छ । कोही सकाहारी खाना खाने पनि गर्दछन् ।

दोस्रो दिन (जितिया व्रत)ः

दोस्रो दिनलाई जितिया पर्वको महत्वपूर्ण दिन मानिन्छ । यस दिन सबेरै ब्रतालुहरु जलाशयमा गयी नुहाउने गर्दछन् । बेलुका कथा सुन्नको लागि धानको गाबा (गावा) लिन खेत तिर जान्छन् । पञ्चकन्याद्वारा गाज हालेको ( नपसाएको धानको गावा) लिने चलन रहेको छ । ‘एक कनैया मिली गावा जे उखारे, हरे बैसे बैसे अनपुरना बहसदेवी हमराके काथा सुनावे आही रे …. । )’ भन्दै एक कनैया, दुई कनैया विजोर संख्यासम्म गाउने र धानको पात गाठो पार्ने चलन रहेको छ । धानको गावा लिए पछि ब्रतालुहरु बेलपत्र (बेलक पाता) टिप्न जान्छन् । बेलपत्र टिप्दा पनि झाम्टा पारे र गीत गाउने गरिन्छ । ‘एक खुट गडलीकि दुई खुत गडली जनीर हो न ..बेलरी तर दुगरलरी जाई बेलरी तर …।’ गित गाउने गरिन्छ । झाम्टा र गित गाए पछि मात्र बेलपत्र टिप्ने गरिन्छ । टिपेको बेलपत्र धनु (धनही) बनाउने गरिन्छ । धनही बनाउदा कति दाजुभाइ छन् ? सोही अनुरुप प्रत्येकको लागि एउटा र भगवान जितवाहनको लागि एउटा धनही बनाउने चलन रहेको छ । पुजाको लागि जाकुरी (मास) भिजाएर ब्रतालुहरु गाउँका सबै जम्मा भएर झाम्टा नाचदै र झाम्टा गीत गाउँदै रमाउलो गर्दछन् । दुखसुखका कुरा, पौराणिक, मौलिक विषयलाई समेटिएका गीत गाउदै निराहार व्रत बस्ने चलन रहेको छ । बेलुका भए पछि पुन जलासयमा गएर नुहाउने गर्दछन् । त्यसपछि गाउका सबै ब्रतालु एक ठाउँमा जम्मा भएर कथा सुनिने तयारीमा लाग्छन् ।
कथा सुन्नको लागि पाकड (एक बनस्पति बिरुवा), धानको गावा लगायत पूजा सामाग्री राखिन्छ र झाम्टा पार्दै गीत गाउछन् । झाम्टा र गीत पछि कथा सुनाउन आग्रह गर्दै बदहा गीत गाउने चलन रहेको छ । बदहा गीत गाउँदा धानको गावालाई विच्चमा राखि मदहा गाउने गरिन्छ र थारु गुरुद्वारा जितिया व्रत कथा सुरु हुन्छ ।

जितिया ब्रत कथा पनि दुई भागमा बाडिएको छ । पहिलोमा जितवाहनको कथा र दोस्रो भागमा सत्यको पक्षमा रहेकी चिलो दिदी र असत्यको पक्षमा रहेकी सिरो बहिनीको कथा रहेको छ । जितिया पर्वको महत्वपूर्ण पाटोमा जितिया व्रत कथालाई लिने गरिन्छ । जुन कथा अनिवार्य ब्रतालुले सुन्नु पर्ने रहेको छ । जितिया व्रत कथाले सत्यको पक्षमा लागे अवश्य सफलता मिल्ने सन्देश दिन्छ । सोही अनुरुप थारु समुदायका विशेष त महिलाहरुले निष्ठाका साथ व्रत बस्ने गर्दछन् ।

जितियाको तेस्रो दिन (पारन करना)ः

जितिया पर्वको तेस्रो दिन अथात अन्तिम दिनलाई थारु समुदायले पारन करना दिनको रुपमा लिने गर्दछन् । ब्रतालु महिलाहरु पुजाका सामाग्री लिएर जलाशयमा जान्छन् । नुहाइ सके पछि अघिल्लो दिन भिजाएको जाकुरी र पानीबाट पारन गर्दछन । श्रद्धा र निष्ठाका साथ निराहार व्रत बसेको कामना पुराहोस भन्दै पारन गरिन्छ । पारन गरे पछि दाजुभाइ र जितवाहनको नाममा बनाएको धनही लगायतका पुजा सामाग्री चढाउने गरिन्छ । विधिपूर्वक पारन गरे पछि फलहार ( फरहर) गरि जितिया पर्वको व्रत सम्पन्न हुन्छ ।




सम्बन्धित
Loading...