कोरोना निको भएकालाई समाजमा अवहेलनाको चिन्ता





रजहर (नवलपरासी)- गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित पूर्वी नवलपरासी जिल्लामा देखिएका छन् । संक्रमित भएका मध्ये ४ सयभन्दा बढीले कोरोना जितिसकेका छन् । देशैभर साढे ३६ हजारभन्दा बढीले कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । निको भएकाहरूलाई समाजमा पूर्ववत पुनर्स्थापित हुन भने समस्या भएको पाइएको छ ।




पूर्वी नवलपरासी जिल्लामा राजनीतिक दलका नेता, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र व्यापारीहरू पनि कोरोना संक्रमणमा परे । उनीहरू कोरोना जितेर घर फर्किंदा भने समाजमा पहिलेझैँ सहज अवस्था भएन ।

बिहीबार पूर्वी नवलपरासीको कोभिड-१९ अस्थायी अस्पताल प्राकृतिक चिकित्सालयबाट ६ वर्षीया बालिकादेखि ६५ वर्षका वृद्धसम्म कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किए । यो समूहमा राजनीतिक दलका नेता र पत्रकार पनि थिए । ती सबैमा आफूप्रति समाजको दृष्टिकोण कस्तो होला भन्ने चिन्ता झल्किन्थ्यो ।

कावासोती नगरपालिका-२ मा पुस्तक व्यवसाय सञ्चालन गर्दै आएका अर्जुन लुइँटेलले आफू संक्रमित भएर आइसोलेशनमा बसेपछि डेरामा रहेका आफ्नो परिवारका सदस्यहरू निकालिएको सम्झिए ।

उनीभन्दा अघि संक्रमण भई झण्डै एक महिनापछि कोरोनामुक्त भएका कावासोतीकै सामथ्र्य एफएमका प्रबन्ध निर्देशक सागर पोखरेलले पनि आफूलाई कोरोना संक्रमण भएपछि आफ्ना परिवारजन र रेडियोका सदस्यहरूलाई समाजले अनुचित व्यवहार गरेको बताए ।

रेडियोका साथीहरूलाई वरपरका पसलमा चाउचाउ किन्न समेत नदिएको र सुधार केन्द्रका साथीहरूले ल्याएको खाना खुवाउनु परेको पोखरेलले बताए । ‘कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्छ,’ उनले भने, ‘समाजमा अझै पनि अवहेलनाको दृष्टिकोण देखिन्छ, यसमा सुधार आवश्यक छ ।’

कोरोना संक्रमणबाट निको भएका ३३ जनामध्ये नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे पनि एक हुन् । ‘सामाजिक कामहरू गर्ने क्रममा नै म संक्रमित हुन पुगेँ’, उनले भने, ‘मजस्तै जो कसैलाई पनि संक्रमण हुन सक्छ, संक्रमितप्रति सद्भाव राख्नुपर्छ ।’ समाजले संक्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै उनले यो अरूलाई मात्र पर्ने समस्या हो भन्ने सोच्न नहुने बताए ।

‘विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले जुनसुकै बेला जो सुकैलाई भेट्न सक्छ । सबै व्यक्ति सधैँ सचेत रहौँ,’ घिमिरेले भने, ‘जोगिँदा जोगिँदै पनि संक्रमित भइहालेमा आफूलाई समाजले कस्तो व्यवहार गरोस् भन्ने लाग्छ, अहिले आफूले पनि संक्रमितलाई त्यस्तै व्यवहार गर्नुपर्छ ।’

घिमिरेले मनोबल उच्च राखे कोरोना संक्रमणबाट सहजै मुक्त भइने पनि बताए । उनले संक्रमण फैलिन नदिन र संक्रमितलाई पनि चाँडो ठीक बनाउन सबै तह र तप्काका व्यक्तिहरू लाग्नुपर्ने बताए ।

झण्डै एक महिनादेखि कोरोनासँग लड्दै आएका अर्का पत्रकार रमेश बस्ताकोटीले आइसोेले आइसोलेशनबाटै सामाजिक सन्देशहरू प्रवाह गरिरहेका छन् । बस्ताकोटीले समाजले संक्रमितहरूप्रति राखेको दृष्टिकोणको बारेमा सामाजिक सञ्जालमा आफ्ना भावनाहरू राख्ने गरेका छन् ।

जिल्लाको एकमात्र आइसोलेशन केन्द्रमा योग अभ्यास गराउन र बिरामीको मनोबल उच्च राख्न प्रेरित गरिँदै आएको छ । संक्रमितको मनोबल बढाउन हरेक दिन बिहान योग अभ्यास र बेलुका कलाकारहरूसँगै नाचगान र रमाइलो गराउने गरिएको छ । संक्रमितहरूलाई हतोत्साहित हुन नदिन यस्ता क्रियाकलाप गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाको भनाइ छ ।

समाजमा हुने अवहेलना न्युनीकरणका लागि राजनीतिक नेता, शिक्षक, पत्रकार र बौद्धिक व्यक्तिहरू सक्रिय हुनुपर्ने र सामाजिक अभियान नै चलाउनुपर्ने संक्रमणमुक्त भएकाहरूको भनाइ छ ।

पूर्वी नवलपरासी जिल्लामा हालसम्म ६५२ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएकोमा ४ सय जना निको भइसकेका छन् । अहिलेसम्म नवलपुरबाट कोरोना भाइरस संक्रमण पुष्टि भएका तीन जनाको मृत्यु भएको छ ।

 




सम्बन्धित
Loading...