संस्मरणः असोज सातलाई सम्झँदा

357







  •  ईश्वरीप्रसाद गैरे –

२०५९ असोज सात गतेको रात । रातभरी असौजे झरी परिरहेको छ । स्वाँरा गाउँको चारैतिरको पाहाडी टाकुरामा सेताम्य कुहिरो लागेको छ । नजिकैको वस्तु पनि ठम्याउन नसकिने गरी बाक्लो कुहिरो लागेको छ । बिहानको नित्यकर्मपछि खाना पकाएर खाएर स्कूलका लागि नौ बजे हिँडियो । हिलाम्य बाटो भएकोले विस्तारै विस्तारै हिँडेर हिलो छिचोल्दै दस बज्नु अगावै स्कूलमा पुगियो । स्टाफसँग केही क्षणको भलाकुसारीपछि दसबजेको घण्टीसँगै हाम्रो नियमित कार्य सुरु भयो । आज हाम्रो प्रअ सुर्खेत जानु भएकोले निप्रअको जिम्मेवारी सम्हाल्न पत्र पनि प्राप्त भएको छ । दिनभर हामी (म, टीका सर र नन्दलाल) आआफ्नै रुटिन अनुसार कक्षा सञ्चालन गर्दै गयौँ । दिउँसो सवाएक बजे विद्यार्थी भाइबहिनीहरूका लागि दिवा खाजा तयार भएको थियो । नन्दलालले सबै वालवालिकालाई लाइन लगाई खाजा खुवाउँदै हुनुहुन्थ्यो ।
रातभरको झरीको कारणले गाउँको चारैतिरको पाहाडमा कहिले घाम लाग्ने त कहिले बादल लाग्ने र कहिले प्रचण्ड गर्मी भइरहेको थियो । झण्डै साढेएक बजे माथिल्लो पाहाडको टुप्पाबाट लामो लस्कर सहितको टाटेपाटे डे«समा केही मानिसहरू ओह«ालो झर्दै गरेको देखियो । त्यो झुण्ड अरू कोही नभएर तात्कालिन साहीसेनाको रहेछ । उक्त झुण्ड केही क्षणमै स्कूलमा झ¥यो र स्कूललाई चारैतिरबाट घेरा हाल्यो । खाजा खाइरहेका विद्यार्थी र हामीहरू सबै आतङ्कित भयौँ । एक जना सेनाले मलाई सोधपुछ गर्दै ‘लिटो पकाउने तिम्रो स्कूलको नन्दलाल डाँगी को हो ?’ भनी प्रश्न ग¥यो । मैले उत्तर दिनुभन्दा पहिले नै म हुँ नन्दलाल भनी उहाँले जवाफ दिनु भयो । यति भनेपछि साहीसेनाले ‘ल हामीसँग हिँड्’ भन्दै उहाँलाई गिरफ्तार ग¥यो । दुई बजेपछि स्कूलमा घण्टी लगाइयो । सबै आतङ्कित थियौँ । पढ्ने र पढाउने मन कसैलाई पनि लागको थिएन ।

समय वित्दै गयो । पौनेतीन बजेको समय थियो । माथी डाँडाको जङ्गलमा ड्याम्म ड्याम्म ड्याम्म तीन पटक गोली चलेको आवाज सुन्यौँ । त्यो आवाजले हामी शिक्षक, विद्यार्थी र स्कूलसँगै जोडिएका गाउँका मानिसहरू पनि त्रसित भयौँ । हामीले सोच्यौँ आज जङ्गलमा घाँस दाउरा काट्न गएका कोही निर्दोश नागरिकको शिकार गर्दै आततायी सेनाहरूले अट्टहास गरे । त्यसको झण्डै एक घण्टापछि फेरी त्यो आततायीको जत्थाले स्कूल घे¥यो अनि मलाई र टीकाराम ज्ञवाली सरलाई गिरफ्तार ग¥यो । त्यसपछि चुत्थो र अमर्यादित भाषा बोल्दै ‘दिनभरी मास्टर र रातभरी माओवादी’ भन्दै स्कूलबाट बाहिर निकालेर हात पछाडि बाँधेर उकालो हिँडाइयो । माथि टाकुरामा पुगेर एउटा सेनाले ‘साप साप ! छ सात जना माओवादी भागे, एउटालाई मा¥यौँ र दुइटालाई छोपेर ल्या’छौँ’ भन्दै जाहेरी ग¥यो । त्यसपछि हामी दुई जनालाई केरकार गर्ने काम सुरु भयो ।
‘माओवादी काँ बस्छन् ?’
‘यो गाउँमा को को छन् माओवादी ?’
‘तिमीहरू कुन कुन पोष्टमा छौ ?’
‘कति रूप्पे उठाउँछौ ?’
‘काहाँ काहाँ हान्ने योजना छ ?’
यस्तै यस्तै प्रश्नहरूको बौछार लगाउँदै रहे । हामीले अस्वीकार गर्दै गयौँ । ‘हामीलाई केही पनि थाहा छैन । हामी माओवादी होइनौ । हामी शिक्षक हौँ विद्यार्थीलाई पढाउनु बाहेक हामीले अरू केही पनि गरेका छैनौँ’ भन्दै हामीले उनीहरूका प्रश्नको जवाफ दिइरह्यौँ । हाम्रो जवाफ ती आततायीहरूलाई के चित्त बुभ्mथ्यो । हामी दुवैको बीचबाट एक्कासी फायर गरेर हामीलाई तर्साउने कोसिस गरे । ‘तिमीहरूको बारेमा सबै कुरा त्यो नन्देले हामीसित भनिसकेको छ’ भन्दै ‘झुठो बोल्छस् साला’ भनेर हप्काउँछन् र त्यहाँबाट हिडाल्छन् । त्यसपछि सल्यानकै जयतपानी बजारको डाँडामा लगेर पुनः केरकार गर्छन् । त्यहाँका स्थानीय वासिन्दाहरू हामीलाई देखेपछि बोल्न नसकेर मौन रहँदै एकोहोरो हेरिमात्रै रहे । त्यहाँ पनि हामीले पुरानै जवाफ फर्काएपछि ‘लातको भूत बातले मान्दैन’ भन्दै सिमखर्क ब्यारेकतिर ओह«ालो झारे ।
बेलुकाको साढेसात बजेको हुँदो हो । सल्यान खलङ्गा–कुपिण्डेदह सडकखण्डमा रहेको सिमखर्क ब्यारेकको मूल गेटमा आइपुगेपछि हामी दुबैको आँखामा टालोले पट्टी बाँधियो । अँध्यारो निशाचरसँगै हाम्रा आँखा पनि बन्द भए । त्यसपछि हामी दुबैलाई दुदुई जनाले दुई पाखुरामा समातेर खाल्टोमा हाल्दै झिक्दै गरेर एउटा घरको आँगनमा पु¥याएर उभ्याए । त्यहाँ हामीलाई भकुण्डोझैँ लात्ताले हान्दै एताबाट उता र उताबाट अर्कोतिर गर्दै पूmटबल बनाए । यो क्रम झण्डै आधा घण्टासम्म चल्यो । यसरी कुटपिटको कार्यक्रम सकिएपछि हाम्रो शरीर खानतलासी गरियो । भएका सम्पूर्ण सामानहरू एकेक गरेर टिप्दै दुईवटा प्लाष्टिकका थैलामा हाम्रो नाम लेखिएका चिर्कटा सहित राखिदिए । त्यहीबेला उनीहरूको कथित मानवअधिकारवादी शेलका केही सिपाहीहरूले ‘हामी मानवअधिकारवादी हौँ, हामीसित डराउनु पर्दैन, तिमीहरूले जेजे गरेका छौ सत्य कुरा भन’ भन्दै हाम्रो तीन पुस्ते नाम, उमेर, ठेगाना, पेसा सहितको सबै विवरण टिपेर राखे । साथै बयानका नाममा पहिलेकै प्रश्नहरू दोहो¥याउँदै केरकार गरे । हामीबाट पनि पहिलेकै जवाफ फर्कियो ।
मलाई डर र त्रास के थियो भने प्रावि ज्यामिरेका प्रअ वाशुदेव शर्मा जो हाम्रो अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष हुनुहुन्थ्यो उहाँलाई २०५९ जेठ महिनादेखि सोही ब्यारेकको सेनाले बेपत्ता बनाएको हुँदा सङ्गठनको पोल खोलिएको छ कि भन्ने सङ्का थियो । तर कमरेड वाशुदेव आपूm सहिद हुनुभएछ सङ्गठनको कुनै पनि पोल खोल्नु भएको रहेनछ । किनकि म त्यतिवेला पार्टीको एरिया कमिटी सदस्य र अखिल नेपाल शिक्षक सङ्गठनको त्यस एरियाको अध्यक्ष थिएँ । मेरै मातहतको कमिटीमा रहेका कमरेड वाशुदेवले पोल खोलेको भए म आज यो संस्मरण लेख्ने स्थानमा रहेको हुने थिएन । केरकारको क्रममा मलाई वाशुदेवको विषयमा सोधिएको थियो तर मैले चिन्दैन भनेपछि त्यस भन्दा अगाडि उहाँको विषयमा कुरा उठाएन । मैले के बुझेँ भने वाशुदेव कमरेडले पोल खोल्नु भएको छैन, अब म डराउनु हुँदैन । कुनै कुरा पनि स्वीकार्नु हुँदैन भन्दै मुटुलाई अझ स्पातिलो बनाएँ । यो घटनाले मलाई के कुराको अनुभूति गराउँछ भने जनयुद्धका क्रममा तल्लो र अत्यन्तै निम्न वर्गबाट आएका जो जीवनका हरेक मोडहरूसँग पौँठेजोरी खेलेर सङ्घर्षशील बनेका कार्यकर्ता भन्दा मध्यम र उच्च वर्गबाट आएका नेताहरू नै गद्दार भएका छन् । प्रचण्ड बाबुराम, बादल लगाएतको ठूलो टीमले जनयुद्धको महान् उँचाइलाई धूलिसात पार्दै तथ्य र कारण सहित आफैँले प्रतिक्रियावादी घोषित गरेको एमालेमा पतन हुनु र अहिले राष्ट्रघाती एमसिसि पास गर्न अनेकौँ षड्यन्त्र गर्नुले त्यही कुराको पुष्टि हुन्छ । साथै जनयुद्धका क्रममा पनि यही उच्च र मध्यम वर्गबाट आएका नेताहरूले आत्मसमर्पण गरेका, पलाएन भएका र पोल खोलेर ठूला ठूला क्षति गराएका थुप्रै उदाहरण भेटिन्छन् ।
ती मानवअधिकारवादी हौँ भन्नेहरूलाई मेरो जवाफ थियो – ‘पहिला मप्रति मानवको व्यवहार गरियोस् । मेरा हात बाँधिएका छन्, आँखामा पट्टी बाँधेर अन्धो बनाइएको छ, यातनाको कारणले नाक र कानबाट रगत बगिरहेको अवस्थामा म कसरी बयान दिन सक्छु ?’ त्यसपछि मेरा हात खोलियो । आँखा खोलियो । मेडिकल टोलीलाई बोलाएर डे«सिङ गरियो र औषधीका नाममा हाइडोजको ब्रुसेट खुवाइयो । अनि भित्र छुट्टै कोठामा लगेर बयान लिने काम गरियो । बयानका क्रममा १) आपूm माओवादी नभएको, २) गरिबीका करणले घरबाट जिल्ला बाहिर गएर शिक्षण पेशामा सङ्लग्न भएको, ३) माओवादीलाई मासिक रूपमा एकदिनको तलव लेवीका रूपमा तिर्ने गरेको, ४) माओवादीहरू गाउँमा र डेरामा आउँदा खाना खान दिन वाध्य भएको भन्ने कुरा स्वीकार गरियो ।
राती भइसकेको थियो । मलाई र टीका सरलाई अलग गरेर राखियो । खाना खान दिइयो । खाना खाइसकेपछि हातखुट्टा बाँधेर र आँखामा पट्टी बाँधेर अलग अलग कोठामा चिसो भुइँमा लडाइदिए । यो सबै घटनाक्रम हामीलाई गिरफ्तार गरेको दिन असोज सात गतेको थियो ।
दोस्रोदिन, असोज आठ ।
बिहान हामीलाई थुनिएको कोठाबाट बाहिर निकालियो । नित्यकर्मका लागि हातखुट्टा खोलियो । त्यहीबेला हामी थुनिएको कोठाका कुरुवाहरूले हामीलाई चिनेछन् । र, उनीहरूले ‘ए ! माओवादीलाई ल्या’छौँ भन्थे, यी त स्वँराका मास्टरलाई पो ल्या’का रहेछन्’ भन्दै कुरा गरेको सुनियो । उनीहरूको व्यवहार हामीप्रति सकारात्मक रह्यो । तिनीहरूको नाम रण र बल रहेछ । किनकि उनीहरूलाई ए रणे, ए बले भनेर बोलाइन्थ्यो । ती दुई सेनाका जवानले हामीलाई त्यस व्यारेकमा रहँदासम्म ठूलो सहयोग गरे ।
खाना खाइसकेपछि हामीलाई आँखामा पट्टी र हात बाँधिएको अवस्थामा खाल्टामा हाल्दै झिक्दै, डो¥याउँदै सिमखर्क व्यारेकको सबै भन्दा अग्लो डाँडामा लगियो । मलाई अलिक टाढा राखेर टीकाराम ज्ञवालीलाई बयान लिन थालियो । उहाँलाई केके सोधियो र केकति यातना दिइयो थाहा हुँदैनथ्यो । रोएको र चिच्याएको आवाज मात्रै सुनिन्थ्यो । म त हिमालझैँ अटल भएको थिएँ । एक थोपा पनि आँशु झारिन । अश्लील भाषामा गालि गर्नु, तथानामाका बेप्रसङ्गका प्रश्न सोध्नु, गरुढपुराणमा बर्णित शारीरिक र मानिसिक यातना दिनु, साही जल्लादहरूको नियमित कर्म थियो । यो क्रम आठ गतेदेखि सोह« गतेसम्म निरन्तर यथावत रूपमा चल्यो ।
सत्र गते असोज ।
पुनः उसै गरी, उही क्रियाद्वारा, त्यही डाँडामा उकालियो । खाल्टोमा हालियो र उभ्याएर राखियो । त्यसपछि खाल्टोमा माटो भर्दै हाम्रो शरीरको कम्मरसम्म माटोले पुरियो । अनि एकेक फायर गोली चलाइयो । ‘अपराधीहरूलाई गोली पनि लाग्दैन यार’ भन्दै ‘ल तिम्रो अन्तिम इच्छा के छ ?’ भनि सोधियो । टीकाजीले दिएको जवाफ त मैले सुन्न पाएन । मैले भने ‘म मरेपछि मेरो लासमा आतङ्ककारीको विल्ला नभिराइयोस् ।’ मेरो कुरा सुनेर जल्लादहरू खित्का छोडेर हाँसे । ‘मास्टर हो, कुरा गर्न जान्या छ’ भन्दै मजाक गर्न थाले । त्यही समयमा आकासमा हेलिकोप्टर उडेको आवाज सुनियो । कसैले ठूलो आवाजमा ‘चरो आयो चरो आयो । निकाल तेरा बाहरूलाई । निकाल र लुका तेरा बाहरूलाई’ भनेको आवाज सुनियो । त्यसपछि मलाई चार जनाले कम्मर र काखीमा समातेर खाल्टोबाट ताने । अनि कोठाभित्र लगे । हामीले पछि तिनै रणे बलेबाट थाहा पायौँ कि त्यो चरो भनिएको हेलिकोप्टरमा करसाव र अन्य केही मानिस आएका रहेछन् । त्यसैदिन राती रणे र बलेबाट थाहा भयो कि त्यस व्यारेकमा ल्याइएका बन्दीहरू मध्य पहिलो पटक भोलीपल्ट हामी छुट्दै थियौँ । ‘बधाई छ मास्टर तिमीहरूलाई । देशले दुःख पा’छ । तिमीहरूले दुःख पायौ । यो दुःखलाई पछि बिर्सनु’ भन्दै हामीलाई सम्झाए । उनीहरू दुबैले हामीलाई आठ गते विहान चिनेदेखि सम्झाउने, राती सुत्नेबेला हातखुट्टा खोलिदिने, साहस बटुल्न प्रेरणा दिने काम गरिरहेका थिए । उनीहरूकै मुखबाट तिमीहरू छुट्दै छौ भनेको सुन्दा मभन्दा ती दुईजना बढी खुसी देखिन्थे । सायद वर्गीय चरित्र बुझेका, पारिवारिक वाध्यताले सेना बन्न गएका शोषित पीडित जनताका छोराहरू थिए, रणे र बले ।
अठार गते बिहान हामीलाई यथाअवस्थामै त्यही डाँडामा उकालियो । बाह« दिनपछि हामी दुबैलाई एकै ठाउँमा राखियो । तथापि हामी बोलचाल भने गरेका छैनौँ । तर त्यस दिन हामीलाई अनौठो लागेको थियो । कतै रणे र बलेले अघिल्लो रात भनेको कुरो सत्यापित त हुँदै छैन ?! के हामी आज यो काल कोठरीबाट छुट्दै छौँ त ? मनमा अनेकौँ तर्कनाहरू खेलिरहे । न कसैले सोधपुछ गर्छ । न त कसैले यातना नै दिन्छ । व्यारेकमा ल्याएदेखिन दिनहुँ यसै डाँडामा ल्याएर शारीरिक र मानसिक यातना खेप्नु हाम्रो खुराक थियो । आज त्यो खुराक नपाउँदा हामी भोकै हुन्छौँ कि जस्तो भान हुन्थ्यो ।
सिमखकैको डाँडामा बादल लाख्छ । एक्कासी चिसो बढ्छ । केहीबेरमा घाम लाग्छ र प्रचण्ड गर्मीले पोल्छ । यसरी जाडो र गर्मी खेपिरहेका हामी दुई शिक्षकहरूलाई बेलुका तीन बजेतिर ढाला नभएको पिकअप भ्यानमा चढाइयो । झण्डै दुई घण्टाको पट्यारलाग्दो समयमा हामीलाई कार्टून बनाइरहे जल्लादहरूले । एउटा सेना आउँछ, ‘किन खुसी भा’छस् अनुहार बिगार मा… साला’ भन्छ । अर्को आउँछ र फेरि ‘ए, मा…साला किन अनुहार बिगा¥याछस् ? छुट्दैछस् खुसी हुनु पर्दैन’ भन्छ । यो आदेश दुई घण्टासम्म निरन्तर चलिरह्यो । हामी ‘जसो जसो बाहुन बाजे उसै उसै स्वाहा’ गरिरह्यौँ । नगरौँ यमराजका दूतहरूको कब्जामा छौँ । हामीलाई लागिरहेको छ कि हामीले यतिखेर गरुढपुराणको कथाका प्रत्यक्ष पात्र बनिरहेका छौँ । यो आदेश र पालनाको द्वन्द्वपछि गाडि अगाडि बढ्यो । गेटमा पुगेपछि आँखाको पट्टी खोलियो र हामीले चर्मचक्षुले प्रकृतिको दृश्यावलोकन गर्न पायौँ । त्यसपछि गाडि व्यारेकबाट जिल्ला प्रशासन कार्यालय सल्यान खलङ्गामा आएर घच्याक्क रोकियो । कुपिण्डेदहको स्वाँरा गाउँमा बाँधिएका हाम्रा हातहरू बाह« दिनपछि खोलिए । त्यसपछि एउटा तारेखमा आउने आदेशको कागजमा सही गर्न लगाएर जिल्ला शिक्षा कार्यालयमा रहेका मेरा भाञ्जा गणेश न्युरेलाई जिम्मा लगाइयो र मुक्त गरियो । हामीलाई यमराजको नर्कबाट मत्र्यलोकमा फर्काइएको महसुस् भयो ।
बेलुका खलङ्गाको एक होटेलमा बसियो । कसैले पनि हामीसित कुरा गर्न चाहँदैनन् । मानौँ हामीसँग कुरा गर्दा अहिलेको कोरोना सर्छ जस्तो गरियो । यतिसम्म कि होटेल साउजीसमेत हामीसित नबोली नबोली खाना खुवाए र सुताए । खाना र सुतेको पैसापनि लिएनन् । उन्नाइस गते बिहानै त्यही सिमखर्क व्यारेको गेट हुँदै हामी अगाडि बढ्यौँ । गेटमा ड्युटीमा बसेका सेनाले सोधपुछ गरेर छोडेपछि हामी जयतपानी बजारमा पुग्यौँ । त्यस बजारका व्यापारीहरूले हामीलाई भव्य स्वागत गरे । त्यहाँ पुगेपछि मात्र हामीलाई थाहा भयो, असोज सात गते हामीलाई पकड्नु अगडिको राइफलको तीन फायरले नन्दलाल डाँगीलाई हामीबाट सँधैको लागि बिछोड गराएको रहेछ । हामी स्तब्ध र मर्माहत भयौँ । जनयुद्धका महान् सहिद नन्दलाल डाँगीप्रति आज १९औँ स्मृतिका सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली अर्पण सहित लाल सलाम गर्दै आसोज सातको कालो दिनको स्मरणको बिट मार्दछु ।

३० भदौ, २०७७, तुलसीपुर

You might also like
Loading...