दाउन्नेमा पहिरोले बस पुरिंदा एकको मृत्यु, १७ घाइते


  • रामकुमार श्रेष्ठ –



नवलपरासी, ८ असोज । पूर्वी नवलपरासीको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा खसेको पहिरोमा एउटा बस पुरिंदा बसमा सवार एक जनाको निधन भएको छ ।
पहिरामा परी १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।
पूर्वबाट पश्च्मि जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार १८ जना घाइते भएका थिए । घाइते मध्ये पश्चिम रुकुमको आठविसकोठ गाउँपालिका १० बस्ने २५ बर्षको हरिषचन्द केसीको विहीबार राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।




दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपलिका निवासी २७ बर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ ।
अवरुद्ध सडक अझै खुलेको छैन । घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
त्यसैगरी गैडाकोट १० सशस्त्र प्रहरी वेश क्याम्प अगाडि पूर्वपश्चिम लोकमार्गको किनारमा सालको रुख ढल्दा उक्त क्षेत्रमा करिब १ घण्टा सडक अवरुद्ध भएको थियो ।




सम्बन्धित
Loading...