आईपीएल : पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित





काठमाडौँ– किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग–आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

गएराति खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।




बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३/३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे । उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने ।

यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे । बैंगलोरका शिबम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए ।जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । बैंगलोरको यो पहिलो हार हो । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो ।

बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज चेन्नई र दिल्ली भिड्नेछन् ।




सम्बन्धित
Loading...