छुट्टाछुट्टै घटनामा मकवानपुरमा ७ जनाको मृत्यु


मकवानपुरमा विभिन्न घटनामा शनिबार सात जनाको मृत्यु भएको छ । शनिबार हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने रेबिजका कारण ५९ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ।




यस्तै खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा थप दुई जनाको मृत्यु भएको छ।




मकवानपुरको कैलाशमा खोलाले बगाउँदा ३८ वर्षीय धावा स्याङ्तान, भीमफेदीमा राप्ती खोलाले बगाउँदा वीरगञ्ज घरभई हेटौंडा बस्ने १८ वर्षीया किशोरी प्रियका सोनी र हेटौंडा १९ को ज्यामिरे खोलालले बगाउँदा पहिचान नखुलेकी अन्दाजी ४०-४५ वर्षकी एक महिलाको ज्यान गएको हो।

शनिबारै मकवानपुरको मकवानपुरगढी दरबार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा अर्का एक जनाको मृत्यु भएको छ।

गढी दुर्घटनामा ४६ वर्षीय भरत पुडासैनी र मनहरी दुर्घटनामा बारा रतनपरीका सूर्य स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार दुवै घटनामा दुई जना गम्भीर घाइते भएका छन्। (रासस)




सम्बन्धित
Loading...