रजहरको अस्पताललाई ७ थान अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग





नवलपरासी । रहजरको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई सहमति गैडाकोटले ७ थान अस्पताल वेड र स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि आधुनिक ७ थान अस्पताल वेड सहित २ लाख ४१ हजार ३ सय ९४ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको सहमतिका अध्यक्ष करुणसागर सुवेदीले जानकारी दिए ।
लुथरनको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य तथा जीविकोपार्जन सहयोग परियोजना अन्तर्गत ७ थान अस्पताल बेड, ६ थान अक्सिजन सहितको सिलिण्डर र ६ थान अक्सिजन कनेक्सन सेट प्रदान गरिएको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराइले चिकित्सालयका अध्यक्ष सन्तवहाुदर क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा बोल्दै भट्टराइले संक्रमित निको पार्न रजहरले उत्कृष्ट कार्य गरिरहेको भन्दै नेपालकै उत्कृष्ट आइसोलेसनको पहिचानलाई थप उचाईमा पुर्याउन र इमरजेन्सी कक्षका लागि अत्यन्त आवश्यक सामाग्री सहयोग गरेकोमा आभार व्यक्त गरे । सहमति गैंडाकोटका अध्यक्ष करुणसागर सुवेदीले मानवीय सेवामा सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरकी उपप्रमुख शारदा विश्वकर्मा, चिकित्सालयका निर्देशक डा विनोद पौडेल, देवचुली १६ का वडाअध्यक्ष केशरबहादुर क्षेत्री, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम सहमति संस्थाका पूर्व अध्यक्ष भिमप्रसाद शर्मा, सहमतिका पूर्व अध्यक्षहरु होमनाथ सुवेदी, रत्न प्रसाद सापकोटा, कोषाध्यक्ष वेदप्रसाद पौडेल, कार्यसमिति सदस्य दयासागर सुवेदी, चिकित्सालयका व्यवस्थापक हरि सापकोटा लगायतले बोलेका थिए ।
रहजरमा आजसम्म ५ सय २७ जना संक्रमित उपचार पछि निको भएर फर्किएका छन् भने अहिले २ जना इमरजेन्सी कक्षमा सहित ८२ जना संक्रमितहरु उपचाररत रहेका छन् भने विहीबारसम्ममा थप संक्रमितहरु निको भएर फर्कने जनाइएको छ ।




सम्बन्धित
Loading...