महेशपुर भन्सारमा हालसम्म ९ करोड ६८ लाख राजस्व संकलन


नवलपरासी । जिल्लाको महेशपुर मुल भन्सारले गत चैत्र महिनामा १ करोड ५० लाख राजस्व संकलन गरेको छ । विगत केही महिनामा राजस्व घटे पनि पछिल्लो ३ महिना देखी राजस्व संकलनमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको हो ।
गत असोज महिना देखी मुल भन्सारको रुपमा सञ्चालन भएको भन्सारले पहिलो महिनामा ९८ लाख राजस्व संकलन गरेको थियो । विचमा भन्सार राजस्व घटेर कार्तिकमा ६० लाख,मंसिरमा ४२ लाखसम्म झरेको थियो ।




राजस्व किन घटेको भन्दै राष्ट्रिय सभा सदस्य साँसद रामलखन हरिजनले सदनमै राजस्व घट्नुको कारण माग गरेका थिए । अहिले फागुन महिना देखी निरन्तर राजस्व संकलन बढदै गएको भन्सार कार्यालयले जनाएको छ । फागुनमा १ करोड ४८ लाख भन्सार उठेको थियो, भन्सारका सुचना अधिकारी संजिव कुमार कर्णले भने,अगामी दिनमा भन्सार संकलन दर वृद्धि गर्दै लैजाने लक्ष्य रहेको छ । चालु आर्थिक बर्षको हालसम्म ९ करोड ६८ लाख राजस्व संकलन भएको छ । यो आर्थिक बर्ष भित्र १५ करोड राजस्व उठाउने लक्ष्य राखिएको थियो । विचमा केही आन्तरिक समस्याले राजस्व संकलनमा कमि भएको थियो । अहिले मासिक लक्ष्य भन्दा बढि संकलन भई रहेको छ ।

आर्थिक बर्षको अन्तिमसम्ममा लक्ष्य अनुसार भन्सार संकलन हुने उनको दाबी थियो ।
भन्सार हुनेमा धेरै जसो कोईला,भुस,गहुँ तथा केही लता कपडाको आयात भएर राजस्व उठेको छ । अझै पनि खुल्ला सिमा भएका कारण राजस्व छलेर तस्करी हुने गरेको छ । तस्करी नियन्त्रणमा आपेक्षित प्रहरीबाट सहयोग नहुदा केही कठिनाई भईरहेको भन्सारका कर्मचारीले बताएका छन् । प्रहरीको सेटिगँमा तस्करी हुने गर्दा राजस्व संकलनमा केही समस्या देखिएको छ, भन्सारका आर्का कर्मचारीले भने, प्रहरीले चाहेन भने एउटा सियो पनि सिमाबाट चोरी तस्करी हुदैन,तर त्यस्तो प्रहरीबाट भएको छैन् । अहिले नेपाली बजारमा छ्याप्छ्याप्ती कढाई सुट र साडी विक्रि भई रहेका छन् । तर त्यसको भन्सार गराउन आएका छैनन् । अखिर कसरी भारतबाट नेपाली बजारमा ति कढाई साढी र सुट झिरेका होलान ? प्रश्न गर्दै उनले भने, भन्सार कर्मचारी बाहिर निस्कने वित्तिकै नजिकैका प्रहरीले तस्करलाई सुचना पुर्याईदिने गर्छन् । जस्ले गर्दा भन्सार कर्मचारीहरु तस्कर फेला पार्न सकेका छैनन् ।
उनका अनुसार क्वारेन्टाईनका कर्मचारीले क्वारेन्टाईन चेक गरि भन्सारमा नपठाईदिने हुदा भारतबाट पाडा,राँगा,भैसी लगातयका गाईबस्तुहरु चराउदै खुल्ला सिमाबाट नेपाली भुमि भित्र छिर्ने हुदा त्यो क्षेत्रबाट पनि भन्सार राजस्व गुम्ने गरेको छ । क्वारेन्टाईनकै कारण मासिक पाँच लाख राजस्व गम्ने गरेको अनुमान भन्सार कर्मचारीको रहेको छ ।




त्यसै गरि भन्सार गराएर जाने ब्यपारीबाट पाल्हीनन्दन गाउपालिकाले गैरकानुनी रुपमा असुल्दै आएको पैठारी शुल्कका कारण पनि केही ब्यपारी महेशपुर नाका प्रयोग नगर्ने गर्दा राजस्व संकलनमा समस्या देखिएको छ । गाउपालिकाले बैरियर राखेर गाडीबाट शुल्क उठाउने ठेक्का लगाएको छ । दोहरो कर लिईन पाईदैन,तर भन्सार बुझाएर जाने गाडीधनीबाट १ हजार देखी डेढ हजार रकम असुल्ने र दुब्र्यहार समेत गर्ने गर्दा ब्यपारीले सुनौली नाका सुविधाजनक मान्ने वा चोरीको बाटो अपनाउने गरेका छन् ।
स्थानिय तह र प्रहरीले सहयोग गरिदिएमा अझै लक्ष्य भन्दा बढि राजस्व उठाउन सकिने दाबी भन्सार कर्मचारीहरुको रहेको छ । भारतिय भन्सारका कारण पनि केही जटिलता आउने गरेको उनिहरुको भनाई रहेको छ । भारतिय भन्सार कर्मचारीले यो नाका प्रयोग गरेर आउने ब्यपारीबाट अबैध रकम असुल गरिदिईने र सिमावर्ति बजारका ब्यपारीहरुले डिएसटी तिर्नु नपरोस भनि वास्तविक मुल्यको बिल काट्दा पनि विलको आधारमा मुल्याँकन कम आउने र भन्सार कम उठ्ने गरेको पनि कारण रहेको छ । यि सबै जटिलता,समस्या र कारणको निदानका लागि भन्सार विभाग,स्थानिय प्रशासन र जनप्रतिनिधिले समेत चाँसो लिएर पहल गर्नु पर्ने उनले औल्याएका थिए ।




सम्बन्धित
Loading...