गाउँपालिका अध्यक्षलाई कारबाही गर्न मुख्य मन्त्रीसँग माग


कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमलाई कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका १० जना जिल्ला कमिटी सदस्यहरूले माग गरेका छन् । गाउँपालिका अध्यक्ष बमले स्थानीय सरकार संचालनमा मनोमानी गरेको भन्दै पलाँता गाउँपालिकाबाट नेकपाको जिल्ला कमिटीमा रहेका १० जनाले मुख्य मन्त्रीसँग माग गरेका हुन् ।




गाउँपालिका अध्यक्षलाई कारबाहीको माग गर्दै पलाँता गाउँपालिकाका १० जना जिल्ला कमिटी सदस्यहरूले आइतबारदेखि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकक्षमा धाउने गरेका छन् ।

गाउँपालिका अध्यक्ष बमले स्थानीय सरकार सञ्चालनमा अनियमिता गरेको र पार्टीको निर्देशनविपरीत काम गरेकाले नेकपाका कालिकोट जिल्ला इन्चार्जसमेत रहेका मुख्यमन्त्री शाहीसँग कारबाहीको माग गर्दै आएका हुन् ।




पलाँता गाउँपालिकामा नेकपाको कालिकोट जिल्ला कमिटीमा गाउँपालिकाका अध्यक्ष बमसहित ११ जना जनाले प्रतिनिधित्व गर्ने र त्यसमध्ये १० जनाले अध्यक्ष बमलाई कारबाहीको माग गरेको नेकपा कालिकोट जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष बमलाई कारबाहीका लागि मुख्य मन्त्री कार्यालय पुगेका १० जिल्ला कमिटी सदस्यले गाउँपालिकाका अध्यक्ष बमलाई कारबाही नभएर जिल्ला नफर्कने अडान लिँदै आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीको सचिवालयका अनुसार गाउँपालिकाका अध्यक्ष बमका कारणले सिंगो पार्टी बदनाम हुँदै गएको र स्थानीय सरकार सञ्चालनमा मनोमानी गरेको जिल्ला समितिका सदस्यहरूको भनाइ छ ।

गाउँपालिका विषयमा केही मतभेद भएको त्यस विषयमा जिल्ला समितिका सदस्यहरूलाई मुख्य मन्त्री शाही जिल्ला इन्चार्ज भएका कारणले विवाद मिलाउन सुर्खेत बोलाएको नेकपा पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए । ‘मुख्यमन्त्री कालिकोट जिल्लाको पार्टीको इन्चार्ज पनि हो ।’ उनले भने, ‘स्थानीय पार्टीको विवाद रहेका कारणले समधानका लागि सुर्खेत बोलाउनुभएको हो ।’

गाउँपालिका अध्यक्ष बमलाई आफ्नो डोजर स्थानीय विकास निर्माणमा प्रयोग गरेको, आफ्नै घरमा गाउँपालिका कार्यालय राखेको चर्को भाडा असुलेको, आफन्तलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने गरेको, गाउँपालिका अध्यक्ष भएपछि अकुत सम्पत्ति जोडेको जस्ता दर्जनौं आरोप लाग्दै आएका छन् ।




सम्बन्धित
Loading...