गाडीमा यात्रु उभ्याउन नपाइने


सरकारले साना तथा लामो दुरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन बन्देज गर्ने तयारी थालेको छ।




यो कुरा यातायात व्यवस्था ऐनमा पहिल्यै व्यवस्था भएको र त्यसलाई कार्यान्वयनमा मात्र ल्याउन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाालले जानकारी दिए।

‘माइक्रो, तिनपांग्रे र लामो दुरीको सवारी साधनमा यात्रुलाई उभ्याउनै पाइँदैन। यो विषयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसगँ छलफल गरेर सूचना जारी गर्छौ। त्यसको १०/१५ दिन जनचेतनामूलक कार्यक्रम गरेर मात्र अटेरी गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ,’हमालले सेतोपाटीसगँ भने।




त्यस्तै शहरमा गुड्ने ठुला सार्वजनिक यातायातमा भने त्यो नियम लागु नहुने उनले जानकारी दिए।

‘अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भनेपनि बृद्ध र अपांग बाहेक सिटी बसमा उभिएरै यात्रा गर्ने चलन छ। हामी कति सिट भएको बसमा कति जनासम्म उभिन मिल्छ भनेर अध्यन गरेर सिटी बसमा पनि यात्रु संख्या निर्धारण गर्छौ,’ हमालले भने।

सरकारले यस्ता काम गर्दा सरोकारवाला निकायसगँ छलफल गरेर, त्यसमा आउन सक्ने समस्याको समाधान खोजेपछि मात्र निणर्य गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौला बताउछन्।

‘जाम नहुँदा ६/७ टिप गर्न सक्ने गाडीले जाम हुँदा ३/४ टिप मात्र गर्न सक्छ। गाडीको खर्च उठाउन पनि व्यवसायीले यात्रु कोच्न बाध्य भएका हुन्,’ उनले भने ‘यदी भौतिक संरचना राम्रो हुने हो भने यो नियमले हामीलाई केही फरक पार्दैन तर समस्याको समाधान नगरी नियम लागु गर्ने हो भने समस्या झन बढ्न सक्छ।’

जाम हटाउने सन्दर्भमा सम्बन्धित निकायसगँ छलफल भइरहेको र केही स्थानका काम समेत सुरु भइसकेको हमालले बताए।

‘जाम हुने समय मध्य ३० देखि ३५ प्रतिशत हिस्सा पैदल यात्रु सडक क्रस गर्दा जान्छ। यो मात्र हटाउन सकियो भने पनि जाम धेरै कम हुन्छ,’ उनले भने ‘सरकारले विभिन्न ठाउँमा आकाशे पुल लगाएतको संरचना बनाउँदै छ। त्यस्तै अरु बैकल्पिक समाधानको पनि कुरा चलिरहेको छ। यो समस्या क्रमिक रुपमा हल हुँदै जान्छ।’




सम्बन्धित
Loading...