बालुवाटारमा भएको छलफलमा २ साता लकडाउन गर्न बिज्ञहरुको सुझाब


काठमाडौं, साउन २० – लकडाउन खुलेसँगै कोरोना संक्रमणको दर बढ्न थालेपछि विज्ञहरुले पुनः दुई हप्ता लकडाउन गरेर नियन्त्रणका उपाय प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई सुझाएका छन् ।




यसअघि सरकारले कोरोना विस्तार रोक्न भन्दै चैत ११ गतेबाट १२० दिन लकडाउन गरेको थियो ।

मंगलबार प्रधानमन्त्री ओलीले विज्ञ र प्रतिपक्षी दलका नेताहरुसँग आफ्नो सरकारी निवास बालुवाटारमा परामर्श गरेका थिए । सोही क्रममा विज्ञहरुले दुई साता लकडाउन गरेर नियन्त्रणका उपायलाई प्रभावकारी बनाउन सुझाएको परामर्शमा सहभागी जनसमाजवादी पार्टीका नेता महन्थ ठाकुरले बताएका छन् । ठाकुर स्वयंले पनि लकडाउनमा जान प्रधानमन्त्रीलाई सुझाएको बताए ।




पुनः लकडाउन गर्ने विकल्पमा प्रधानमन्त्री ओली सकारात्मक रहेको ठाकुरले जानकारी दिए । परामर्शमा सहभागी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था हेरेर लकडाउन गर्ने वा नगर्ने निर्णय लिन सुझाएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

साउन ७ गतेबाट लकडाउन हटेसँगै कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्नुपर्ने बाध्यता आउने चेतावनी दिँदै आएको छ ।

सोमबार पनि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमणको गति यही रफ्तारमा कायम रहे फेरि लकाउन गर्नुपर्ने चेतावनी दिएका थिए । लकडाउनको अन्तिम सातातिर कम हुँदै गएको संक्रमित थपिने दर लकडाउन खुलेसँगै बढेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भनेका थिए, ‘यसैगरी फैलिँदै गए फेरि ठाउँठाउँमा बन्दाबन्दी गर्नुपर्ने हुन सक्छ । त्यसैले सुरक्षा उपाय सबैले अपनाऊँ ।’

लकडाउन खुलेपछि काठमाडौं, विराटनगर, वीरगन्ज, नेपालगन्ज जस्ता ठूला सहरमा चहपलपहल निकै बढेको र संक्रमण फैलिने जोखिम बढिरहेको तथ्यांकले देखाउँछ ।




सम्बन्धित
Loading...