सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव फेला, २४ जना बेपत्ता, सभामुख सापकोटा घटनास्थलतर्फ प्रस्थान


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।




नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पाको शव पहिचान भएको छ । भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डीएसपी) प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।

पहिरोमा परेर नेवारटोलका २ जनाको ज्यान गएको छ । सो ठाउँका ६० वर्षीय सर्किनी नेवार र ६५ वर्षीय धनलाल नेवारको शव फेला परेको छ । पहिरोका कारण २४ जना बेपत्ता भएको डिएसपी सापकोटाले बताए ।


१८ घर पुरिए, सभामुख सापकोटा घटनास्थलतर्फ प्रस्थान

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् । गत राति आएको पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ । खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

पहिरो प्रभावितलाई भेट्न सोही क्षेत्रका संघीय सांसद समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।




सम्बन्धित
Loading...