नवलपुरका हाटबजार खुल्न थालेः नगरपालिका भन्छ – खुल्न दिँदैनौं
कोरोना संक्रमणको जोखिमका कारण ७ महिनादेखि बन्द रहेका पूर्वी नवलपरासीका हाटबजारहरु खुल्न थालेका छन् ।
संक्रमणको जोखिमकाबीच अन्य क्षेत्रहरु खुल्ला गरिएपछि सानो लगानीका हाटबजार ब्यवसायीहरुले पनि बजार खोल्न थालेका हुन् ।
पूर्वी नवलपरासीको दुम्किबासदेखि भेडाबारीसम्म लाग्दै आएको साप्ताहिक हाटबजार गत चैत ११ गतेदेखि बन्द रहेका थिए । स्थानीय बजार क्षेत्रका ब्यापारीले अन्य ठाउँमा नजाने गरी पालो मिलाएर बजार खोलिएको बताएका छन् । दशैंलाई मध्यनजर गरि स्वास्थ्य मापदण्डका उपाए अपनाएर हाटबजार खोलेको कृषी उपज थोक बजार व्यवस्थापन समिती कावासोतीका अध्यक्ष लेखनाथ बस्यालले बताउनु भयो ।
https://www.youtube.com/watch?v=zuhjCTK3Mf4&t=175s
त्यस्तै हाटबजार खोलिएता पनि किनमेल गर्न आउने ग्राहक नपाउँदा भने ब्यापारीहरु चिन्तित बनेका छन् । घर तथा सटरमा राखिएका ब्यापार भन्दा साप्ताहिक रुपमा लाग्ने यस्ता हाटबजारहरुमा सबै चिज एकै ठाउँमा र सुलभ पाइने भन्दै उपभोक्ताहरु किनमेलका लागि बढी आउने गर्दछन् । तर कोरोना संक्रमणका कारण थला परेका ब्यापारीहरु बजार खोलिए पनि ग्राहक नपाएर चिन्तित बनेका छन् ।
यता विद्यालय, हाटबजार क्षेत्रमा मानिसको भिँड अत्याधिक हुने भन्दै खोल्न अनुमति नदिएको कावासोती नगरपालिकाको भनाई रहेको छ । व्यापारीहरुले स्थानिय सरकार संगको समन्यमा हाटबजार खोलिएको भनिरहदा भने कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले हाटबजार सञ्चालन गर्नेबारेमा आफूले निर्णय नगरेको बताउनुभयो ।