पाउला त कावासोतीका भूमिहिन सुकुम्बासीले लालपूर्जा – भिडियो सहित





पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु गरेको छ ।

नगरपालिका भित्र रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्न लगत संकलन शुरु गरिएको हो । अहिले कावासोतीका ६ हजार बढी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु आफूले बर्र्षैदेखि खनजोत गर्दै आएको जग्गाको लालपूर्जा पाउनेमा आस राख्दै नगरपालिकाले तोकेको फारम भर्न दिनभर लाइनमा लाउने गरेका छन् ।




कावासोती नगरपालिकामा अहिले भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा उपलब्ध गराउनका लागि लगत संकलन कार्य तिब्र पारेको छ ।

झण्डै ६ हजारको हाराहारीमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको नवलपुर जिल्लामा पुसको दोस्रो साताबाट लगत संकलन गरिएकोमा अहिले अन्तिम चरणमा पुगेको छ । लगत संकलन माघ १३ गते सकेर निवेदन माथि छानविन लगायतको प्रक्रिया शुरु गर्ने नगरपालिकाको तयारीको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।

नवलपुरको कावासोती नगरपालिकामा ७० बर्षदेखि जमिन खनजोत गर्दै आएका तर जग्गा धनि प्रमाण पत्र लालपूर्जा पाउन नसकेका धेरै छन् । त्यति मात्र होइन् अव्यवस्थित बसोबासी, भूमिहिन सुकुम्बासीहरु पनि छन् । बर्षौदेखि जमिनमा खनजोत गर्दै आएका तर लालपूर्जा नपाएर कुनै व्यापार व्यवसाय गर्न जग्गा धितो राखेर कर्जा लिन नपाएकाहरुलाई समेत यसले राहत मिल्ने बताउँछन् कावासोती २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेल ।

पटक पटक यस्ता राष्ट्रिय स्तरका आयोग, जिल्ला स्तरका आयोग गठन भएर जग्गा भएका तर लालपूर्जा नभएकालाई लालपूर्जा दिलाउन र जग्गा नभएको सुकुम्बासीहरुलाई जग्गा सहित लालपूर्जा दिलाउन भन्दै धेरै पटक लगत संकलनको काम भए पनि परिणाम भने हात नपरेका कारण कतिपय सेवा ग्राहीहरु अझै जग्गाधनि लालपूर्जा हात परिहाल्छ भन्नेमा भने ठुक्क बस्न सकेका छैनन् ।

सुकुम्बासीलाई जग्गा दिन, बर्षौदेखि खनजोत गर्दै आएकालाई लालपूर्जा उपलब्ध गराउन भन्दै नगरपालिकाले काम थालेको छ । जुन कार्यले पूर्णता पाए यहाँका भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले बर्षौदेखिको आफ्नो घाउँमा मलम लगाउन पाउने थिए । तर अझै पनि सुकुम्बासीको नाममा नक्कली कागज गराएर हुकम्बासीले जग्गा हड्प्ने र वास्तविक सुकुम्बासीहरु फेरि पनि सुकुम्बासी नै रहने हो कि भन्ने आशंका पनि कायमै छ ।




सम्बन्धित
Loading...