चुपचाप चुपचाप गजलसङ्ग्रहमा एक नजर
– सदानन्द अभागी
‘बागियान’ शर्माको नाममा प्रकाशन भएको नवराज शर्माको ‘गुपचुप–गुपचुप’ शीर्षको गजलसंग्रह त मैले अध्ययन गरि सकेको छु । हाल मलाई ’चुपचाप–चुपचाप’ गजलसङ्ग्रह हात लागेको छ । यो ६४ गजलले सुसज्जित छ । प्राय सबै गजल ४ देखि ६ सेरमा सुसज्जित भए पनि ५ सेरका गजलले अधिक स्थान ओगटेका छन् । कुनै गजलमा शीर्षक दिएको छैनभने कुनै गजलमा शीर्षक राखिएको छ । समग्रमा भन्नु पर्दा लेखिएका गजलहरू गजलका सिद्धान्तमा आधारित भएर सिर्जना गरिएका छन् ।
गजल लेखनमा प्रेयसीको गुणगान,विरह वेदनालाई आत्मसात गरेर गजल लेख्ने पुरानो परम्परालाई तोडदै नयाँ परम्परालाई अँगाल्दै आज गजल लेखनले बृहत आकार लिएको छ । गजल लेखनमा क्रान्ति आएको छ भन्न सकिन्छ तापनि अझै पनि गजलमा प्रेयसीको गुनगान, माया प्रीति, विरह वेदना आदिले अग्रस्थान लिएको पाइन्छ । नवराजको यो चुपचाप चुपचाप गजलसङ्ग्रहको प्रथम गजलमा विरह वेदनालाई केलाउँदै जीवनजगतमा त्यसको असर के पर्छ त भन्ने अभिव्यक्तिलाई यसरी प्रष्ट्याएको छ–
जिन्दगीको टेढो कथा लर्वरिन्छ जताततै
दुख्दै गए आँसु सधँै आस्थाको यो पुल दुख्छ
कति तुन्नु तीतामिठा जीवनका कथाव्यथा
प्रभातको किरणसँग विश्वासको भूल दुख्छ ।
गजल एक
‘बागियान’ शर्माका गजलसङ्ग्रहमा जीवन जगतसँग जोडिएका थुप्रै गजलहरू समावेस गरिएका छन् । कतै जीवनयात्रा प्रगतिमा रोकिएको हन्छ , कतै जीवन परिभाषाभित्र अडिन सक्दैन,कतै जीवनयात्रा टुङ्गिदैन, कतै जिन्दगी तीतो–टर्रो लाग्न थाल्छ,, कतै भोग्दाभोग्दै विवश बाढी भएर आउँछ त कतै सुनसान निर्जन खाडी भएर आउँछ जिन्दगी भन्दै जीवन जगतलाई गजलकारले विविध दृष्टिबाट प्रष्ट्याएका छन् । बास्तवमा जीवन के होइन ? यो सबै चिज हो । जीवनका भोगाई मानिसले विविध तरिकाले भोगेका छन् ।
प्रेममा आधारित गजलहरू–
कसैले दीर्घकालिन प्रेमलाई सजाउन खोज्छ, प्राप्त गर्न खोज्छ प्राप्त गर्न सक्दैन भने दिलभित्र घाउ बन्नु स्वभाविक हुन्छ । प्रेम भनेको एकोहोरो हुँदैन दोहोर प्रेम नै सफलताको कडी हो । यहाँ एक प्रेमीले प्रेमीकाको मन पगाल्न खोज्छ तर सक्दैन,सम्झनाले दिनरात एक समान भएको अनुभूति गर्छ । सत्य र साँचो मायाको चाहना राख्दै ऊ भन्छ –
तिम्रो रुप घाम–जूनको चारैतिर देख्न थालेँ
सत्य साँचो माया पाए जुँगामाथि ताउ मेरो
गजल चार
प्रेममा के हुँदैन, हत्या हिंसा, त्याग तपस्या, प्रेमको आदान.प्रदान,आदि आदि । यी सबैलाई केलाउँदै हर्दा ‘वागिया’का गजलमा शिष्टता, नम्रता, दिलभरि प्रेम, वैगुनी भए पनि प्रेमिकामा भएको गुन आदि भावनाले सजिएका छन् उनका प्रेम प्रसङ्गहरू ।
स्वाभीमानको खोजी –
मानिसलाई आस्था र विश्वासले पुलको काम गर्छ । रातभित्र दिन खोज्नु प्रयत्नशीद हुनु हो तर यो साँचो हो कि रातपछि भने दिन हुन्छ । जीवन यात्रामा मानिसले अन्धकारलाई चिर्न सक्नु पर्छ र प्रकाश मय हुनु पर्छ तर अन्धकारको चाहाना राख्नेबाट बत्तीको खोजी गर्न सकिदैन भन्दै गजलार भन्छन् –
अन्धताका पुजारीले दीप किन जलाउँथे
हिजोसम्म धतुरो जो आज उही फूल भयो ।
दुई
आजको अवस्थामा स्वाभीमान नारामा सीमित छ,बोत्तल अघिसर्दा , भाइचारा हराउँछ, विश्वास घात पलाउँछ, तर स्वाभिमानी शिरहरु उठ्यो भने यर्थाथमा जीर्ण पर्खाल ढल्न सक्ने, अन्याय न्यायमा परिणत हुनु पर्ने, समाजमा सबैले न्याय पाउनुपर्ने तर न्याय पाउन त्यति सहज देखिदैन किनकी सानोलाई ऐन, ठूलोलाई चैन भएका अवस्थामा न्याय सर्ब सुलभ हुन सक्दैन । सामाजिक परिवेशमा सत्यताको खोजी हुन्छ र हरेक क्षण सत्यता नै मानिसको महत्वपूर्ण सम्पत्ति हो । जव यस्तो अमूल्य सम्पत्ति तव फिका तथा निरसिलो बन्छ जब समाजको बाचा बन्धन जालमा परिणत हुन्छ र प्रकाशिलो पूर्णिमाको जून पनि औंसी जस्तै अनुभूति हुन्छ त्यतिवेला समाजको बाचा बन्धन सबै जाली हुन जान्छ । गजलकारले यस्ता थुप्रै धारणाहरू गजलमा पस्केका छन् ।
द्रव्यमुखी संसार –
आजको संसारमा मानिसले सबै चिज छाडेको छ । दाम नै सबै चीज हो भन्ने ठानेको छ । धनको कारणले जल्लादको निवास स्थान धाममा परिणत भएको छ र रावण पनि राममा परिणत भएको परिवर्तनलाई गजलकारले यसरी पस्केका छन् –
अस्तिसम्म रावणसँग दाँजिएको उही
एकाएक आज त्रेतायुगको राम भयो
गजल छ
जब मानिस धनी बन्दै जान्छ तव उसले आफ्नो विगता बिर्सन्छ । झुप्राबाट महलमा र गाउँबाट सहरमा कसरी पुगियो त्यो पनि उसले भुल्छ, झुप्रालाई किचिन्छन्, गरिबीलाई मिचिन्छन् महलको सिर्जना हुन्छ । यस्तो कर्मदेखि गजलकार सहमत देखिदैनन् र भन्छन्
विगतका कामकाज स्वार्थ मात्र थिए कि ती ?
सुनाखरी बिर्सिएर गमलामा फुल्यौ किन ?
धनी गरिबका सकरात्मक र नकरात्मक सामाजिक परिवर्तनका घटनाक्रमलाई गजलकारले यहाँ केलाएका छन् । सकरात्मक परिवर्तनलाई गजलकारले चाहेका छन् । तर गजलकारले आफ्ना गजलमा आजको संसारमा द्रव्यमा सबै अडिएका इमान र मानवता त्यागेका र हत्या, लुट र आतङ्क र छलछाममा लागेका यी कर्ममा गजलकार चिन्तित देखिन्छन् ।
सत्तामा रमाउनेहरूप्रति गजलकारको कटाक्ष यसप्रकार छ – सत्ताधारी नै देश निर्माणका वाहक हुन् । जनताका प्रतिनिधि हुन् । उनकै मार्गदर्शनबाट देश निमार्णको पहल हुन्छ तर आज देशमा त्यस्तो देश निर्माणमा जुट्नेहरू साँडा भएका र मागि खाने भाँडा भएका , जनताको आँखामा छारो हालेका, मौका खोजेर खोला तरेका, हिजोको बाचा बन्धन सबै भुलेका, हिंसा थिचोमिचो सबै शक्तिवानहरूले गर्ने भएकाले निर्वलहरूले आँखा चिम्लेर बस्नु पर्ने अवस्थामा सबै सावधान हुनु पर्ने सन्देश दिंदै गजलकार भन्छन् –
दुध पिउने कालो साँपले फँणा उठाई डस्न सक्छ
होस नराखे मौका छोपी खोकिलामा पस्न सक्छ
गजल २३
सहिदको योगदान –सहिदहरू देशको लागि वलिदान दिन्छन् । तर सहिदको सपना पुरा होला भन्दा सहिदहरू इतिहाँसको पानामा बन्धक बनाइएका हुन्छन् । कुन उ२ेश्य लिएर लडिएको त्यसमा सहिदले के प्राप्त गर्न सके आदि सहिदप्रतिको चिन्तन गर्दै गजलकारले भन्छन् –
केका निम्ति लड्याँै हामी केके पाए सहिदले
नियति छ उस्तै सधैँ अचम्मको झेल भयो ।।
४३ दिएको त्यो शहादत
राष्ट्रप्रेमले भरिएका गजलहरू – राष्ट्रियताले भरिएका गजलकारका धारणाहरू यत्रतत्र छरिएका छन् । हेरौं केही उदाहरण –
खोज्दै हिडेँ चारैतर्फ राष्ट्रवाद छैन कतै
जताततै ढोँगी हुल झण्डामत्र फहराउँछ
गजल
सबैभन्दा प्यारो मलाई स्वदेशको माटो यहाँ
जहाँबाट अघि लाग्छ लक्ष्य पुग्ने बाटो यहाँ
यदि देश माग्छ भने सबैसँग आलो रगत
कर्तव्य हो दिनु उसलाई जन्मिएको साटो यहाँ ।
गजल २२
आमा सँधै सन्तानको वात्सल्यमा डुब्ने गर्छिन
बगरेको रुपभन्दा सबै लाटै लाटो राम्रो
गजल ५० अघिअघि हिडँनेलाई
छिमेकीको अतिक्रमण – गजलकारले कसैको नाम उच्चारण नगरीकनै छिमेकीले अतिक्रमण गरेको कुरा व्याक्तिमामात्र लागु नभै राज्यमा पनि लागु हुन्छ । हाम्रो देश दुई ठूला क्षिमेकीहरूको बीचमा अवस्थित छ । हाम्रा सीमानाहरू अतिक्रमिक भएका छन् । हाम्रा दक्षिणका क्षिमेकीले त ठूलो हिस्सानै हडपेको छ । तलको शेरले दुई शेरले हाम्रो अवस्था कस्तो छ भनेर प्रष्ट्याएको छ–
स्वअस्तित्व खोज्नसम्म नसक्ने भैसक्यौँ
त्यसैले त गैरीखेत छिमेकीले हरेको छ
जीवितै छ देह तर रगत मरेको छ
हामी पुल भयौँ पारि अर्कै तरेको छ
गजल नौ
जागरणको आव्हान –देशको प्रगति रोकिएको छ । देशमा भ्रष्टचार व्याप्त छ । जनतामा जागृति छैन । अव सबै जाग्न परेको छ । चुपचाप गर्नु नगर्नु कर्मबाट देशलाई बचाउनु पर्छ यसरी निदाय र् बस्न नहुने र गन्तव्यमा पुग्नै पर्छ भन्ने जस्ता जनतामा जागृती ल्याउने खालका गजल पनि पस्केका छन् ।
अब साँच्चै जाग्नुपर्छ सत्ते
गर्नु नगर्नु चुपचाप नै गरे ।
पन्ध्र
द्वन्द्वमा आधारित गजलहरू– नेपालमामात्र नभएर आज विश्वमा नै द्वन्द्वले तहल्का मच्चाएको छ । नेपालमा जनयुद्धको नाममा हजारौं मानिस मारिए ठूलो धन जनको क्षति भयो । यस सम्बन्धमा गजलकारले कसैको नाम नलिई सबैलाई समेट्ने गरी यसरी प्रस्तुत भएका छन् –
रगतका आला टाटा बाँकी नै छन् अझै पनि
दुई–चारको निम्ति यहाँ सयौँलाई मारे मात्र ।
कृषिप्रधान देशमा कृषकको अवस्था –कृषि प्रधान देश भनिन्छ तर कृषि उत्पादनले देशका जनतालाई पाल्न सकेको छैन । केही वर्ष पहिला उत्पादनलाई निर्यात गर्ने देशले आज आएर सबै चिज आयत गर्न थालिएको छ । कृषिकर्मलाई सुव्यवस्थि तगर्न नसकिएकोले भोकभोकै मर्न पर्ने अवस्थालाई गजलकारले यसरी प्रस्तुत गरेका छन् ।
कृषिप्रधान मुलुकका नागरिक हौँ नि तर
प्रत्येक साल भोकमरीले बस्ती–बस्ती मर्न थाले
गजल ५४ नयनका अश्रुधारा
गजल विश्लेषण गर्दा गजलकारले गजल लेखनका आधारभूत कुराहरू( शेर, मिसरा, मतलता, रदिफ, काफिया मकता, तखलुस, बहर, लय, भाषा )मा के कती ध्यान दिएर लेखेको छ भन्ने तर्फ ध्यान दिनु पर्ने देखिन्छ । गजलको आकारले मात्र गजल उच्चकोटीको भएको मानिदैन । गजल राम्रो छ भन्नमा गजलमा जीवन्त भाव हुनुपर्छ, । गजल पढ्दा हृदयस्पर्सी, मस्तिष्कलाई झंकृत पार्ने खालका, श्रुतिमधुर कोमलता, आदि गुणले सुसोभित हुनुपर्छ भन्ने राय गजलकार र समालोचकको हुन्छ । ‘बागियान’ले गजल लेखनमा यी गजल तत्वहरूमा ध्यान दिएको देखिन्छ । गजलमा सेरलाई गजलको आधार स्तम्भ मानिन्छ । माथि पस्किएका गजलका सेरबाट नै प्रष्ट हुन्छ कि वागियानका गजलका सेरहरू प्राय सशक्त देखिन्छन् । यसरी नै गजलमा काफियाको प्रयोग एउटा महत्वपूर्ण तत्व हो । काफिया विना गजल बन्न सक्दैन । ‘बागियान’का गजलमा काफियाका स्वरमा एकरूपता देखिन्छ । काफियापछि आउने शब्द या शव्दसमूहलाई रदिफ भन्दछन् । गजलमा रदिफको प्रयोग अनिवार्य छैन । वागियानका गजलमा काफियाको साथमा रदिफको प्रयोग भएको पाइन्छ–
दुध पिउने कालो साँपले फँणा उठाई डस्न सक्छ
होस नराखे मौका छोपी खोकिलामा पस्न सक्छ
गजल २३
यसरी नै ‘बागियान’का गजलमा तखल्लुसको प्रयोग नगण्य छ भन्न सकिन्छ –
समष्टि हो ‘बागियान’
पीडाभित्र ठोकिएको छु ।
‘‘बागियान’ का गजल लयात्मक र धेरैजसो गजल गायत्मक छन् ।
निष्कर्ष– समष्टिगतरूपमा भन्नुपर्दा गजल स्तरीय, विविधतामा सजिएका, विचारको सम्प्रेषण राम्रो र सम्भावनामा पनि उत्कृष्ट, सु्न्दर, शिष्ट मननयोग्य देखिन्छन् ।