टिपरले किचेर मृत्यु, अश्रु ग्यास प्रहार गरेपछि राजमार्ग खुल्यो
धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर युवकको मृत्युपछि आन्दोलन चर्किएको छ । अवैध गिटीबालुवा उत्खननको विरोध गर्दै आएका २५ वर्षीया दिलीपकुमार महतोलाई बाटोमा किचेर मारेकाे भन्दै आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरी आन्दोलन चर्काएका थिए ।
बिहानैदेखि बन्द राजमार्ग खुलाउन प्रहरीले २५ अश्रु ग्यास प्रहार गरेको हो । सडक खुलाउने विषयमा बल प्रयोग गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् ।
प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको हो । अश्रु ग्यास प्रहारपछि स्थानीयले राजमार्ग छाडेका छन् । करिब चार घण्टापछि बन्द राजमार्ग खुलेको छ । घटनाको अनुसन्धान फितलो बनाउन घटनास्थलमा मुचुल्का नै नउठाई खोलाबाट प्रहरीले शव ल्याएको भन्दै स्थानीय आक्रोशित भएका थिए ।
ना७ख ६४१३ नम्बरकाे टिपर औरही खोलामा २४ वर्षीय दिलीपकुमार महतोलाई ठक्कर दिएपछि उनको घटनास्थमै मृत्यु भएको थियो । साथीसँग मिथिला नगरपालिका–५, श्रीपुरमा रहेको घरनजिक मर्निङ वाक गएकाे बेला महतोलाई ठक्कर दिएको थियो ।
टिपर र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । झडपमा परी इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी जवान सचेन्द्रकुमार यादव घाइते भएका छन् ।