शिवराजमा वक्तृत्वकला प्रतियोगिता, हसिना प्रथम
´सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासकाे सुनिश्चितता' भन्ने मूलनाराका साथ अन्तर्राष्ट्रिय श्रमिककाे दिवस
राम अवतार चाैधरी
कपिलवस्तु, 
कपिलवस्तुकाे शिवराज नगरपालिकामा ‘परिवार तहकाे निर्णय प्रक्रिया महिलाको भूमिका’ सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । मंगलबार ११२औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा प्रतियोगिता गरिएको आयाेजकले जनाएको छ ।
´सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासकाे सुनिश्चितता’ भन्ने मूलनाराका साथ अन्तर्राष्ट्रिय श्रमिककाे दिवसकाे अवसर पारी नगरपालिकाकाे वडा नं. १, उमरी डाँडामा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको जनाइएको छ । एकता र शान्ति स्वावलम्बन समूहको आयाेजना, वडा नं. १ शिवपुरकाे समन्वय र किर्डाक नेपालकाे सहयोगमा प्रतियोगिता गरिएको लाली कुमारी थारुले जानकारी दिइन् ।
वक्तृत्वकला प्रतियोगितामा हरियाली स्वावलम्बन समुहकी हसिना थारु प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । त्यस्तै शान्ति स्वावलम्बन समुहकी बिफनी थारु द्वितीय स्थान, शान्ति स्वावलम्बन समुहकी गीता थारु तृतीय स्थान र एकता समुहकी हर्जी थारु सान्त्वना स्थान हाँसिल गरि सफल भएकी छन् । विजेता भएका सबैलाई भित्ते घडी पुरस्कार स्वरुप प्रदान गरिएकाे सहजकर्ता इन्दु थारुले जनाइन् । 
कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष जगत बहादुर जिसीले महिलाले गर्ने हरेक कार्य अतुलनीय रहेकाे बताउँदै श्रमिक महिलाहरूकाे मुल्यांकन हुन जरुरी रहेकाे बताए । उनले बिहानदेखि बेलुका अबेरसम्म काम गर्ने महिलाले एक साहसिक कार्य गर्न सक्ने क्षमतालाई पुरुष बुझ्न आवश्यक रहेकाे बताए । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भएकाे बताउँदै सबैसँगै मिलेर समान दृष्टिकोणले हेरे मात्र भेदभावरहित परिवार र समाज निमार्ण हुन सक्ने बताए ।
त्यसैगरी सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक सिताराम चाैधरीले कार्यक्रमलाई सम्बाेधन गर्दै यस कार्यक्रमले शिक्षा क्षेत्रमा उल्लेखनीय भुमिका खेल्ने बताए । नारीलाई हरेक तवरबाट सुरक्षित महसुस गराउन सबैले पहल गर्न जरुरी रहेकाे समेत उनले जिकिर गरे ।
विद्यार्थीकाे ज्ञानलाई फराकिलो बनाएर लैजानुकाे साथै महिला माथि गरिने दुरव्यहारबारे सर्तक रहन समेत प्रधानाध्यापक चाैधरीले आग्रह गरे । साथै किडार्क नेपाल कपिलवस्तुका संयाेजक कृष्ण बहादुर रावलले समेत कार्यक्रमलाई सम्बाेधन गरेका थिए । 