बैशाख ६ गतेबाट कृषि गणना, कसरी हुँदै छ नवलपुरमा गणना


 



नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ६ गतेबाट कृषि गणना हुने भएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ को कार्यक्रम अन्तरगत नवलपुरमा पनि कृषि गणना हुन लागेको हो । नेपालमा प्रत्येक १०÷१० बर्षमा कृषि गणना हुने गर्दछ । नेपालमा अहिले सातौं कृषि गणना हुन लागेको हो ।

नवलपुरमा कृषि गणनाका लागि औपचारिक रुपमा कार्यालय स्थापना गरी गणनाको तयारी शुरु गरिएको आज कावासोतीमा आयोजित कृषि गणना सचेतना गोष्ठीमा जानकारी गराइएको थियो ।



कार्यक्रममा दिइएको जानकारी अनुसार गणक र सुपरीवेक्षक छनौट कार्य चैत्र २४ गते भित्र सकिने जनाएको छ ।

त्यसैगरी ४ नगरपालिका र ४ गाउँपालिका रहेको नवलपुरमा १ जना कृषि गणना अधिकृत, १४ जना सुपरीवेक्षक र ५५ जना गणक खटिने कृषि गणना अधिकृत रेणु कुमारी घिमिरेले बताइन् ।

नवलपुरमा कृषि गणनाका लागि १ सय ५५ क्षेत्रलाई गणना क्षेत्रको रुपमा छुट्याइएको छ । जसअन्तरगत गैडाकोट नगरपालिकामा २१, देवचुली नगरपालिकामा २२, कावासोती नगरपालिकामा २४, मध्यविन्दु नगरपालिकामा २३, हुप्सेकोट गाउँपालिकामा १५, बुलिङ्गटार गाउँपालिकामा १७, बौदीकाली गाउँपालिकामा १३ र विनयी त्रिवेणी गाउँपालिकामा २० क्षेत्र छनौट भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

त्यसैगरी नवलपुरमा चैत्र २५ गतेदेखि बैशाख ३ गतेसम्म गणक र सुपरीक्षवेक्षकलाई तालिम प्रदान गरिने कार्यक्रम रहेको छ ।
नेपालमा कृषि क्षेत्रको वास्तविक अवस्था पहिचानका लागि कृषि गणना गरिन लागिएको हो ।

कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग, उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य वालीहरुको उत्पादन, सिचाईको विवरण, कृषि सामग्री र औजारको उपयोग, पशुपंक्षीको संख्या र आहारसम्बन्धी विवरण लगायतका तथ्यांकहरु संकलन गरिने छ ।

त्यसैगरी कृषि कार्यमा सम्लग्न जनशक्ति, लिंगको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाको बारेमा तथ्यांक संकलन गरिने छ ।

त्यसैगरी कृषि वन, कृषि ऋण, वीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनले पारेको असर, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारको पहुँच लगायतका बारेमा तथ्यांकहरु संकलन गरिने छ ।

 

 

 

 



सम्बन्धित
Loading...