औद्योगिक करिडोरका उद्योगहरूमा १४ घण्टा लोडसेडिङ


 



उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रूपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको बताएका छन्।

 

इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन्।

 




प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक सातादेखि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन्।

 

उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन्।

 

प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो छ।

 

सरकार तथा विद्युत प्राधिकरण आफैंले ग्यासको खपत कम गरौं खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले  बताए।

 

उनले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए। सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाई छ। अग्रवालले प्राधिकरणले तत्काल रूस र युक्रेनको युद्वको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे।

 

‘हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो। सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौं। खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रूपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो’, उनले भने, ‘अत्यासित रूपमा उद्योगमा लोडसेडिङ भएको छ।’

 

उनले अहिले वर्षा सुरू हुनुभन्दा पहिले र जाडोपछि खपत बढ्ने तर नदिनालामा पानी कम हुने हुने भन्दै यही समयमा नेपालमा विद्युत खपत बढ्ने हुन्छ। तर यही बिचमा रूस र  युक्रेनबीच युद्व भएको कारण भारतमा कोल आयात नभएको बताए।

 

‘भारतबाट विद्युत आयात गरिरहेका छौं। अहिले अप्रत्याशित विद्युत अभाव भएको छ । सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ । छोटो समयको लागि उद्योग चलाउन सकिन्छ । तर लोमो समय लोडसेडिङ भयो भने समस्या हुन्छ,’ उनले भने।

 

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक सातादेखि निरन्तर रूपमा विद्युत आपूर्ति कटौती भएको बताए। उनले प्राधिकरणले कुनै जानकारी विना एक हप्तादेखि वेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताए।

 

उद्योगमा लामो समयदेखि विद्युत आपूर्तिमा पटक–पटक न्युन पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै पोखरेलले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गरे।

 

 

उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्युन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गरे। व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनुपर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए।

 

उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुटै लाइनबाट विद्युत दिएकोमा त्यो विद्युत समेत कटौती गरिएको दाबी गरे। उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए।

 

‘केही वर्षदेखि उद्योगमा लोडसेडिङ नभए पनि पटक पटक न्युन पावर ट्रिपिङ, पावर भोल्टेजका कारण उत्पादनमा कमि आउँदा समस्या भएको छ।

 

यसमा ठूलो आर्थिक भार खेप्नुपरेको अवस्था छ’, उनले भने, ‘पछिल्लो समय केही हप्तादेखि बेलुका ६ बजेदेखि १४ घण्टासम्म विद्युत कटौतीको समस्या भोग्नुपरेको अवस्था छ। उद्योग सञ्चालनमा मात्रै नभएर उद्योगका २ हजार कर्मचारी बस्ने आवासको समेत प्राधिकरणले विद्युत कटौती गर्दा समस्या परेको छ।’

 

यस्तो समस्याको विषयमा पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा समेत सुनुवाई नभएको उनले गुनासो गरे। ‘कुनै जानकारी, कुनै विद्युत कट हुने समय तालिका बिना एक्कासी रुपमा उद्योगमा लोडसेडिङ सुरू भएको छ। प्राधिकरणका निर्देशक कुलमान घिसिङले लोडसेडिङ गदैनौं भने पनि सात दिनदेखि निरन्तर रुपमा लोडसेडिङ हुँदै आएको कुनै परिर्वतन भएको छैन।’

 

उनले उद्योग सञ्चालनको लागि डिजेल तथा जेनेरेटर केही पनि छैन। विगत भएका जेनेरेटरहरू पनि लोडसेडिङ अन्त्य भएपछि थन्किएर बसेको भन्दै उनले श्रमिले समेत विद्युत नपाउँदा भोलि उद्योगमा नै ठूलो समस्या आउने बताए।

 

त्यस्तै, विराटनगरमा सन्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरुमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताए।

 

उनले १४ घण्टा उद्योगहरुले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नू पर्ने अवस्था आउने बताए। उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत सहज रुपमा आपूर्तिको व्यवस्था गर्नुपर्ने सञ्चालक अग्रवालको भनाई छ।

 

उनले विद्युत प्राधिरकण आफैं उद्योगीलाई ठूला ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत दिन तयार छौ भन्ने तर प्राधिकरण आफैं १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताए। सञ्चालक अग्रवालले उद्योगमा विद्युत अभावको कारण ५० प्रतिशत कच्चा पदार्थ कटैती गरेर उत्पादन भइरहेको बताए। ५० प्रतिशत मात्रै उत्पादन गरेर उद्योग चल्न नसक्ने अग्रवालको भनाई छ।

 

‘एक सातादेखि विद्युत प्राधिकरणले भनेको छ । उद्योगमा १२ देखि १४ घण्टाको लोडसेडिङ हुन्छ । अहिले बैंकको ब्याज त्यति कै बढ्दै गएको छ। ढुवानीको लागत बढ्दै गएको छ।

 

उद्योगलाई १२ देखि १४ घण्टा डिजेलमा चलाउन सकिन्छ? कुनै पनि हालतमा सम्भव छैन’, उनले भने, ‘त्यसको प्रभाव सर्वसाधरण जनतालाई पर्ने हो। उद्योगलाई विद्युत दिने कुरामा सरकार गम्भिर हुनुपर्छ। लोडसेडिङ भएर उद्योग बन्द गर्नुपर्‍यो भने छुट्टै समस्या देखिन्छ। जुन देशमा बेरोजगारी बढ्छ । त्यसैले उद्योगमा लोडसेडिङ गर्ने कुरा राम्रो भएको छैन।’

 

अहिले देशैभरका उद्योगीहरुले पूर्व जानकारी विना उद्योगमा १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइरहेका छन्। उद्योगीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन।

 

रूस–युक्रेन युद्वको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ। युद्वको कारण भारतमा विद्युत महंगो भएको छ। एक साता अगाडि नेपाली ३८ रूपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो।

 

३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत खरिद गरेर नेपाली उद्योगलाई विद्युत आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीहरुले बताएका छन्। अहिले नेपालले महंगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन।

 

 

करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगमा रातिमा बिजुली काट्न थालेको बताएको छ। पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिकरणको चर्को आलोचना गरिरहेका छन्।

 

विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेको छ।

 

विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ। प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो। तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरले बताएका छन्।

 



सम्बन्धित
Loading...