साउदी आएपछि आफूले चाहेको बेला घर फर्किन वा काम छोड्न मिल्दैन भन्ने कुरा बुझेर मात्रै आउन दूतावासको आग्रह

साउदीमा पछिल्लो समय नेपालीहरुले दुःख पाएको गुनासो बढ्दै गएको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले धेरै कुरा बुझेर मात्रै साउदी आउन आग्रह गरेको छ ।
साउदी आएपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायत कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्किन सहज नभएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार एकजना कामदारलाई साउदी ल्याउन रोजगारदाताले धेरै पैसा खर्च गर्ने भएकाले कामदार सम्झौता नसकि कामदारलाई निस्किन दिँदैनन् ।
यस्तै पारिश्रमिकका विषयमा प्रष्ट हुन र तोकेको पारिश्रमिक भन्दा कम हुने गरी कुनै पनि सम्झौता नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
साउदीले तोकेको अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधावापत तीन सय रियाल तोकेको छ ।
यस्तै, ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न र सम्झौता पत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासनको भ्रममा नपर्न पनि दूतावासले आग्रह गरेको छ ।
यस्तै साउदी अरबमा अदक्ष कामदारको रुपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । स्वास्थ्य अवस्था कमजोर भएका वा कुनै बिरामी भएका तथा औषधि सेवन गरिरहेको भए नआउन पनि दूतावासको सुझाव छ ।
दूतावासका अनुसार साउदीमा सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी छन् । त्यसैले कस्तो कम्पनीमा आफू जाँदैछु भन्नेमा प्रष्ट भएर मात्र आउन पनि दूतावासको आग्रह छ ।