हेटौँडाबाट १० किलो चरेशसहित २ जना पक्राउ
मकवानपुर, १८ साउन । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीका अनिल भर चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालका अनुसार उनीहरुलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ चुरियामाई नजिकै पिपल चौतराबाट पक्राउ गरिएको हो । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ५८३९ नम्बरको बसलाई रोकि जाँच गर्दा बसमा रहेका उनीहरुको साथबाट चरेश फेला परेको हो ।
उनीहरुलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र कार्टुन टेपले बेरेर लुकाइ ल्याएको अवस्थाको १० कलिो २५० ग्राम चरेश फेला परेको प्रहरी प्रमुख रिजालले बताए ।
चरेशसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।