नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना





नवलपुर । पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । यही भदौ १७ गतेदेखि जिल्ला हुलाक कार्यालय नवलपुर स्थापना भएको हो । कार्यालय कावासोतीमा स्थापना भए पनि कार्यालय राख्ने घर खोजी भईरहेको जनाइएको छ ।

साविकमा जिल्ला हुलाक कार्यालय नवलपरासीले नै नवलपरासी पुर्व र पश्चिममा सेवा प्रदान गरिदै आएकोमा हाल नयाँ जिल्ला हुलाक कार्यालय स्थापना भएको हो।


अब जिल्ला हुलाक नवलपुरबाट नै जिल्ला स्तरीय सेवा प्रवाह हुने कार्यालय प्रमुख निमित्त हुलाक अधिकृत केशबहादुर खण्डलु मगरले जानकारी दिए ।

सरकारको नयाँ अवधारणा ‘एक पालिका एक हुलाक’ संरचनालाई कार्यान्वयन गर्ने सन्दर्भमा साविकको शेरगन्ज इलाका हुलाक र पिठौली इलाका हुलाक कार्यालय खारेज भएको छ । निमित्त हुलाक अधिकृत मगरका अनुसार साविकका इलाका हुलाक कार्यालयहरु पालिका हुलाक कार्यालयमा स्थानान्तरण भएका छन् ।

त्यसैगरी विनयीत्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकामा नयाँ पालिका स्थापना हुनेछ । हुलाक कार्यालय मध्यविन्दु नगरपालिकाको कार्य बोझ कम गर्न साविकको शेरगन्ज इलाका हुलाका कार्यालय रहेको स्थान कोल्हुवामा चिठीपत्र दर्ता काउन्टर राखिने भएको छ ।

हाल जिल्ला हुलाक कार्यालयले आफ्नो कार्य संचालन सेवा प्रवाह साविकको पिठौली इलाका हुलाक कार्यालय रहेको स्थानबाट दिंदै आएको छ । यस्तै घर रभवन भाड़ामा लिएर छिट्टै नयाँ कार्यालयमा स्थानान्तरण गरी तालुक निकायका प्रमुखहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सबै स्थानीय तहका जनप्रतिनिधिहरु, सरोकारवालाहरु सबैजनाको उपस्थितिमा औपचारिक उद्घाटन गरिने पनि निमित्त प्रमुख केश बहादुर खण्डलु मगरले जानकारी दिए ।

 



सम्बन्धित
Loading...