कतारबाट फर्केका गोरखाका ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
विजय नेपाल –
पोखरा, २० असार –
कतारबाट फर्केका गोरखाका ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । कतारबाट फर्केको ३ दिनमै उनको शनिबार मृत्यु भएको हो ।
गोरखाको पालुङटार ७ निवासी ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचार क्रममा शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।
निमोनियाका बिरामी समेत रहेका ती पुरुषको शुक्रबार कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि राति ९ बजेर ५५ मिनेटमा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकोमा शनिबार बिहान मृत्यु भएको अस्पतालका नि. मेडिकल सूपरिटेण्डेन्ट डा. नवीन थापाले जनाए ।
अस्पतालमा ल्याएका उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि अक्सिजन दिएरै राखिएको थियो ।
ती पुरुष गत असार १७ मा कतारबाट फर्केर गोरखाकै जीवनज्योति माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।