युएस-बंगला विमान दुर्घटनाको अनुसन्धान प्रतिवेदनमा के छ ?
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुसन्धान आयोगले बुझाएको प्रतिवेदनमा पाइलट मानसिक तनावमा हुनु र एअर ट्राफिक कन्ट्रोलरसँगको कुराकानीमा अन्योल हुनु दुर्घटनाको मुख्य कारण भएको निष्कर्ष निकालिएको छ।
सरकारका पूर्व सचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा गठित ६ सदस्यीय अनुसन्धान आयोगको प्रतिवेदनको विश्लेषण खण्डमा ककपिट भ्वाइस रेकर्डरको तथ्यांकले पाइलट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एअर ट्राफिक कन्ट्रोलरबीचको कुराकानीमा अन्योल भएको देखाएको उल्लेख छ।
ल्यान्ड गर्ने क्रममा रनवे ०२ र २० कुन हो भन्नेमा उनीहरूबीच कन्फ्युजन देखिएको प्रतिवेदनमा उल्लेख छ।
पाइलटको मेडिकल रिपोर्ट अनुसार बंगलादेश एअरफोर्समा काम गर्दा १९९३ मा डिप्रेसनको समस्याबाट ग्रसित रहेको र यसैका कारण सेवामुक्त भएको पनि प्रतिवेदनमा उल्लेख छ। तर २००२ मा चिकित्सकले उनलाई पुनः उडानका लागि योग्य ठहर गरेको पनि प्रतिवेदनमा उल्लेख छ।
दुर्घटनापछि भएको आगलागी नियन्त्रण गर्न सक्ने अवस्था हुँदा पनि पर्याप्त सावधानी नअपनाइएको र धेरैजनाले ज्यान गुमाउनुपरेको निष्कर्ष पनि आयोगले निकालेको छ। दुर्घटना भएको ६ सेकेन्डमा मात्र आगो सल्किएको तर सम्भावित दुर्घटनामा क्षति न्यूनिकरण गर्न पर्याप्त सावधानी नअपनाइएको आयोगको ठहर छ।
_20190127150459.jpg)
‘रनवे ०२ मा ल्यान्ड गर्नका लागि अनुमति दिइसकेको अवस्थामा पनि विमान रनवे २० मा ल्यान्ड गर्न खोज्नुले एअर ट्राफिकले पनि निर्देशन दिने क्रममा गल्ती गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
ल्यान्ड गर्ने क्रममा विमान निकै तल र नजिकबाट झरेको र रनवेसँग तादम्यता नमिलाएको निष्कर्ष छानबिन समितिले निकालेको छ।
कम्पनीकै एक महिला सहकर्मीले उत्तम प्रशिक्षकका रुपमा आफ्नो क्षमतामाथि प्रश्न उठाएका कारण पाइलट मानसिक तनावमा रहेको र ‘इमोसनल्ली डिस्टर्ब्ड’ रहेको प्रतिवेदनमा उल्लेख छ।
विमान दुर्घटनापछि भएको आगोलागीमा २८ बंगलादेशी, २२ नेपाली र एक चिनियाँको मृत्यु भएको थियो। दुर्घटनामा २० जना गम्भीर घाइते भएका थिए।याे खबर अन्नपूर्ण पाेष्टबाट लिएका हाैं।