गर पालिका भए पो गर्नु
यस वर्ष भयो निकै कमाल । पायो यो देशले १३३ नगर पालिका झण्डै ७ महिना भित्रभित्रै । भए भाग्यमानी तिन नगरपालिका जो यथेष्ठ प्रयत्नै नगरी भए उपमहानगर पालिका । विकासको मुहान नै फुटाउन खोजेको आभास दियो यो सरकारले । मानौँ पहिलेका सरकार थिए नगरपालिका विरोधी । सोहै्र आना विकास विरोधी । पूरा पूर्वाधार तयार हुँदा हुँदै पनि स्वीकृति नै नदिएर विकास नै रोकेर राख्थे उनीहरु । माग्न जानेलाई कडा कारवाहीको चेतावनी दिन्थे । मानौँ पुस्तकालय खोल्छु भन्दा पनि दण्डित गर्ने राणा सरकार सरह ।
दोस्रो संविधान सभाको चुनाव पछि बल्ल विकासे सरकार आयो । अनि थाल्यो यसले भकाभक विकासप्रेमी काम गर्न । काम पनि द्रुत गतिमा घोषणा गरिदिए पुग्ने । पूर्वाधार चाहिँदा पनि नचाहिने । आधारभूत मापदण्ड पुगे पुगोस् । नपुगे नपुगोस् माग भई आए वा नआए पनि दिने नीति सारै गजबको । एउटा आयोग रुपी गुरुले मानचित्र हेरेर जताजता भन्यो उतै उतै स्वाहा गरे । यस्तै सरकार भइरहे विकास हुन पाँच वर्ष पनि कुर्न पर्दैन क्यारे । आखिर जनता मक्खै भोट पनि सट्टै । औधी खास्सा दुवैलाई ।
स्थानीय सरकारको चुनाव गराउने झञ्झट बेसाउनुभन्दा त यो कत्ति हो कत्ति सजिलो । लोकप्रियताको शिखरमा सहजै उक्लन पाइने । आँखा चिम्लिने बित्तिकै काम बनिहाल्ने । प्रतिपक्षलाई पनि मनाइ रहनुपर्ने झञ्झट खलास । प्रतिपक्षीले विरोध गरे विकास विरोधी भन्दिए भइगयो । अनि कसले हिम्मत गर्ला ? न कानुन फेर्नु पर्ने चटारो, न त उम्मेद्वारी प्रक्रियाको झमेला । साँच्चै सस्तैमा विकासे सरकारको उपाधि ।
अनि ग¥यो सरकारले निर्णय भकाभक । साँच्चै नै भएन खासै विरोध । छापे एक दुइटा पत्रिकाले विरोध जस्ता लाग्ने लेख र आलेख अनि सम्पादकीयहरु । ‘एक दुइटा पाटी हुन् कि होइनन्’ अझै भन्दा नेता पनि भित्रिने र बाहिरिने खेलका अग्रणी सायद्मा गनिन्छन् उनी । भने– यसलाई बेमौसमी बाजा । अर्का पनि थिए सायद् त्यस्तै भने सङ्घीयता नदिने षड्यन्त्र । अर्काले ‘पूर्वाधार नपुगी नगर पालिका’ । यस्तै र यत्रै मात्र स्वरहरु गुन्जिए गगनमा । विस्तारै सुस्तायो यो स्वर मिठो गरी । मानौं भारी आँधी हुरी पछि आएको बर्खा र त्यसपछिको निर्वेद शान्ति ।
उही युधिष्ठिरले ‘नरो वा कुन्जरो वा अश्वत्थामा हतोहत’ भन्ने वाक्यांश मध्ये नरो वा कुन्जरो वा भन्ने वाक्यांश चाहिँ सुस्तरी भनेर गुरु द्रोणाचार्यलाई रनभुल्लमा पारेझैं विरोधी नेताहरुले पनि जनतालाई एकछिन
रनभुल्लमा पारे । त्यसपछि भए शान्त ।
थाहै छैन बरा यी सर्वसाधारणलाई । गाविस नगर पालिकामा दरिएपछि अहिले त स्वादै मानेका हुँदा हुन् तिनले हाम्रा नि घरजग्गाका भाउ आक्काशिने भयो भनेर । बरा १ सबै खाले महसुल ह्वात्तै बढेको थाहै पाउन्नन् जब पाउँछन् अनि कनपारोमा धारे हात लाउँनेछन् मज्जैले । अनि मेरो गाउँ फिर्ता देऊ भन्दै सुरु हुनेछ भ्यागुत्ते कराइ । न भन्दै यही पङ्क्तिकार पुग्यो जग्गा कर तिर्न र चार किल्ला प्रमाणित माग्न नगरपालिका कार्यालय । गाविसका रुपमा छँदा आ.व. ६८÷६९ मा रु. ५ तिरेको ठाउँमा नगरपालिका भएपछि लाग्यो ३० रुपियाँ । अनि पहिले लाग्ने गरेको चारकिल्ला प्रमाणित गरिदिए बापत लाग्ने दस्तुर ३०० बाट रु. ५२० पुगेछ । सम्झेँ, बुझेँ अनि भोगेँ नगरपालिका हुनुको लाभ । विकासे अभिलक्षण साँच्चै रहेछ खल्ती जमाउने खाल्को ।
हुन त औद्योगिक प्रतिष्ठानका रुपमा स्याल प्mयाक्ट्री र यसको हुइयाँ छँदै थियो र अद्यापि छ नै । जहाँसम्म नगरपालिकाको कुरा छ कतिपय जिल्लामा गाउँपालिका नै अब छैनन् अवशिष्ट जताततै नगरपालिका व्याप्त । अब दुम्मु पनि पाइन्न कान्तिपुरीमा, खोजी मरे भेटिन्न । विकासको उत्कर्ष प्राप्त जिल्ला । डाँडा काँडा जहाँ बाटो त के काँडाकै मात्र घारी छ लटरम्मै । त्यस्ता गाउँ गाउँ नै पो भए महानगरपालिका । यति भएपछि के चाहियो त्यहाँ ?
‘गर’ पालिका भए कस्तो हुँदो हो भनेर जनता अहोरात्र आश गर्छन् तर यहाँ मात्र भइदिन्छ ‘न’गर चाहिँ पालिका । उहिले बच्चैमा पढिया थियो रिट्ठाको बोट रोपेर कहाँ फल्दछ कागती ? हुन पनि हो, हामीले रोपेकै बिउ हो ‘न’ गर पालिका । अनि कस्तो ‘गर’ पालिका खोज्नु ? त्यसैले जताततै ‘न’ गर पालिकै ‘न’ गर पालिका । तमाम फोहर पाल्ने, भुसिया कुकुर पाल्ने, चोर डकैत र काला बजारिया पाल्ने, यौनकर्मी र दुराचारी पाल्ने तर नियम, कानुन र व्यवस्था चाहिँ नपाल्ने क्या आनन्दको छ ‘गर’ पालिका तर भन्ने गरिन्छ नगरपालिका । पहिले हामी पढ्थ्यौ ‘असतोमा सद् गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ अर्थात् असत्य भए ठाउँमा सत्य, अन्धकार भएका ठाउँमा उज्यालो, अकाल मृत्यु भएका ठाउँमा प्राणदायिनी अमृत देऊ । तर, उहिलेको पढाइ र गराइ अनि अहिलेको पढाइ र गराइमा पनि छ ठूलै अन्तर ।
अहिले त सरकारका ‘गर’ पालिकाहरु नै आफैं ‘न’गर र पालन पनि ‘न’ गर भन्छ र यसको कार्यान्वयन गर्नमा पनि उत्तिकै जोड दिन्छ । रिसाएर नखा र नपढ भन्दा खा र पढ भन्ने अर्थ लागेझैं नगर पालिका भनेको गर पालिका भन्ने अर्थ पनि लाक्षणिक कोणबाट लाग्छ । तर यहाँ काम गराइको शैली हेर्दा लाग्दैन त्यस्तो । किनकि शुद्धतामा अशुद्धता मिसाएर बेच्न सिकाउने अनि साह्रै धोका र बेइमानी मात्र बढ्न र बढाउन प्रेरित गर्ने । मानवता प्रेम र अमन चयन खोस्ने । सद्धेलाई असद्धे र निरोगीलाई झट्टै रोगी बनाउन सफल । सायद् यसैले भन्न थाले मान्छेले ‘न’गरपालिका ।
कसैले भन्दा हुन् यो त संस्कृत शब्द हो । यसलाई त्यसरी व्युत्पादन गर्न त मिल्दैन । हो, मिल्दैन थियो तर यहाँ के चाहिँ मिल्ने कुरा भएको छ र ? सबै छन् उल्टा मात्रै । यसैले राखे मान्छेले नेपाली नाम ‘न’गरपालिका । काम र नाम ठ्याक्कै मिल्ने । सायद् यो नाम तपार्इँलाई पनि ठीकै लागेको हुनुपर्छ कि कसो ?