नवलपुरका सरकारी वालविकास केन्द्रको गुणस्तर परीक्षण हुदै
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा नवलपुर जिल्लाका ४० वटा सरकारी वालविकास केन्द्रहरुको सिकाइ तथा विकास स्तर परीक्षण शुरु भएको छ । जेष्ठ २ र ३ गते दूई दिन २४ जना प्रशिक्षकहरुको तालिम शिव मावि स्रोत केन्द्रमा शुरुभएको छ ।
प्रशिक्षण कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षतामा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका उपसचिव अनुपम चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । दुइ दिनको तालिम पछि प्रशिक्षकहरु तोकिएको वालविकास केन्द्रमा गई परीक्षण गर्नेछन ।
नेपाल अधिराज्य भरिका १५ जिल्लाका ५०० वटा वालविकास केन्द्रमा गुणस्तर परिक्षण गर्ने कार्यक्रम रहेकोमा गण्डकी प्रदेशमा मुस्ताङ र नवलपुर जिल्ला छनौटमा परेका थिए । तोकिएको सुचकको आधारमा नवलपुरका ४० वटा वालविकास केन्द्रहरुको परीक्षण गरिने र उक्त परीक्षण सुचकहरुलाइ शैक्षिक गुणस्तर परिक्षण केन्द्रले विश्लेषण गरि नेपाल सरकारलाइ प्रतिवेदन वुझाउने छ ।
प्रतिवेदनको आधारमा नेपाल सरकारले पुर्व प्राथमिक तहको शैक्षिक नीति तथा कार्यक्रम तय गरि कार्यान्वयन गर्ने छ । नेपाल अधिराज्य भरिका तोकिएका वालविकासको परीक्षण पछि वालविकास केन्द्रको गुणस्तरको एकमुष्ट रुपमा प्रतिवेदन आउने छ र प्रतिवेदन पछि मात्र नवलपुर जिल्लाको वालविकास केन्द्रहरुको अवस्था एकिन हुनेछ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले पुर्व प्राथमिक देखि विद्यालय तहको विभिन्न पक्षको गुणस्तर परीक्षण गर्दै आएको छ ।