डन्ट अन्डर इस्टिमेट द पावर अफ द कमन म्यान
केही बर्ष अघि प्रदर्शनमा आएको बलिउड सिनेमा चेन्नइ एक्स्प्रेसमा सिनेमाका नायक शारुख खानले एउटा डाइलग बोल्छन – ‘डन्ट अन्डर इस्टिमेट द पावर अफ द कमन म्यान’ अर्थात सर्वसाधारण मान्छेको क्षमतालाई कम नआंक्नु । हो वास्तवमै कसैले सर्वसाधारण मान्छेहरुको शक्ति र क्षमतालाई कम आंक्छ भने त्यो गलत हुन्छ । आममान्छेहरुमा सत्ता र शक्तिको संरचनालाई उलटपुलट गर्न सक्ने ल्याकत बिद्यमान हुन्छ भन्ने विश्व इतिहासका घटनाहरुले पुष्टि गरिसकेका छन्। त्यही प्रेमिसेजलाई नेपालको सन्दर्भमा हेर्ने हो भने पनि त्यो सत्य नै हुन्छ । नेपालमा पनि सर्वसाधारणहरुको शक्तिका कारण ठुल–ठुला परिवर्तन भएका छन्।

२००७ साल अघि एक सय चार बर्षसम्म जहानीया राणाहरुले कमन मिन अर्थात प्रजाहरुलाई कम आंके। अत्याचार गरिरहे। जब अत्याचारले उच्चतम सीमा छोयो अनि कमन मिन अर्थात सर्वसाधारणहरु ज्यानको परवाह नगरी राणाहरुको बिरुद्धमा उठ्ने साहस गरे। अन्ततः उनिहरुले राणाहरुलाई घुंडा टेकाइ छाडे। राणाहरुलाई घुंडा टेकाउने सर्वसाधारणहरु मध्येका सर्वसाधारणहरु थिए चार नेवार सपुत, सहिद गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ। त्यस अघि यिनलाई पनि प्रेरणा दिने गरी गोर्खाका कमन म्यान प्रथम सहिद लखन थापा मगरले राणा विरुद्ध गरेको विद्रोह र उनको सहादतलाई पनि यहाँ श्रद्धापुर्वक स्मरण गरिन्छ । त्यस्तै २०४६ साल, २०६२ सालका परिवर्तन पनि common men अर्थात आममान्छेहरुकै बल र शक्तिले नै भएका परिवर्तन हुन्। अब यति कुराको पोयो (फुर्को) गांसेर भनि सकेपछि कमन मिन अर्थात आममान्छे सिधै भन्दा जनताको बल र शक्ति अजय हुन्छ कम आंक्नु मुर्खता हो भनेर चाही भनिरहनु नपर्ला। यसलाई नजरअन्दाज गर्नेहरु सधैं इतिहास बनेर भग्नावशेषमा परिणत हुन्छन भन्ने कुरा पनि भनिराख्नु पर्ने कुरा होइन ।
![]()
नेपालको बिडम्बनाः
विश्व इतिहासमा अपवाद बाहेक सबैजसो देशमा कमन मिन अर्थात जनताको शक्तिले भएको सत्ता परिवर्तन जनताकै पक्षमा रहिरहेको देखिन्छ । अर्थात त्यहांका परिवर्तनकामी कमन म्यान सत्तामा पुगेर पनि कहिल्यै शासक बन्दैनन्। नेपालको परिस्थिति भने फरक छ। नेपालमा परिवर्तन हुन्छ तर परिवर्तन पश्चात सत्तामा पुगेका कमन म्यान, कमन म्यानबाट एकाएक रुलरमा प्रमोशन भै हाल्छन्। नेपालसंगै एकै समय, नयाँ युगमा प्रवेश गरेका देश र नेपालको सत्यतामा फरक नै यही हो । फलस्वरूप ती देशहरु समृद्धिको क्लाइमेक्समा पुगिसके। तर नेपाल चाही झन्झन् अब्यवस्था, अस्थिरता, अराजकता र अभावको दलदलमा फंस्दै गएको छ। नेपालमा परिवर्तनको मुद्दा वा जनताको मुद्दा अपहरण गरिन्छन्, कि त वास्तविक परिवर्तनकामी कमन म्यान नै सत्तामा पुगेपछि आफुलाई शाही बंशज भएको भ्रममा पर्छन्। यही एउटा कारण हो नयाँ जनताको बलले निर्माण गरेको सत्ता पनि जनमुखी बन्न सक्दैन। बरु जनताका प्रतिनिधि बनेर गएका कमन म्यानहरु पुरानै शासकहरुसंग गठजोड गर्छन र जनभावना माथि कुठाराघात गर्दछन्। नेपाली जनता दशकौंदेखि यही श्रृंखलाबाट गुज्रिरहन अद्यापि अभिशप्त छन्।
वि.सं. २००७ सालको उपलब्धि दश बर्ष पुग्दा नपुग्दै तत्कालीन राजा महेन्द्रबाट खोसिनु, २०३६ को जनमत संग्रहको परिणाम पन्चायतीका हिमायतीहरुकै पक्षमा आउनु, २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्र र विश्वकै उत्कृष्ट भनिएको संविधान प्रति असहमति जनाउंदै २०५२ बाट जनताले सशस्त्र क्रान्ति गर्न बाध्य हुनुमा मुख्य कारण माथि उल्लेख गरे जस्तै पटक पटकको जनताको बलमा निर्मित सत्ता जनमुखी हुन नसक्नु र जनताका प्रतिनिधि बनेर गएकाहरुले जनभावनाको कदर गर्न नसक्नु नै हो। त्यति मात्र होइन, ०६२/६३ को दोस्रो जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र भनिएको वर्तमान ब्यवस्थाप्रति आममान्छेहरुको वितृष्णाको तह दिन दिनै बढ्दै जानुमा पनि जनताको नाममा सत्तामा पुगेकाहरुको गैर जिम्मेवार व्यवहार नै जिम्मेवार छ ।
अब फेरि उदाउंदै कमनम्यानहरुः

यतिखेर सामाजिक संजाल तथा सञ्चार माध्यमहरुमा केही कमनम्यानहरु जबरजस्त रुपमा छाइरहेका छन्। त्यसमध्ये एक जना कमन म्यानको निरन्तर चर्चा भै रहेको छ पछिल्लो हप्ता। उनी हुन् इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी। एउटा सामान्य परिवारबाट उदाएका चौधरी यथार्थवादी र हक्की स्वभावका कारण चर्चामा आएका हुन्। गत जेठ ८ गते स्थानीय पत्रकार विराट अनुपमको नाकको डांडी भांच्ने अभिव्यक्ति दिएपछि उनको पक्ष र विपक्षमा मत सिर्जना भएका छन्। देशको सम्पूर्ण समस्याहरुका स्रोत भ्रष्टाचारप्रति शून्य सहनशील स्वभावका कारण अधिकांशले उनलाई प्रशंसा गरेका छन् भने कतिपयले चाही उनको अभिव्यक्तिलाई प्रेस जगतमाथिको प्रहारका रुपमा लिएका छन्। सामान्य ढंगले हेर्ने हो भने उनको अभिव्यक्ति जायज नै देखिन्छ। उनले पत्रकारको नाकको डांडी भांच्छु भनेका छैनन्। दुई बर्षदेखि निरन्तर लखेट्ने काम गरेपछि रिसको आवेगमा तिमी जस्तो पत्रकारको नाकको डांडी भांच्न एक करोडको घडेरी छुट्याएको छु भनेका थिए। यहाँनेर बुझ्नुपर्ने के हो भने पत्रकारहरु पनि सबै राम्रा छैनन। पत्रकारिताको नाममा पित पत्रकारिता गर्ने, चाप्लुसी गर्ने, रकम लेनदेन तथा बार्गेनिङ गर्ने, धम्क्याउने जस्ता गलत प्रवृत्तिका पत्रकार पनि त छन् हामी माझ । त्यस्तालाई शबक सिकाउनलाई आएका अभिव्यक्तिका पछि लागेर पत्रकार तथा पत्रकार जगतले पनि आफ्नो विश्वसनीयतामा आंच आउन दिनुहुंदैन। एउटा जिम्मेवार पदमा बसेका व्यक्तिले त्यस्तो अभिव्यक्ति दिनु हुन्थेन भन्ने मत पनि नआएका होइनन्। यसमा के भन्न सकिन्छ भने दुवै पक्ष व्यक्तिगत तहमै गाली गलौजमा उत्रिएपछि पत्रकार पनि पत्रकार रहंदैन र मेयर पनि मेयर रहंदैन भन्ने बुझ्नुपर्छ । मेयर पनि प्राणी नै हुन त्यसैले रिस उठ्यो होला भनेर सामान्यिकरण गर्न कतिपयमा कन्जुस्याइँ चाँही पक्कै भएको हो। अभिव्यक्तिकै कुरा गर्ने हो भने त्यस अघि उपेन्द्र यादव काण्डमा पत्रकार सुशील पाण्डेलाई लक्षित गरेर पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले असनको सांढे भनेका थिए। तर उनको विरुद्धमा भने खासै आवाज आएनन्। तसर्थ यहाँ नेर सक्नेलाई मात्र लखेट्नुपर्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ।
मेयर चौधरीले पटक पटक आफुलाई थारुको छोरा भनेर हेपेको भन्ने गुनासो पनि पोखेका छन्। यदि त्यसो हो भने के यो सर्बथा गलत होइन ? अझै पनि जात र नाकको आधारमा सक्षम र असक्षमको ट्याग लगाइदिनु कत्तिको उचित हो ? यसले सामाजिक सद्भावमा कस्तो असर पु¥याउला के हामीले सोंचेका छौं? यद्यपि यतिखेर चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिइसकेका छन् भने पत्रकार महासंघ प्रदेश १ को अध्ययन टोलीले मेयरलाई उत्तेजित बनाउन पत्रकार विराट अनुपमको भूमिका दोषी देखिएको ठहर गरिसकेको छ ।

त्यस्तै अर्का कमन म्यान हुन्, नेपाल विद्युुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ। दैनिक १८ घण्टासम्म लोड सेडिङको आदत बसेका नेपालीलाई चकित पार्दै लोड सेडिङको अन्त्य गरेपछि उनी पनि जबरजस्त रुपमा लाइम लाइटमा उदाएका हुन्। चिलिमे जलविद्युत आयोजनामा रह“दा अप्रत्याशित र कथित सक्षमहरुका लागि समेत बिझाउने गरी राम्रो काम गरेपछि नियतवस तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीबाट निकालिएका घिसिङले यतिखेर आफुलाई सक्षम साबित गरिसकेका छन्। अद्यापि उनलाई असफल बनाउन अमनलाल मोदी प्रवृत्ति भने कायमै छ। यी दुइ जना उदाहरण मात्र हुन्। देशमा यस्ता कमन म्यानहरु जन्मिने क्रम जारी नै छ। त्यस्तै आविष्कार केन्द्रका संस्थापक महावीर पुन, नेपालका लागि नेपाली अभियानकर्ता ज्ञानेन्द्र शाही, उपसचिब प्रेम सन्जेल पनि राज्य संचालकहरुलाई ठाडो चुनौती दिन सक्ने कमन म्यानहरु हुन्। कमन म्यान यस अर्थमा कि यो आलेख लेख्दै गर्दाको बेलासम्म उनीहरु बाह्य आन्तरिक कुनै पनि शक्तिबाट परिचालित देखिएका छैनन्। यो उनीहरुको जेन्युन मनबाट आएको जेन्युन विचारहरु हुन्। जेन्युन विचार अनुसारको जेन्युन व्यवहार पनि हो।
टुंग्याउंदा,
सुरुवातमा भनेजस्तै देशको मुख्य समस्या पटक पटकको परिवर्तन पश्चात पनि सर्वसाधारणको तहसम्म परिवर्तन नपुग्नु हो अर्थात परिवर्तन, नाम मात्रको परिवर्तनमा सीमित हुनु हो। यहां जनताले महशुस गर्ने गरी परिवर्तन नै भएन। परिवर्तनको रुप पक्ष र सार पक्ष मेल नखांदाको परिणाम हो वर्तमान स्थिति। वर्तमान स्थिति अर्थात अस्थिरता, अभाव, वेरोजगार, हत्या, हिंसा, बौद्धिक पलायन, भ्रष्टाचार, अब्यबस्था। जनताको अज्ञानता, चेतनाको कमी, दरिद्रता, अशिक्षा र गरिबीको फाइदा लिंदै जसरी राजनीतिक नेतृत्वले हालसम्म जुन तरिकाले राज्य संचालन गरे अब त्यही ढंगले देश अगाडि बढ्नै सक्दैन भन्ने अब बिस्तारै सबैलाई महशुस हुंदैछ। समृद्धिको सपना लगातार बाँडिरहेको वर्तमान सत्ताप्रति बिस्तारै औंला उठ्न थालिसकेका छन्। राजसंस्थाकालीन परिस्थितिबाट लोकतान्त्रिक गणतन्त्रात्मक युगमा प्रवेश भए पछिको संविधान र त्यस संविधान अनुरुपको निर्वाचन पछिको पहिलो सरकार नेकपा सरकार पनि जनमुखी बन्न नसक्दा यसको पनि ‘काउण्ट डाउन’ शुरु भैसकेको छ। जुम्लाका ज्ञानेन्द्र शाही, प्रेम सन्जेल, महावीर पुन, कुलमान घिसि·, द्वारिकालाल चौधरी लगायतका युवाहरुले सन्चालन गरेको अभियानले त्यतैतर्फ संकेत गर्दछ। अब पनि राज्य संचालकहरुले यी कमन म्यान ९अयmmयल mबल० हरुलाई ‘अन्डर इस्टिमेट’ गरिराख्ने हो भने अर्को परिवर्तन अबश्याम्भावी छ। यत्ति आशा गरौं अबको परिवर्तन नयाँ बोत्तलमा पुरानो पेय पदार्थ नहोस्। त्यो परिवर्तन सांचो अर्थमा परिवर्तन होस्। त्यो दुर दराजमा रोग, भोक र अभाव खेप्ने अति कमन म्यानले पनि छुन, देख्न र महशुस गर्न पाओस्।
