चन्द्रमामा मानव भविष्य: यात्रा र बसोबास
पल रिनकन / बीबीसी
एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो ‘अन्तरिक्ष ट्रक’मा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्।
उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर दिनभर पानी-हिउँ अवशेष भएको स्थानको अध्ययन गरेर थाकेका छन्।
यो सन् २०५० को चन्द्रमा हो।
एउटा वाहन एउटा विशाल खाल्डोको एक छेउमा गुडिरहेको छ र अन्तरिक्षयात्रीहरू सो वाहनमा जडिएको ऐना टल्केको हेरिरहेका छन्। त्यो ऐनाले सूर्यको किरणलाई खाण्डोतिर प्रतिविम्बित गरेर त्यहाँ भइरहेको पानी-हिउँको अवशेष खन्ने कामलाई ऊर्जा प्रदान गरिरहेको छ। त्यसको देब्रेतिर एउटा ट्रक अवतरण स्थल नजिकैबाट जान्छ। त्यो अवतरण स्थल चन्द्रमाको माटोलाई माइक्रोवेभ प्रविधिले सम्म बनाइएको हो र त्यहाँ चन्द्रमाबाट पृथ्वीतिर प्रक्षेपणका लागि तयार यान रहेको छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको मूल कार्यस्थलका गोलाकार प्रवेशस्थानमा वाहन रोकिन्छ। अन्तरिक्ष यात्रुहरू वायुरहित बाटो हुँदै आवासस्थलमा प्रवेश गर्छन् र आफ्नो धुलो भरिएको अन्तरिक्ष पोशाक खोल्छन्। भित्र साग र आलु उम्रिरहेको हरितगृह एलइडी प्रकाशमा चम्किरहेको छ। अन्तरिक्षयात्रुहरू एक तल्ता माथि उक्लन्छन् जहाँ उनीहरूलाई नेतृत्व गर्ने यात्रु उनीहरूबाट दिनभरको प्रगति विवरण सुन्न आतुर छन्।
उहिलेका लागि यो अवस्था कपोकल्पित लाग्छ। तर यो मानिसहरू चन्द्रमामा जिउँने र काम गर्ने एउटा तरिका संभावित तरिका हो।
यदि चन्द्रमामा लामो समय बस्न र काम गर्न मिल्ने स्थान निर्माण गर्ने हो भने हामीलाई जे चाहिएको छ त्यो चन्द्रमामा उपलब्ध स्रोतबाटै परिपूर्ति गर्नुपर्छ।

यूकेको मिल्टन किन्सस्थित ओपन युनिभर्सिटीको प्रयोगशालामा विद्यावारिधि विद्यार्थी हाना सार्जेन्ट चन्द्रमामा धेरै पाइने खनिज इल्मेनाइट प्रयोग गरेर त्यस्तो कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिरहेकी छन्।
एउटा सानो भट्टीभित्र इल्मेनाइटबाट अक्सिजन निकाल्न त्यसलाई तताइँदैछ। निकालिएको अक्सिजनलाई हाइड्रोजनसँग मिलाएर पानी बनाइन्छ।
“चन्द्रमामा रहेको चट्टानहरूबाट पानी निकाल्ने २० भन्दा बढी तरिका छन्। इल्मेनाइटमा हामी काम गरिरहेको कारण चाहीँ चन्द्रमामा त्यो धेरै मात्रामा पाइनु र यसबाट पानी निकाल्ने प्रक्रियाका लागि आवश्यक कम ऊर्जा हो,” उनी भन्छिन्।
र उनी सन् १९७२ यता पहिलो पटक चन्द्रमामा मानिस उत्रने संभावनाले उत्साहित छिन्।
“मलाई लाग्छ मेरो पुस्ताको मानिसहरूले यस्तो भएको देख्नेछन्। मेरो जीवनकालामा नै चन्द्रमाको आकाशमा एउटा स्थायी आवसीय यान हुने र त्यहाँबाट मानिसहरू चन्द्रमाको सतहमा आउजाउ गरिरहने कुरामा म पूर्ण विश्वस्त छु।”

सन् २०१७ मा अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमा र अन्य गन्तव्यमा पुर्याउने अन्तरिक्ष नीतिमा डोनल्ड ट्रम्पले हस्ताक्षर गरे। नासाले सन् २०२८ सम्ममा त्यस्तो गरिसक्ने लक्ष्य राखेको बताएको छ। तर हालै ट्रम्प प्रशासनले सो समयसीमालाई सन् २०२४ मा सार्न निर्देशन दिएको छ। यदि ट्रम्प पुर्ननिर्वाचित भएको खण्डमा सो समय उनकै कार्यकालमा पर्ने छ।
यसपटक नासा नयाँ तरिका अपनाउन चाहन्छ। बुध ग्रहलगायत अन्य अन्तरिक्ष अन्वेषण गर्ने योजनामा चन्द्रमा एउटा अंश मात्रै हो र नासा चन्द्रमामा त्यसका लागि एउटा केन्द्र स्थापना गर्न चाहन्छ।
“हामी चन्द्रमामा अवतरण गरेर पाइला र झण्डा छोडेर फेरी ५० वर्ष चुप लागेर बस्न चाहन्नौँ,” नासाका प्रशासक जिम ब्राइडेस्टाइनले भनेका छन्। “हामी यान, रोबोट, वाहन र मानवहरू त्यहाँ दिगोरूपमा बस्ने गरि जान चाहन्छौँ।”
तर के नासाले त्यसका लागि आवश्यक सामग्रीहरू नबनेको वा बनेपनि परीक्षण नभएको अवस्थाबाट त्यहाँसम्म पुग्न र सफलतापूर्वक फर्कन समयसीमाभित्र काम गर्न सक्छ?
“यो असहज हुनेछ,” जर्ज वाशिङ्टन विश्वविद्यालयमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिया मामिलाका प्राध्यापक जोन लग्स्डन भन्छन्। “तर यदि हामी एकस्तरको असहजता ग्रहण गर्न चाहदैनौँ भने यहि रहनु उत्तम हुन्छ। मूल कुरा असहजतालाई क्रियाकलापसँग सन्तुलनमा राख्नु हो।”
कारक तत्व: मानव
नासाका यसअधिका परियोजनाहरूलाई ग्रीक ईश्वर अपोलोको नाम दिइएको थियो। अबको परियोजना अपोलोको जुम्ल्याहा बहिनी आर्टेमिसको नाममा हुनेछ र अहिले नै नासाको को अन्तरिक्षयात्री चन्द्रमामा पाइला टेक्ने पहिलो महिला हुनेछ भनेर अनुमान शुरू भइसकेको छ।
नासासँग ३८ जना सक्रिय अन्तरिक्षयात्री छन् जसमा १२ जना महिला छन्। उनीहरूमध्येका केट रुबिन्स पृथ्वीको घातक रोगहरूबारे अध्ययन गरेकी सूक्ष्मजीव वैज्ञानिक हुन् भने जीनेट इप्स सीआइएमा प्राविधिक काम गरेकी हुन्। चिकित्सक सेरेना ओनोन चान्सेलर र इलेक्ट्रिक इन्जिनियर क्रिस्टिना कोच पनि छन्।
जिम ब्राइडेस्टाइनले हालै सीएनएनलाई भनेका छन्: “चन्द्रमामा टेक्ने यस्तो व्यक्ति हुनेछ जसको शीप प्रमाणित छ, जो उडिसकेको र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगिसकेको हुनेछ।”
तीनपटक अन्तरिक्ष यानको यात्रा गरेकी स्टेफनी विल्सनसँग सबैभन्दा बढी उडानको अनुभव छ। ट्रेसी काल्डवेल र सुनिता विलियम्स दुई-दुई पटक उडेका छन्।
“अहिलेको अवस्थामा हामी अन्तरिक्षयात्रीसँग पहिलेभन्दा धेरै काम गर्न सक्ने क्षमता र प्रदर्शन हेर्छौँ,” नासा अन्तरिक्षयात्री तथा यूकेको एक्सटर विश्वविद्यालय चिकित्सा विद्यालयका मानार्थ प्राध्यापक माइकल बारेट भन्छन्।
“आजका अन्तरिक्षयात्री बहुराष्ट्रिय यानमा उड्छन् र अन्तरिक्षमा हिँड्ने, रोबोटसञ्चालित हात चलाउन, धेरै प्रकारका प्रणालीसँग अभ्यस्त, अँग्रेजी र रुसी भाषा जान्ने र छ महिनासँग एक्कै सानो स्थानमा रहन सक्ने गुण भएको हुनुपर्छ।”
तर पृथ्वीबाहिर निस्केपछि अरू कुन चुनौती सामना गर्नुपर्छ?
अन्तरिक्षमा मानव शरीरमा आउने परिवर्तनका बारेमा धेरै थाहा भइसकेको छ। “मलाई के लाग्छ भने हामी साँच्चै नै अर्को ग्रहको जीवजस्तो हुन्छौँ,” चिकित्सक समेत रहेका बारेट भन्छन्। “तपाईँको शरीर परिवर्तन हुन्छ, त्यसले कसरी काम गर्छ त्यो परिवर्तन हुन्छ। यो वास्ततमा उल्लेखनीय परिवर्तन हो”
अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतहमा काम गर्दा चुनौतीको सामना गर्नुपर्छ। “पृथ्वीको भन्दा छ भागको एक भाग जति मात्रै गुरूत्वाकर्षण हुने भएपनि उनीहरूले गर्हौ पोशाक लगाउनुपर्छ एवम् अन्वेषणका लागि खन्ने, उक्लने र झिक्ने यन्त्रहरू बोक्नुपर्छ जसले खतरा बढाउँछ।” अन्तरिक्षयात्री लड्दा हड्डी भाँच्चिने वा पोशाकमा प्वाल पार्ने खतरा हुन्छ।
चन्द्रमाको धुलोको पनि समस्या छ। अपोलोका यात्रीहरूको पोशाकभित्र धुलो छिर्दा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको घटना भएको थियो। त्यसलाई नियन्त्रण गर्ने समाधान पत्ता लगाउनु आवश्यक छ।
विकिरण सबैभन्दा ठूलो चुनौती हो। पृथ्वीको सुरक्षात्मक चुम्बकीय घेराबाहिर अन्तरिक्षयात्रीहरू पृथ्वीको तल्लो आकाशमा भन्दा तीन गुणा बढी विकिरणसँग जुध्नुपर्छ। यसले उनीहरूमा क्यान्सर र मुटुरोगको खतरा बढ्छ।

नासाको नयाँ पुस्ताको यान ओराइअनमा विकिरण कम गर्ने सामग्री प्रयोग भएका छन्।
ओराइअन
अमेरिकाको चन्द्रमामा फर्कने योजनाको महत्वपूर्ण कोशेढुङ्गा ओराइअन यात्रु यान हो। यसको बनोट हालैका अन्तरिक्ष यानहरूको जस्तो नभइ अपोलोसँग मेल खाने खालको छ। धेरैका लागि यसले सबै कुरा सम्भव भएको अन्तरिक्ष अन्वेक्षणको स्वर्णयुगको प्रतिनिधित्व गर्छ।
तर १० टनको यो यानले प्रयोग गरिरहेको प्रविधि सन् १९६० तिर अकल्पनीय थियो र यसलाई निर्माण गर्दाको प्रक्रिया पनि सिर्जनशील छ। नासाका लागि ओराइअन बनाइरहेको लकहेड मार्टिनमा इन्जिनियरहरूले अगमेन्टेड रियालिटी चश्मा लगाउँछन्।
“शीशाबाट तपाईँ बाहिर हेर्नुहुन्छ तर त्यहाँ बाहिर देखिएका वस्तुहरूमाथि थुप्रै डिजिटल वस्तुहरू पनि देख्नुहुन्छ,” नयाँ प्रविधि प्रमुख शेली पिटरसन भन्छिन्।
वास्तविक संसारमाथि थपिएको निर्देशनहरू हेरेर प्राविधिकहरूले कहाँ प्वाल पार्ने वा कहाँ तार बाँध्ने भन्ने जस्ता कुराहरू सजिलै थाहा पाउन सक्छन्। यसको अर्थ हजारौँ पाना भएको म्यानुअल घरीघरी हेर्नुपर्ने बाध्यता पनि हुँदैन र उनीहरू छिटो र सहज तरिकाले काम गर्न सक्छन्।”
“हामीसँग ओरायनमा काम गरिरहेको एकजना हुनुहुन्छ जसको अवकाश लिने समय हुन लाग्यो तर उहाँ यसलाई पूर्णरूपमा हेर्ने चाहनामा अवकाशलाई ढिलो गर्ने इच्छा व्यक्त गरिरहनु भएको छ।”
अपोलोको तुलनामा “ओरायनको प्रति क्यूबिक फुट क्षमता निक्कै बढी छ,”लकहिड मार्टिनका इन्जिनियरिङका वरिष्ठ प्रबन्धक रब च्याम्बर्स भन्छन्। “त्यसैले त यो डिजाइन र निर्माण गर्नु कठिन छ।”
औरायन राष्ट्रपति जर्ज डब्लु बुशको चन्द्रमामा फर्कने सन् २००४ को योजनाको अंश थियो। बाराक ओबामाले सन् २०१० मा सो योजना रद्द गर्दा बाँचेको एकमात्र अंश पनि हो।
ओरायनको चार कम्प्युटरहरूले मानिसको सहयोगबिना नै यसले गर्ने लगभग सबै काम गराउन सक्छन्।

शेली पिटरसन
ती कम्प्युटरहरू बोइङको ७८७ जेटका लागि बनाइएका जस्तै हुन् तर तिनलाई अन्तरिक्ष यात्राका लागि थप बलियो बनाइएका छन्। “अन्तरिक्षका हुनसक्ने खतराका कारण नै चारवटा कम्प्युटर राखिएका हुन्,” च्याम्बर्स भन्छन्।
ती कम्प्युटर सारै नयाँ भने होइनन्। अन्तरिक्षयात्राका लागि नयाँ र सिर्जनात्मकभन्दा पनि परीक्षणका खरो उत्रिसकेका सामग्रीहरू प्रयोग गर्नुपर्छ।
ओराइअनको बाहिरी भाग पनि अन्तरिक्षका साना साना ढुङ्गाका ठक्कर सहन सक्ने खालको छ।
