मालपोत कार्यालय कावासोती प्रमुख विहिन, कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती नै सास्ती



रामकुमार श्रेष्ठ
नवलपरासी ।
कावासोतीको मालपोत कार्यालय अहिले अस्तव्यस्त बनेको छ । मालपोत कार्यालय कार्यालय प्रमुख विहिन बनेका छन् भने दरबन्दी अनुसारका ८० प्रतिशत कर्मचारी कार्यालयमा छैनन् ।
नवलपुर जिल्ला भरीको काम हेर्ने मालपोत कार्यालय अहिले मुस्किलले १० जना कर्मचारी र ५ जना कार्यालय सहयोगीको भरमा चलेको छ ।
एकातिर अनलाइन सेवा प्रभावकारी नहुनु र अर्कोतर्फ कर्मचारीको अभावका कारण सेवाग्राहीहरुले ८÷१० दिनसम्म एउटै कामका लागि धाउनु परेको छ।
टाढाबाट आएका सेवाग्राहीहरुले ८, १० दिनसम्म होटेलमा बसेर आफ्नो काम कुर्नु पर्दा निक्कै खर्च हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
बुंदीकालीबाट आएका सेवाग्राही जीवन राना मगरले आफू १० दिनदेखि मालपोत कार्यालय कावासोतीमा धाएको तर काम नभएको गुनासो गरे ।

नेपाल लेखापढी तथा कानुन व्यवसायी एशोसियसन कावासोतीका अध्यक्ष भक्तबहादुर थापाले कर्मचारी अभावका कारण कामकाज ठप्प नै भएको बताए ।
४० जना भन्दा बढीको दरबन्दी रहेको मालपोत कार्यालय कावासोतीमा अहिले दैनिक १० देखि १२ जना कर्मचारी कार्यालयमा हाजि र हुने गर्दछन् ।
स्रोतका अनुसार कार्यालयका प्रमुख मालपोत अधिकृत गुरुप्रसाद रेग्मीले राजिनामा दिएर गएका छन्।
मालपोत कार्यालय नेतृत्व विहिन हुँदा समेत सम्बन्धित विभाग, स्थानीय सरकार तथा सम्बन्धित निकायले चासो नदिँदा थप समस्या थपिएको स्थानीयको गुनासो छ। त्यसैगरी कार्यालयका मालपोत अधिकृत जितबहादुर भण्डारी सरुवा भई काठमाडौं गएका छन्, नायव सुब्बा गणेश ढकालले राजिनामा दिएका छन्।
त्यसैगरी नायव सुब्बा महेन्द्र मल्ल, नायव सुब्बा भीमप्रसाद बस्याल र कार्यालय सहयोगी चिरञ्जीवि अर्यालले राजिनामा दिएका छन् । ति सबैले स्वच्छिक राजिनामा दिएका हुन्।
केही कर्मचारी तालिमका लागि भन्दै काठमाडौं गएका छन्। एशोसियशनका अध्यक्ष थापाले दक्ष कर्मचारी अभावले अनलाइन सेवा प्रभावकारी नहुनु, भएका कर्मचारीले पनि राजिनामा दिंदा यस्तो समस्या भएको बताए।
मालपोत कार्यालय कावासोतीका निमित्त मालपोत अधिकृत नारायण गैरेसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
लेखापढी व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार दामोदर ढुंगानाले कर्मचारी अभाव हुँदा मालपोत कार्यालयमा काम ठप्प भएको बताए।



सम्बन्धित
Loading...