शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा
- पत्रपत्रिका / नागरिक दैनिकबाट –

बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ।
गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति–केन्द्रलाई समेत ‘कन्भिन्स’ गरेर ल्याउँथे। नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नसाथ आश्रममा पुग्थे।
गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे। त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैंसी पूजा गराए।
दाहालपछि आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई डाके। थुप्रैपटक मन्त्री भएका र अहिले बलात्कार आरोपमै पुर्पक्ष थुनामा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीको आश्रममा आशीर्वाद लिन आएका थिए।
गिरी २०६३ सालदेखि चतरामा बस्न थालेका हुन्। बालसन्त मोहनशरण देवाचार्यको सम्पर्कमा आएपछि गिरी त्यही आश्रममा बस्न थाले। साधु बनेका गिरीलाई बालसन्त देवाचार्यले धर्म, कर्मकाण्ड, वेद, उपनिषद् अध्ययन गरेर सार्वजनिक पुराणवाचन कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरे। बालसन्तले नै गिरीलाई डोहोर्याउँदै सिकाउँदै पहुँचवालासँग परिचय गराए।
ठूलाबडासँगको सम्पर्क र उठबस बढ्दै गएपछि गिरीले आफ्नो नामबाट एकपछि अर्को गतिविधि बढाउँदै लगे। ती गतिविधमा उनको मुख्य ध्येय नै शक्ति–केन्द्रमा रहेका शीर्ष व्यक्तिलाई डाक्ने हुन्थ्यो।
पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, लालाबु पण्डितलगायत नेता पनि बेलाबेलामा गिरीको आशीर्वाद लिने आउँथे।