प्रधानमन्त्री कार्यालयको सक्रियता : काम नगर्ने ९ ठेकेदार कम्पनीलाई स्पष्टीकरण
- पत्रपत्रिका / राजधानी दैनिकबाट
प्रधानमन्त्रीको कार्यालयले विकास निर्माणमा सक्रियता देखाउँदै ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले ठेकेदारमाथि स्पष्टीकरण सोधेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्रै काठमाडौंको सडकका खाल्टाखुल्टी दुई महिनाभित्र पुर्न र काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको सोही निर्देशनअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडांैका खाल्टाखुल्टी पुर्न र सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया थालेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी पूरा नगर्ने नौ ठेकेदार तथा कम्पनीलाई एक साताको म्याद राखेर लिखित स्पष्टीकरण दिन सार्वजनिक सूचना जारी गरेको हो ।
कार्यालयले यसअघि एक महिनाको समय दिएर ती फर्मलाई कालोसूचीमा राख्न सार्वजनिक निकायबाट लेखी आएको भन्दै स्पष्टीकरण सोधे पनि बेवास्ता गरेपछि पुनः स्पष्टीकरण सोधिएको हो ।कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ (क) को प्रयोजनार्थ लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । नियम १४१ मा कालोसूचीमा राख्नेसम्बन्धी व्यवस्था छ । द टिम्बर कर्पेरेसन अफ नेपाल लिमिटेड पर्सा शाखाले कालोसूचीमा राख्न आग्रह गरेअनुसार श्री निशा सप्लायर्स हेटौंडा उपमहानगर ४ मकवानपुरका अशोक न्यासुरलाई स्पष्टीकरण सोधिएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन चरिकोट दोलखाले कालोसूचीमा राख्न सिफारिस गरेसँगै इन्दिरा कन्स्ट्रक्सन मेलुङ गाउँपालिका ४ दोलखाका मोहन खड्कालाई कालोसूचीमा राख्न स्पष्टीकरण सोधिएको छ ।
स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौंडा उपमहानगर १० मकवानपुरका गणेशप्रसाद भेटवाललाई कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्ज पर्साले आग्रह गरेको थियो ।
