राष्ट्रियसभाका उम्मेदवार – कुन दलबाट को ?




काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले उमेदवारको नाम टुंगो लगाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभा चुनावका लागि १६ जना उमेदवारको नाम चयन गरेको हो ।




बैठकको निर्णय अनुसार प्रदेश १ मा पाँचथरबाट निरबहादुर विश्वकर्मा, सुनसरीबाट मिना पुलामी मगर र झापाबाट राजेन्द्र घिमिरे चयन हुनुभएको छ । यस्तै प्रदेश २ मा महोत्तरीबाट नागिना यादव र धनुषाबाट भोला पन्जियारको नाम टुँगो लागेको छ ।

यसैगरी प्रदेश ३ मा सिन्धुपाल्चोकबाट हरिशरण श्रेष्ठ, चितवनबाट छलीकुमारी शर्मा, प्रदेश ४ मा स्याङ्जाबाट सूर्यप्रसाद रेग्मी, म्याग्दीबाट विमला गौचन, प्रदेश ५ मा अर्घाखाँचीबाट बालकृष्ण पाण्डे, दाङबाट गिरिजा न्यौपाने र बाँकेबाट मेराज हलवाईलाई उमेदवार बनाउने निर्णय भएको छ ।

यस्तै प्रदेश ६ मा सुर्खेतबाट डिल्लिराम पाठक र सुर्खेतबाटै सावित्रा पौडेल, प्रदेश ७ मा बैतडीबाट प्रताव ठगुन्ना र कैलालीबाट तुलसी देवकोटालाई उमेदवार बनाउने कांग्रेसले जनाएको छ ।

यसै क्रममा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले पनि राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएका छन् । राजपाले मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राजपाले प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपासँग चुनावी तालमेल गरेको छ ।

यस्तै समाजवादी पार्टीले रामप्रीत पासवानलाई नै उम्मेदवार बनाउने भएको छ । पासवान अहिले पनि राष्ट्रियसभा सदस्य हुनुहुन्छ । राष्ट्रियसभा चुनावका लागि सत्तारुढ दल नेकपाले हिजो नै उम्मेदवारको टुंगो लगाएको थियो ।

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेछ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आउँदो फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जना चुनावबाट र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन् । राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुनेमा युवराज खतिवडा, सरिता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य हुन् ।

नेकपाले छानेका यी हुन् राष्ट्रियसभाका उम्मेदवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ। शुक्रबार विहान बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहितलाई पनि उम्मेदवार छानेको हो।

प्रदेश नम्बर-१ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन्। प्रदेश नम्बर-२ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान उम्मेदवार चयन भएका छन् भने प्रदेश नम्बर-३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन्।

गण्डकी प्रदेशमा अन्यबाट प्रवक्ता नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार छन्। यस्तै प्रदेश नम्बर-५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई उम्मेदवार भएका छन् भने  कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी उम्मेदवार चयन भएका छन्। सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ। निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो। राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

सत्तारुद्ध नेकपामा सबैले जित्दा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पराजित भएका थिए।



सम्बन्धित
Loading...