कालो पट्टी बाँधेर पत्रकारहरू विरोधमा
गत २२ पुसमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरूमाथि भएको दुर्व्यवहार तथा कुटपिट घटना सम्बन्धमा भएको ९ बुँदे सहमति कार्यान्वयनको माग गर्दै जनकपुरधामका पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको रोहवरमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही हुने गरी सर्वपक्षीय बैठकबाट नेपाल पत्रकार महासंघ धनुषा र जनकपुरधाम उपमहानगरपालिकाबीच गत २७ पुसमा ९ बुँदे सहमति भएको थियो ।
सहमति भएको एक साता बितिसक्दा पनि प्रजिअ कणेलले सहमति कार्यान्वयन गराउन नसकेको भन्दै दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघ धनुषाअन्तर्गत गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो ।
आन्दोलनको पहिलो चरणमा जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारले ७ देखि १८ माघसम्म हातमा कालो पट्टी बाँधेर कार्यालयसहित फिल्डमा कार्य गर्ने निर्णय भएको थियो ।