विश्व चर्चित व्यक्तिहरूले छाड्दैछन् फेसबुक
विश्व चर्चित अमेरिकी साहित्यकार स्टेफन किंगले आफ्नो फेसबुक अकाउन्ट बन्द गरेका छन् । फेसबुकमा राजनीतिक विज्ञापनका रूपमा गलत जानकारीहरूको बाढी आएको र त्यसले आफूलाई असहजता महसुस गराएको भन्दै उनले फेसबुकबाट अलग हुने निर्णय गरेको बताएका छन् ।फेसबुकले प्रयोगकर्ताहरूको गोपनीयताको सुरक्षा गरिरहेको भन्ने कुरामा पनि आफूलाई विश्वास नलाग्ने पनि उनले बताएका छन् ।
साहित्यकार किंग्ले ट्विटरमार्फत फेसबुक त्यागेको घोषणा गरेका हुन् । उनको ट्विटरमा ५६ लाख फलोअर्स रहेका छन् ।पछिल्लो समय विश्वका चर्चित व्यक्तिहरूले आफ्नो फेसबुक अकाउन्ट बन्द गर्ने क्रम बढिरहेको छ ।यसअघि हलिउड अभिनेता मार्क ह्यामिल, कमेडियन विल फेरेल, संगीतकार चेर तथा एप्पलका सह सस्थापक स्टिभ वोज्नियाक पनि फेसबुकबाट अलग भइसकेका छन् ।
पछिल्लो पटक फेसबुक छाडेको घोषणा गरेका साहित्यकार किंगको उक्त ट्विटलाई अढाइ लाखभन्दा धेरै व्यक्तिले लाइक गरिसकेका छन् ।
स्मरणरहोस् सन् २०१८ मा अभिनेता जिम क्यारीले फेसबुक छाड्दै फेसबुकमा रहेको आफ्नो शेयर पनि बिक्री गरेका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबाट फेसबुकले फाइदा उठाएको आरोप लगाउँदै उनले फेसबुक छाडेका थिए ।सोसल साइटमा जथाभावी राजनीतिक विज्ञापनहरू प्रकाशित गर्न छुट दिने कार्यले फेसबुक विवादमा पर्दै आएको छ । जबकि ट्विटरले राजनीतिक विज्ञापनमा रोक लगाइसकेको छ ।राजनीतिज्ञहरूमाथि सेन्सर लगाउने अधिकार निजी कम्पनीहरूसँग नभएको भन्दै फेसबुकले यो विषयलाई सम्बन्धित सरकारहरूले हेर्नुपर्ने भन्दै पन्छिने गरेको छ ।
सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक अभियानकै क्रममा अमेरिकामा राजनीतिक दल तथा उम्मेदवारहरूले विज्ञापनमा मात्रै ६ अर्ब डलर खर्च गर्ने अनुमान गरिएको छ । यसको २० प्रतिशत हिस्सा डिजिटल मिडियाको हुनेछ ।यद्यपि, फेसबुकले चाहिँ राजनीतिक विज्ञापन आफ्नो लागि कमाइको मुख्य स्रोत नभएको र यसले कुल आम्दानीको ०।५ प्रतिशतमात्र हिस्सा ओगट्ने जनाउँदै आएको छ ।
तर राजनीतिक विज्ञापनमा रोक लगाउने ट्विटरको घोषणासँगै फेसबुकमाथि पनि दबाव बढ्न थालेको छ । सन् २०१६ को राष्ट्रपति चुनावका उम्मेदवार हिलारी क्लिन्टनलगायतका नेताहरूले राजनीतिक विज्ञापनमा रोक लगाउने ट्वीटरको निर्णयको स्वागत गर्दै फेसबुकलाई पनि सोही बाटो पछ्याउन आग्रह गरेका छन् ।
बेलायतमा हालैको आमनिर्वाचनका क्रममा सोसल मिडियामा गलत समाचार तथा सूचनाहरूको बाढी आएको ठहर त्यहाँको ‘राजनीतिक विज्ञापन पुनर्संरचना गठबन्धन’ले गरेको छ ।