भ्यालेन्टाईन डे संस्कृति कि बिकृति
✍️ अमृता घिमिरे –

भ्यालेन्टाइन डे पश्चिमी देशहरूको संस्कृति अन्तर्गत पर्ने गर्छ । जहाँ १४ फेब्रुअरीका दिन प्रेमीहरूले आफ्ना प्रेमी प्रेमिकालाई फूल, कार्ड, केक, मिठाइ आदि पठाएर प्रेम व्यक्त गर्छन्।
युरोपेली किंवदन्तीहरुका अनुसार सेन्ट भ्यालेन्टाइन पादरी थिए जसले रोमी सम्राट क्लौडियस दोस्रोको कानूनलाई पालन गर्न इन्कार गरेका थिए । सम्राट्ले आफ्ना देशका जवान केटाहरूलाई विवाह नगर्न आदेश दिए । रोमन सम्राटले आफ्नो सेनामा सैनिक संख्या बढाउन विवाहलाई रोक लगाएको ईतिहासकारहरुको भनाइ छ । सम्राटको बुझाईमा विवाहित पुरुष सिपाही हुन सक्दैनन् किनकि उनीहरु आफ्नी पत्नी र परिवारलाई छाडेर टाढा लडाईमा जान चाहानन् भन्ने थियो । तर पास्टर भ्यालेन्टाइनले भने चुपचाप आफ्नो चर्चमा त्यस्ता सैनिकहरूको विवाह गरिदिन्थे । यो कुरा जब सम्राट क्लउडियसलाई थाहा भयो अनि उनले भ्यालेन्टाइनलाई सजाय स्वरूप मृत्युदण्ड दिए।
दन्त्यकथाका अनुसार जेलरको छोरीको भ्यालेन्टाइनसँग प्रेम सम्बन्ध थियो । सेन्ट भ्यालेन्टाइनले बिहे गरेकै कारण उनलाई १४ फेब्रुअरीमा फाँसी दिईएको थियो । र भ्यालेन्टाइन डे यिनको सम्झनामा मनाउन थालिएको हो ।
बितेका केही वर्षदेखि पश्चिम मुलुक हुँदै नेपालमा पनि प्रेम दिवस मान्न थलिएको छ । जुन केक, चकलेट र गुलाब,गर्दै बिहे सम्म पुग्ने गर्छ भने कहिले काहिँ बिकृतिको रुप लिदै ब्रेकअप, छोडपत्र, कागजात र वकील सम्म पुगेको थुप्रै उदाहरण हाल नेपाली समाजमा देखा परेको छ ।
हुन त भ्यालेन्टाइन डेको हाम्रो सभ्यता, संस्कृतिसँग कुनै सरोकार छैन। माया गर्नलाई कुनै समय तिथि मिति आवश्यक पर्दैन । माया गर्नलाई बिशेष दिन कुर्न थालियो भने यो दिन प्रेमको व्यावसायीकरण मात्र हो भन्न सकिन्छ । मायाको नाटक गर्ने शिकारी मानसिकता बोकेका कतिपय नक्कली प्रेमिहरु सालभर मायाको जाल बिछाएर यस दिनको पर्खाई मा बस्छन् र आधुनिकताको नाममा कति प्रेमिका खुसी खुसी मायाको जालमा सजिलै फस्ने गर्दछन् भने प्रेमि पनि नक्कली प्रेमिकाको मायाको जालमा फसेर आफ्नो जायजेथा समेत सकेका समाजमा देख्न सकिन्छ ।
माया भनेको प्रतिबद्धताको ईमान्दार समर्पण हो । तर कतिपय अबस्थामा माया मोबाइल फोन, एसएमएस र इन्टरनेटमा मात्रै सिमित भएको छ । यो भ्यालेन्टाइन डे मा माया पाउन मरिहत्ते गर्नेहरु अर्को भ्यालेन्टाईन डे आउनु भन्दा पहिले परिवर्तन भै सकेका हुन्छन् ।
वास्तवमा, अरुको संस्कृति अपनाउनु वा उत्सव मनाउनु कुनै गलत त होइन तर पनि हामीले यति बुझुनु जरुरि छ कि यी सब मनाउनुको औचित्य के हो ? भ्यालेन्टाईन डे को दिन तपाईं आफ्नो आमा बुबालाई, जो कोहीलाई आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुन्छ।
हाम्रो जस्तो सांस्कृतिक धनी देशप्रति प्रेम देखाउन विदेशबाट यस्ता दिनहरु आयात गर्न आवश्यक छैन ।हाम्रोजस्तो बहुसंस्कृति , बहुधार्मिक मुलुकमा थुप्रै चाडपर्वहरु छ्न् जसले हामीहरु मानव प्रेमसङ्ग मात्र नभई प्रकृतिसङ्ग पनि विभिन्न चाडपर्व मार्फत प्रेम व्यक्त गर्दछौ ।
जस्तै गुरु पूर्णिमा (गुरु शिष्य), रक्षाबंधन, तिहार (भाई / बहिनी),दसैं (आमा बुबा तथा मान्यजन) गौरी गणेश व्रत (आमा र सन्तान), मकर संक्रांति (पिता पुत्र प्रेम), पितृ पक्ष (पुर्खाहरू), वसन्त पंचमी ( प्रेमी जोडी)
तुलसी विवाह (प्रकृति), हाम्रो देश मा यस्तो धेरै चाडपर्वहरु प्रेम व्यक्त गर्ने सक्तिशाली माध्यम हुन् । यहाँ भ्यालेन्टाईन डे उत्सवको रूपमा मनाईदा यस्ता किसिमका उत्सव एक दिन मनाउनुको औचित्य के त भन्ने कुरा हो ।
आफ्नो प्यारो मरेका आफन्तलाई सम्झनको लागि आजको दिनलाई इटलिमा प्रेम दिवस अर्थात valentine day को रुपमा मनाउने गर्दछ्न भने अन्य मुलुकहरुमा चाई दिवस नभयर उत्सबको रुपमा मनाएको पाईन्छ
प्रेमी प्रेमिका, श्रीमान/ श्रीमतीको प्रेम दिलको हुनु पर्द्छ छालाको होइन ।
हुन त हामी सबै छाला मन पराउने मान्छे हो । हामी सबै बाहिरी सुन्दरता मन पराउने मध्य एकमा पर्दछौ । हामी नाक हेर्छौ, आँखा हेर्छौ, दात हेर्छौ, ओठ हेर्छौ, उसको स्टाईल हेर्छौ, हिडाई शरीर ढाचा हेर्छौ उसको कम्मर हेर्छौ अनि सजिलै उसको दिवाना बन्छौ त्यसैले हाम्रो मायाको अर्थ छाला सम्म सिमित छ । यो भन्दा धेरै थियो भने भ्यालेन्टाईन डे को केही आवश्यकता छैन ।
मेरा बुवाले मेरो आमालाई कहिले गुलाब दिनु भएन, कहिले उपहार दिनु भएन, नत मेरि आमाले पनि कहिले गुनासो नै गर्नु भयो ।मेरो बुबाले आफू बाचुन्जेल मेरि आमालाई आफू बाट कहिले टाढा राख्नु भयन न त मेरो आमाले कहिले केही कुराको मागनै गर्नु भयो, नत मेरि आमाले बुवालाई कहिले छाडेर कतै जानू भयो । छालाकै कुरा गर्ने हो भने मेरो बुवा मेरि आमा भन्दा केही कालो हुनुन्थ्यो तर कहिले मेरि आमाले बुबालाई दिने मायामा कमि गर्नु भएन । मेरो बुबा मेरि आमा भन्दा आग्लो हुनुहुन्थ्यो तर बुवाको आमा प्रतिको माया कहिले होचिएन। तपाईं हामी कतिको बुबा अग्लो आमा होचो हुनुन्हुन्छ वा आमा अग्लो बुवा होचो हुनुन्छ के उहाँहरुको मायामा कहिले कमि भयो होला पक्कै पनि छैन । तर आज हामी देख्छौ उसको आँखा बराबर भयन, नाक मिलेन, कम्मर मिलेन, पढाई मिलेन, जागीर खानलाई फिल्ड मिलेन त्यसैले उ मलाई मन परेन / उनी मलाई मन परिनन् । आजभोलिको माया फेसबुक र ईन्टरनेटमा सिमित हुन पुगेको छ । घरका सदस्य बिच माया सद्भाव हराउँदै गएको छ । आफन्तको सन्चो बिसन्चो फेसबुकको स्टाटस बाट थाहा हुन्छ । श्रीमान श्रीमती बिचको माया फेसबुकको फोटोमा मात्रै सिमित हुन थालेको छ । घरका ढोकामा ताला लगाउन अल्छी गर्नेहरु मोबाइलमा ताला लगाउन कहिलै बिर्सेका हुदैनन् । फोनमा पराई सङ्ग घन्टौ सम्म बोलेर न थाक्नेहरु आखै अगाडि बसेका आफन्त सङ्ग बोल्ने फुर्सद पाउदैनन् । अहिलेको माया धेरै बिकाउ भएकोछ तर टिकाउ चाहिँ छैन । घर परिवार, समाजले खोजे जस्तो माया एक दिनको भ्यालेन्टाईन डे ले कसरी पूरा गर्न सक्छ ? बर्षै देखीको मन भित्रको असन्तुष्टि एउटा गुलाफ र चललेटले पूरा गर्न सक्ला ?
अहिले युवायुवतीबीच भ्यालेन्टाइनको नाममा प्रेम प्रस्ताव राख्ने र आफ्नो यौनवासना पूरा गर्ने अनि अर्को वर्षको भ्यालेन्टाइनमा अर्कै युवा युवतीसंग प्रेम प्रस्ताव राख्ने प्रचलन पनि विकृतिको रूपमा बढेर गएको छ।
नेपालमा हेर्ने हो भने १३/ १४ वर्ष देखि १९/२० वर्षका किशोर किशोरीलाई सबैभन्दा धेरै भ्यालेन्टाईन डे लागेको पाईन्छ । जसको परिणामस्वरूप उमेर नपुग्दै विवाह हुने गर्दछ र यसले बाल विवाहलाई बढाएको हो कि भन्ने भान हुन्छ ।
प्रेम एक आध्यात्मिक भावना हो, यो सुनको रेशमको बन्धन हो जुन हृदयलाई मुटुसँग जोड्दछ, दिमागलाई हृदय र आत्मा सङ्ग जोड्ने गर्दछ ।
हामीले हाम्रा चाडपर्वलाई बिस्तारै भुल्दै गयौं र भ्यालेन्टाइन डेलाई मात्र अपनायौ भने , हामी हाम्रो आफ्नै संस्कृतिको विनाशकर्ता बन्नेछौ ।
छालाको पछाडि दौडेर छोटो प्रेम गर्नेहरु हो आउ अब पबित्रता, न्याय, भाईचारा, निति, आत्मियता, लगाव, बिश्वास मिसिएको माया गरौ अनि आफै सङ्ग गौरव गर्न सकौ।