नमस्कारको चलन र नेपाली सँस्कारको महत्व

- खुमकान्त कंडेल –
मानिसको जन्म जित्नका लागी भएको हो, हार्नका लागी भएको होइन रहेछ । त्यसैले मानिस कहिल्यै हार्न चाहेन । आफ्नो जिवनमा हिडीरहेको बाटोमा कहिल्यै पछाड़ी फर्कन चाहेन ।जब गन्तब्यमा पुग्न आफु हिडेको भन्दा कम जोखिमको बाटो फेलापर्छ अनि त्यतै फर्किनुको अर्थ, त्यहि स्थानमा आईपुग्नु, र त्यहीं रहनुको प्रमाण पनि हो ।रोकिनु आफैमा जड़ प्रवृति हो, तापनि सजिलो बाटो अपनाउनपर्ने मानविय प्रवृति हो ।
प्रसंग नमस्कार गरिने चलनको हो । नमस्कार मन, आवाज़ र मुद्राले गरिने क्रिया हो ।आवाज बाट निस्कने नमस्कार शब्द संस्कृतभाषाको शब्द हो ।नमस्-कृ-घयँ मिलेर नमस्कार शब्द बन्छ ।नम: को अर्थ म नमन् गर्छु वा म तपाईको अगाडी झुकें, अथवा मेरो अहंकार झुक्यो ।(बृहत् संस्कृत-नेपाली शब्दकोश पं. फडिन्द्र प्रसाद पाण्डेय, पृ.७१३) भन्ने बुझिन्छ । म मा भएको उज्यालोपन, तिमीमा भएको उज्यालो सँग मिल्छ, त्यसैले तिमी र म मा कुनै भेदछैन भन्ने गहिरो कामना नै हामीले गर्ने नमस्कारको भाव हो भन्नुहुन्छ संस्कृविद् विद्यानाथ भट्ट( उपाध्याय )।
शरिरको विच भागमा रहेको छातीको अगाडीपट्टी दुवै हातका हत्केला जोडेर गरिने नमस्कार, आफुमा निहित ईश्वरीयतत्व समेतको आदरभावले एक अर्कामा ब्यक्त गरिने पुर्वियदर्शनको प्राचीन सॉंकेतिक चलन हो ।हाम्रा पॉंच औंला लाई पँचतत्व ( पृथ्वी, जल, तेज़, वायु र आकाश )को रुपमा अर्थ्याईएको छ ।यी औंला एकसाथ हुँदा तिनै पॉंच उर्जाको प्राप्ति हुन्छ ( कान्तिपुर २०७६/१२/०२ को लेख ) मानव निर्मित भौतिक चिजबाट नभई त्यहि उर्जाको सहयोगबाट मानिस बॉंच्ने हुनाले हाम्रा पुर्वज ऋषीमुनिहरुले नमस्कार लाई उत्कृष्ट ठम्याएर संस्कृतिको रुपमा चलनमा ल्याईएको हुनसक्छ । यसरी नेपालमै जन्मेर हुर्किएको भएतापनि हाल विचलित अवस्थामा रहेको यो चलन हाम्रो संस्कार र संस्कृतिको धरोहर पनि हो ।भित्री हृदयदेखी स्वीकारगरी, कसैप्रति भेदभाव नराखी,सबैलाई एकैठाउँ बाट समान रुपमा एकमुष्ठ सम्बोधन हुनेगरी गरिने नमस्कार अत्यन्त वैज्ञानिक र उच्चकोटीको नेपाली संस्कार हो ।
संसारका महाशक्ति जोसँग धन र शक्ति छ,उनिहरुले अपनाएका चलन मानवहित अनुकुल नभए पनि मान्यहुने, उनिहरुले उत्पादन गरेका चिज पौष्टिक नभए पनि खानुपर्ने नखाए पाखे ठानिने । तर हाम्रो आफ्नै सभ्यताले विकसित गरेका शब्द, ध्वनि र चलनहरु प्राकृतिक हुँदाहुँदैपनि यी विभेदकारी छन्, यीनलाई विस्थापित गर्नुपर्छ भन्ने मान्यताबाट हामी शिकार हुँदै आएका छौं ।नमस्कार लाई छोड़ र हात मिलाउ, मान्यजन् लाई साष्टांग दण्डवत गर्नछोडी गला मिलाउ । गुरु र गुरुआमा नभनि, सर र मिस भन ।दिदीबहिनी दाजुभाई भन्नु असभ्य हो, अब ब्रो र सिस् भनेर सभ्य बनौं । दालभात नभनी ब्रेकफ़ास्ट,लॉन्च र डिनरलाई भान्छाको संस्कृति बनाउँ, भन्दै हाम्रो सभ्यता विकासको मानक हामीले केही दशकदेखी यसरी नै मान्दै आयौं ।
नेपालमा २०४६सालको राजनैतिक परिवर्तन सँगै नमस्कार गर्ने चलन पातलिदै र हात मिलाउने चलन बाक्लिंदै गएको मान्न सकिन्छ ।यो भन्दा अगाडी राजनैतिक नेतृत्वतह,उच्चपदस्तहरु र विदेशको घुमाई गरीरहने उच्चघराना वा शहरियाहरुमा मात्र पाईन्थ्यो ।आजभोली समाजको विकासमा लागेका राजनैतिककर्मी, एनजिओ कर्मी समेत समग्र नयॉंपुस्तामा भेट हुँदा नमस्कार गरेको देख्न कठिन छ ।कोही चिनेको मानिस देख्नेबित्तिकै पहिला हात नै अगाडी बढाउने नराम्रो लत बसेको छ ।शहर बजार भन्दा परको गाउँघर तिरका पाका मानिसहरुमा हातमिलाउने चलन विरलै मात्र पाईन्छ । आधुनिक भनाउने हरुमा आजभोली नमस्कारको ठाऊँ अँगालो हाल्ने र हात मिलाउने चलनले लिएको छ । नमस्कार गुरु, नमस्कार गुरुआमा भन्ने जस्ता शब्द सुन्न चाहदैनन् आजभोलीका शिक्षकहरु । उनिहरुलाई गुडमर्निग मिस र सर भन्नुपर्ने भएको छ ।यस्तोखाले पश्चिमा संस्कृतिलाई आज कोरोनाको महामारीले धन्न झस्काई दिएको छ ।
गुरु, ब्राह्मण र मान्यजन् लाई गरिने नमस्कार तथा बुवा आमालाई गरिने दण्डवत शरिर,मन र बचन समेत तिन प्रकारले गरिन्छ ।योगविज्ञानमा मानिसका हत्केलामा रहेका नशाहरु दिमाग केन्द्रित हुन्छन् भन्ने उल्लेख गरेको पाईन्छ ।नमस्कारको प्रयोगवारे बेदमा पनि ओम् शंकराय नम: ओम् शम्भाय नम: भनि देवता हरुले पुकार गरिएको बताईएकोछ । कालिकापुरॉंणमा पनि सबैलाई नमस्कार गरी सम्झेर मात्र योगस्थ बनि पुस्तक पढ्नु भनि सम्झाईएको छ ।यसरी शरिरहरु विचको सम्बन्ध भन्दा भावनात्मक रुपले एकाकार हुनखोज्ने परिपाटी बाटै हाम्रा संस्कारहरु बन्दै आएकाहुन् ।आभामण्डलमा व्याप्त भावनात्मक अदृश्य शक्तिलाई आफ्नो भावनात्मक तरंग सँग एकीकृत बनाई त्यसको प्रकाश अरुमा पठाएर आत्मसम्मान सहित गरिने नमस्कार अभिवादनको पुर्विय प्राचीन शैली हो ।
कामना त जसरी पनि गर्नसकिन्थ्यो ।तर नमस्कार आफैमा नियन्त्रित यस्तो कामना हो, जसले कर्तालाई पहिला विचारशुन्य बनाऊँछ । विषय नभएपछी त्यसले ल्याउने नकारात्मकता पनि शुन्यहुन्छ ।आफुमा सकारात्मक भाव उत्पन्न गराएर शरिरको सम्पुर्णशक्ति एकैठाऊँमा केन्द्रित बनाई दिमाग र दिल जोडेर अगाडीको मानिसको सम्मानको लागी गरिने पुकारले उसलाई पनि सकारात्मक भावसित गलाईदिन्छ ।अथवा आफ्नो सकारात्मक भाईब्रेसनले अगाडीको मानिसमा पनि ठिक त्यस्तै प्रभाव पार्छ ।जसका कारण सुमधुर सम्बन्धको विकास हुँदैजान्छ ।
अष्टॉंग योगविधीका अनुसार यदि हामी साधना गरीरहेका हुन्छौं भने दुवैहात मिलाएर जोड्दा त्यहॉं एक प्रकारको उर्जा निस्कन्छ । आफुले सम्मानगर्ने व्यक्ति अगाडीहुँदा दुवै हत्केला सँगै जोडेर कुम र शिरलाई त्रिकोण अवस्थामा राखी शरिरमा सबै शक्ति केन्द्रित भएकोबेला त्यस्तो उर्जा प्राप्तहुन्छ ।नमस्कार गरीरहँदा दुवैहातका औंलाहरु एकआपसमा हावापनि नछिर्नेगरी जोडीन्छ ।यसरी जोडिएका हात छातीको बिच भागमा मुटुको धड्कन महसुस गर्नेगरी राखिन्छ ।जसको अवस्था टाउकोसंग पनि त्रिकोणकै अवस्थामा हुन्छ ।नमस्कार गरिरहँदाको बेला अगाडीको मानिस सामु झुक्दा औंलाले दुवै ऑखीभौंको अगाडी छुन्छ ।अनी नमस्कार गर्नेका ऑंखा छोटो समयका लागी भएपनि बन्दहुन्छन् ।यसरी ऑंखा बन्दहुँदा मानिसको सम्पुर्ण उर्जा ऑंफैभित्र केन्द्रित हुन्छ र एकै छिनको लागी भएपनि बाहिरी संसारसंगको सम्बन्ध टुट्नजान्छ र आफु भित्रका स्वार्थी आकॉंक्षाहरु पनि हराएर जान्छन् ।मनमा विचार बन्दभएको र सबैशक्ति केन्द्रित भएको अवस्थामा गरिएको पुकारमा उत्पन्न सात्विक उर्जा आफु अगाडीको मानिसमा सजिलै प्रवेशगर्न सक्छ भन्ने मान्यता रहेकोछ ।
नमस्कार गरेर कसैका अगाडी झुक्नु आफैमा आत्मसम्मान हो, तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधिनस्थ हुँ भन्ने भाव व्यक्त भईरहँदा आफ्नो सम्मान बढ्दै जानेहुन्छ ।यस्ता प्रकारका कामनाले मानिसमा स्वत: आन्तरिक उर्जा थपिनेहुँदा सकारात्मक स्वभावमा बृद्धि हुनजान्छ ।गला मिलाउन चिनेको मानिस हुनुपर्ला, हात मिलाउन सफ़ा मान्छे खोज्नुपर्ला तर नमस्कार सबै मानिसलाई एकै अवस्थामा गर्न सकिन्छ ।नमस्कार अभिवादन मात्र नभएर वसुधैव कुटुम्बकंको परिपुरक रुप भएको हुनाले पृथ्वीमा वासगर्नेजति सबै मेरा मित्रहुन् भन्ने भाव जागृत हुन्छ ।एकचित्त भएर गरिएको नमस्कार बाट नदेखिने तर प्रत्यक्ष प्रभाव पार्नेगरी दुईव्यक्तिको बिचमा सुक्ष्म स्पन्दन प्रवाह भईरहेको हुन्छ ।त्यहि सात्विक स्पन्दनले मानिसमा नकारात्मक भाव कमहुँदै जान्छ र सभ्यक भाव बढ्दैजान्छ ।लामो अभ्यास र अनुसन्धान पछि निर्मित संस्कृतिबाट आएको नमस्कारलाई हामीले बाह्यप्रभावमा परेर त्याग्यौं ।यसरी त्यागिएको हाम्रो अभिवादनको वैज्ञानिक सम्पदालाई पुन: स्थापित गर्ने अवसर कोरोना भाईरसको आतंकले जुराईदिएको छ । अब फेरी छोडिएको नमस्कार लाई पुन: अनुशरण गरौं ।